नगद र गरगहनाका लागि पर्वतमा दम्पतीकाे हत्या : कानको लोती नै च्यातेर लुटियो सुन

कोरियामा रहेका दुई छोरा आज आइपुग्दै, हत्याराको अझै भएन पहिचान


२२ चैत्र २०८०, बिहीबार
hatya parbat

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मा भएको दम्पतीको वीभत्स हत्या गरगहना र नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको घरभित्रै हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले लुटपाट गर्ने उद्देश्यले हत्या भएको जानकारी दिएका छन् । उनका अनुसार हत्यामा संलग्नले सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र कानको रिङ लुटेर लगेका छन् । मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको भेटिएको छ ।

सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको जस्ता दृश्यले लुटपाटकै कारण हत्या भएको पुष्टि भएको प्रहरीको दावी छ । मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ । धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या गरिएको प्रनाउ भुसालले बताएका छन् । ‘लुटपाट गर्ने उद्देश्यले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।’ उनका अनुसार अहिलेसम्म हत्यामा संलग्न आरोपी पक्राउ भने परेका छैनन् । हत्यामा प्रयोग भएको हँसिया प्रहरीले बरामद गरेको छ ।

प्राविधिकतर्फ गण्डकी प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको र ‘म्यानुअल’ तर्फ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । हत्यामा संलग्नले मोबाइल नबोकी आएका कारण खोजी कार्यमा केही कठिनाइ भएको उनले बताएका छन् ।

सूर्यबहादुर दम्पतीले गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै आएका थिए । जिसीका दुई छोरा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा छन् । जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन् । उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ । शंकास्पदसँग प्रहरीले सोधपुछ गरिरहेको छ । मृतक दम्पतीको शव परीक्षणका लागि म्याग्दी अस्पतालमा राखिएको छ । कोरियामा रहेका दुई छोरा आएपछि शव परीक्षण गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७