बन्दा बन्दै भाँचिएको कावाखोला पुल पुनर्निर्माण थालियो


२४ चैत्र २०८०, शनिबार
pul khawakhola bhojpur

भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनर्निर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनर्निर्माण गत महिना थालिएको थियो ।

हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ । यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मंसिरमा भाँचिएको थियो । भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुनर्निर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए ।

‘स्टिल ट्रस ओपन फाउन्डेसन’ मा बन्ने यो पुल एक स्पानको हुने उनको भनाइ छ । पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्ने गरी निर्माण हुने जनाइएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘कावाखोला पुलको पुनः निर्माण भइरहेको छ’, उनले भने, ‘हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्रमा सम्पन्न हुन्छ ।’ मूल्य अभिवृद्धि कर (भ्याट) सहित चार करोड ६२ लाख ७४ हजार नौ सय १० को लागतमा पुल बन्न लागेको हो ।

गुणस्तरीय ढङ्गले यथाशक्य चाँडो निर्माण सम्पन्न गराउन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलगायत स्थानीय जनप्रतिनिधिको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । स्वीस सरकारको सहयोगमा निर्माण हुने उक्त पुलको २०७६ साल फागुन १२ गते शिलान्यास भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७