लुम्बिनीका नयाँ मुख्यमन्त्री महराको आज शपथ, आजै सानो आकारको मन्त्रिमण्डल


२५ चैत्र २०८०, आईतवार
Jokh Bahadur Bohara

दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) पद तथा गोपनीयताको शपथ खाँदैछन् । शपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संघको राजनीतिक फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए । नयाँ बनेको गठबन्धनबाट पाँच दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री महराको आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ । बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी उनले गरेका छन् ।

साना दलले टुंगो लगाए पनि एमालेमाओवादीबाट कसलाई पठाउने आज बिहानै छलफल गरेर टुंगो लगाउने जनाइएको छ । यसका लागि नेकपा एमालेसँग आइतबार विहान छलफलका लागि समय तोकिएको छ । एमाले प्रमुख सचेतक तुलसी चौधरीका अनुसार मन्त्रालयको संख्या बाँडफाँटको बारेमा पहिले मोटामोटी सहमति जुटिसकेको छ । उनका अनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ मन्त्रालय, जनता समाजवादी पार्टी जसपाले २ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पालैपालो नेतृत्व गर्नेगरी एक मन्त्रालय दिने सहमति भएको हो।

यसैगरी अन्तिम समयमा समर्थन गर्न आएको नागरिक उन्मुक्ति पार्टीलाई पनि मिलाएर लैजानुपर्ने र सो विषय सरकारको नेतृत्व गरेको पार्टीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । आइतबारको शपथ ग्रहणमा मुख्यमन्त्रीसहित माओवादी केन्द्र, एमाले तथा साना दलहरुबाट सहमतिअनुसार एक–एक जना विना विभागीय मन्त्रीहरु सहभागी हुनसक्ने नेता चौधरीले बताए । मन्त्रीको नाम टुंगो लगाउन एमाले र माओवादीलाई सकस परेको छ ।

एमालेबाट उपनेता चेतनारायण आचार्य, रूपन्देहीका तुलसी चौधरी,बाँकेका रत्न खत्री वा दुर्गा चौधरी, कपिलवस्तुका विष्णु पन्थी वा अर्जुन केसी, रूपन्देहीका भूमिश्वर ढकाल,गुल्मीका दिनेश पन्थीसहितका सांसदको नाम अगाडि आएको छ । एमाले संसदीय दलका नेता लिला गिरी काठमाडौंबाट फर्केर टुङ्गो लगाउने भनिएको छ । उनी यहीँ विषयमा शीर्ष नेताहरूसँग सल्लाह लिन काठमाडौं गएका थिए । माओवादीबाट दाङका इन्द्रजित थारू, बाँकेकी कृष्ण केसी र रोल्पाका दिपेन्द्र पुनमध्येबाटै मन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७