संसारमै पहिलो पटक जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण


९ चैत्र २०८०, शुक्रबार
miragaula

काठमाडौं । अमेरिकामा शल्य चिकित्सकहरुले सुँगुरको मृगौला जीवित मानिसमा प्रत्यारोपण गरेका छन् । अमेरिकाको म्यासाचूसेट जेनेरल अस्पतालका चिकित्सकले आनुवंशिक रूपमा सुधार गरिएको सुँगुरको मिर्गौला ६२ वर्षका बिरामीमा प्रत्यारोपण गरेका बीबीसीले जनाएको छ ।

जीवित मानिसमा सुँगुरको मृगौला प्रत्यारोपण गरेको संसारमै यो पहिलो पटक हो । यसअघि गएको भदौमा अमेरिकाकै न्यूयोर्क यूनीभर्सिटीका अनुसन्धानकर्ताले ब्रेन डेथ अर्थात दिमागको मृत्यु भएर शारीरिक प्रतिक्रिया मात्रै बाँकी रहेको अवस्थाका एक व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरेर अध्ययन गरेका थिए ।

यो पटक सुँगुरको मृगौला प्रत्यारोपण गरिएका बिरामीमा नयाँ मृगौलाले पिसाब उत्पादन गर्न थालेको र बिरामी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने अस्पतालका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यदि आनुवंशिक रूपमा सुधार गरिएका जनावरबाट निकालिएको मिर्गौला ठूलो मात्रामा प्रत्यारोपण गर्न सकिएमा डायलासिसको चलन नै सकिन सक्ने अस्पतालको दावी छ ।

डायलासिसले मानिसलाई जीवित राख्ने भए पनि सबैभन्दा उत्तम उपाय अङ्ग प्रत्यारोपण नै हो । तर अङ्गको अभावका कारण बर्सेनि हजारौं बिरामीले मिर्गौलाको पर्खाइमा ज्यान गुमाउने गरेका छन् । जनावरका अङ्ग मानिसमा प्रत्यारोपणबारेमा दशकौंदेखि प्रयास भए पनि सफल भएको छैन । पछिल्ला वर्षमा जिन सम्पादन र क्लोनिङलगायतका वैज्ञानिक प्रगतिले यसलाई वास्तविकताको नजिक पुर्‍याएको छ । जिन सम्पादन गर्दा अंगको सम्भावित अस्वीकृतिमा संलग्न जिन हटाउने र अनुकूलता बढाउन मानव जिन राख्ने गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७