भ्रष्टाचार मुद्दा लागेपछि शाहीको सांसद पद निलम्बन


२२ चैत्र २०८०, बिहीबार
jeevan bahadur shahi

काठमाडौं । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा परेको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीको हैसियले वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ ले कुनै पनि ‘राष्ट्रसेवक’ विरुद्ध भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था छ । ‘राष्ट्रसेवक’ भन्नाले सरकारी कोषबाट तलबभत्ता खाने र निर्वाचित व्यक्तिहरुसमेत पर्छन् । आयोगले बिहीबार मुद्दा दायर गरेसँगै शाही निलम्बनमा परेका हुन् । उनले मन्त्रीका हैसियतले भ्रष्टाचारजन्य कामलाई सघाउ पुर्‍याएको अभियोग पत्रमा उल्लेख छ ।

आयोगका अनुसार विमानको भार क्षमता २४२ टन हुनुपर्नेमा २३० टनमा झारिएको तर रकम भने २४२ टनकै दिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ । विभागीय मन्त्रीका हैसियतमा गलत काम गर्ने सच्याउनु पर्नेमा उनीबाट नभएको आयोगको दाबी छ । त्यस्तै, उनले जमानत विनै सटही गर्न अनुमति दिएको, अवैध एमओइलाई वैधानिकता दिएको आयोगको दाबी छ ।

उनीविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ बिगो कायम गरिएको छ। नेपाल वायु सेवा निगमले २०७३ वैसाख २ गते अध्ययन उपसमिति गठन गरेर दुई वटा वाइडबडी खरिदको प्रक्रिया अघि बढाएको थियो । सरकारको जमानीमा नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट २४ अर्ब ऋण लिएर वायु सेवा निगमले एयरबस कम्पनीको पहिलो वाइडबडी विमान ए ३३०–२००, अन्नपूर्ण २०७५ असार १४ गते र ए ३३०–२००, मकालु त्यहीँ वर्ष साउन १० गते ल्याएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७