प्रधानमन्त्री, मन्त्री, सांसद, नेता सबैको सम्पति छानबिन गरौं : गगन थापा

‘सहकारीविज्ञ भनेर अस्तीसम्म भाषण गरेका व्यक्ति आठ अर्ब खाएर भागेछन्’


२८ चैत्र २०८०, बुधबार
Gagan Thapa 2
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू सबै जबाफदेही हुनुपर्ने बताएका छन् । महामन्त्री थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्रीलगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

कानून र संस्थालाई बलियो बनाएर यसबीचमा सांसददेखि मन्त्री र प्रधानमन्त्री भएकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने थापाले बताए । संसदमा पछिल्लो समय ०४७ यताका सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने कुरा उठेको र यो विषय सकारात्मक भएको थापाले बताए । तर यसका लागि कानून आवश्यक रहेको उनको भनाइ छ । कानून बनाउन आफूले पनि संशोधन हालेको थापा बताउँछन् ।

‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्व प्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं,’ काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माविको हीरक महोत्सवमा बुधबार महामन्त्री थापाले भने, ‘जति पनि ठूला काण्ड र प्रकरण छन् ती सबैमा जिम्मेवार मानिसलाई कहीं न कहीं दण्ड पाउनु पर्छ भनेर डर सिर्जना गरौं ।नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस् ।’

सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने उनले बताए । ‘अस्तीसम्म यहीं कपनको कार्यक्रममा सहकारीविज्ञ भनेर आइराख्नु भएको थियो केबी उप्रेती । आठ अर्ब खाएर भाग्नु भएछ, पत्रिकामा दुई दिनअघि आएको छ,’ थापाले थपे, ‘आठ अर्ब खाएको मानिस विज्ञ भएर गाउँ–गाउँमा भाषण गरिरहेको छ ।’
अरब–अरब खाएर भागेका मानिसलाई कारबाही गर्न विभिन्न अड्का र निकाय भए पनि कारबाही नभएको उनले बताए । राजनीतिक दलका र जतिसुकै शक्तिशाली भए पनि गलत ग¥यो भने दण्ड पाउँछ भन्ने कुरा स्थापित गरिनुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७