श्रममन्त्री डिपी अर्याल पनि सहकारी ठगीमा जोडिएको कांग्रेसको आरोप

‘सहकारी ठगी आरोपले गृहमन्त्री लामिछानेलाई जिन्दगीभर लखेट्ने छ’


२० चैत्र २०८०, मंगलवार
dp aryal1674838469

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाएर निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने दोहोर्‍याएका छन् ।

प्रतिनिधि सभाको आज (मंगलबार) को बैठक सुरू हुने बित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद यादवलाई बोल्न समय दिएका थिए । यादवले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने पार्टीको अडान दोहोर्‍याएका थिए ।

‘मेरो आग्रह गृहमन्त्रीलाई पनि छ, केही नयाँ गर्छु भनेर आउनु भएको छ । सकेसम्म छिटो संसदीय समिति बनाएर आरोपलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुहोस्,’ उनले भने, ‘यो विषयमा सत्य तथ्य छानबिन गरेर बाहिर नल्याएको खण्डमा यो आरोपले तपाईंलाई कहिल्यै छोड्ने छैन, जिन्दगीभर लखेट्नेछ ।’

संसदीय समिति बनाएर छानबिन गर्ने कुरा गृहमन्त्रीकै हितमा हुने पनि उनले बताए । गरिब जनताले सहकारीमा जम्मा गरेको बचत लामिछाने कुनै बेला संलग्न रहेको संस्था गोर्खा मिडियामा आएको देखिएकोले छानबिन आवश्यक रहेको उनले बताए ।उनले श्रममन्त्री समेत रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) कृषि सहकारी संस्थाको उपाध्यक्ष रहेको र त्यहाँका निक्षेपकर्ताले चार करोड रुपैयाँ फिर्ता नआएको गुनासो गरेको पनि बताएका छन् ।

सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सञ्चालक रहेको पाइएको उनले बताए । ‘यो सहकारीबाट पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जिबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीलगायतको हो भन्ने आरोप छ,’ उनले थपे, ‘सहकारी ठगी सञ्जाल कसरी फैलिइरहेको छ यो घटनाले पनि देखाउँछ । निष्पक्ष छानबिन गर्न संसदीय समिति बनाउनु पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७