एसइई परीक्षा केन्द्र खर्चको नाममा सिरहामा प्रधानाध्यापकद्वारा अवैध असुली


१० चैत्र २०८०, शनिबार
school siraha

–मुकेशकुमार यादव
सिरहा । सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि गरेको पाइएको छ । अर्नामा गाउँपालिका–२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रतिविद्यार्थी एक हजारदेखि पाँच हजारसम्म परीक्षा केन्द्र खर्च असुल गरेको पाइएको हो ।

परीक्षाको प्रवेशपत्र लिन पुगेका विद्यार्थीहरुसँग प्रधानाध्यापक यादवले परीक्षा खर्च बापत एक हजारदेखि पाँच हजारसम्म लिएर प्रवेश पत्र दिइएको विद्यार्थीहरुले बताए । प्रवेशपत्र लिन गएका विद्यार्थीले हामीले तिर्नुपर्ने सवै रकम तिरिसकेका छौं । अब के को पैसा चाहिएको हो ? भनि प्रधानाध्यापकलाई सोध्दा प्रधानाध्यापकले परीक्षा खर्च चाहिन्छ भन्दै हजार रुपैयाँको दरले असुलेको उनीहरुले बताए ।

प्रधानाध्यापक यादवले परीक्षा खर्चको नाममा रकम लिनै नमिल्ने जिकिर गरे पनि आफैले विद्यार्थीले तिर्नुपर्ने रकम बाँकी रहेकाहरुसँग लिएको हुन सक्ने बताए । बिद्यार्थीहरुबाट रकम आफ्नो नामको खातामा किन हाल्न लाउनु भयो ? भनि प्रश्न गर्दा प्रधानाध्यापक यादव अलमलिंदै यस विषयमा भेटेरै कुरा गरौंला भन्दै फोन काटे ।

यस विद्यालयबाट यो पटकको एसईई परीक्षामा ७६ जना विद्यार्थी सहभागी रहेको प्रधानाध्यापक यादवले जानकारी दिए । यो विद्यालयको परीक्षा केन्द्र विष्णुपुर गाउँ पालिकाको गौरीपुर माध्यमिक विद्यालयमा परेको छ । संस्थागत विद्यालयहरुले विद्यार्थीबाट सेन्टर खर्चको नाममा रकम लिने गरेको चर्चा पहिलादेखि नै चल्दै आएको हो । यस पटक सामुदायिक विद्यलयले पनि परीक्षा केन्द्र खर्चको नाममा विद्यार्थीसँग अनाधिकृत रकम असुल गरेको खुलेको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७