रेशम जापान रहेका बेला रञ्जिताले राखिन् केन्द्रीय समिति बैठक, सरकारबारे छलफल गरिंदै


१४ चैत्र २०८०, बुधबार
Resham ranjita

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) कैलालीको टीकापुरमा बस्दैछ । बैठकले सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिने जनाइएको छ । वैठकका लागि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी टीकापुर पुगिसकेकी छिन् । उनले बैठकका एजेण्डा बारेमा छलफल भइरहेको बताएकी छन् । उनका अनुसार अहिले नै एजेण्डा तयार भइसकेको छैन ।

अध्यक्ष श्रेष्ठ चौधरी सरकारलाई समर्थन गर्ने सम्बन्धमा केन्द्र र प्रदेशको एउटै धारणा हुनुपर्नेमा अडिग रहेको स्रोत बताउँछ । सो पार्टीले केन्द्रमा वर्तमान सरकारलाई समर्थन दिएको छ भने सुदूरपश्चिममा भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन यथावत राखेको छ । पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशमा पाँच जना मन्त्री समेत बनिसकेका छन् । तीमध्ये एक जना राज्यमन्त्री छन् ।

सुदूरपश्चिम प्रदेशमा पार्टीका तर्फबाट सात जना सदस्य छन् । उनीहरुमध्ये पाँच जना काँग्रेस नेतृत्वको पक्षमा छन् भने दुई जनाले फरक मत राखेका छन् । कांग्रेस नेतृत्वको पक्षमा हुनेलाई पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीको साथ छ भने दुई जनालाई अध्यक्ष श्रेष्ठ चौधरीले साथ दिएकी छन् । संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठ चौधरी दम्पती हुन् ।

पछिल्लो पटक टीकापुरमा सम्पन्न पार्टीको महाअधिवेशनपछि दुवै जनाबीच चरम असमझदारी देखिएको छ । महाअधिवेशनले चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो । आम माफी पाएको भन्दै निर्वाचन आयोगले चौधरीलाई अध्यक्ष पदमा अयोग्य ठहर गर्दै श्रेष्ठ चौधरीलाई नै अध्यक्ष कायम गरिदिएको थियो । उनी पार्टीको संस्थापक अध्यक्ष हुन् ।

महाअधिवेशनपछि दुई जनाबीचको दूरी झन फराकिलो बनेको छ । संरक्षक रहेका चौधरी अहिले जापान भ्रमणमा छन् । उनी आज हुने बैठकलाई विफल बनाउन चाहन्छन् । उनको निर्देशनमा केही व्यक्तिहरू बैठक विफल बनाउन सक्रिय रहेको स्रोत बताउँछ । २१ सदस्यीय पार्टी पदाधिकारीमा अध्यक्ष श्रेष्ठ चौधरीको बहुमत छ ।

अधिकांशले केन्द्रमा एउटालाई र प्रदेशमा अर्कोलाई समर्थन गर्नु राजनीतिक रुपमा दोहोरो चरित्र हुने भन्दै त्यसो नगर्न दबाब दिईरहेका छन् । उनीहरुले दोहोरो चरित्रले पार्टी लुम्बिनी र मधेस प्रदेशमा समेत प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने सुझाव दिइरहेको स्रोतले बताएको छ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ । नाउपाका सातसहित प्रदेशमा कांग्रेसका १८, एमालेका १०, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७