सत्ता गठबन्धनको वैठक बस्दै, सुदूरपश्चिम सरकार गठन र संसद बैठक मुख्य एजेण्डा


२ बैशाख २०८१, आईतवार
Gathabandhan news with amale 2
फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (आइतबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बोलाइएको छ । आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको झमेला र संसदको अवरोधबारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिन लागेको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकमा सुदूरपश्चिममा आफ्नो पार्टीले मुख्यमन्त्रीले दाबी पेश गर्ने बताएकी छन् । श्रेष्ठले मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेकी छन् । उनले आजै धनगढी जाने भन्दै त्यसअघि गठबन्धनको बैठक बस्न लागेको बताएकी छन् तर संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेपछि विवाद छ ।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । गठबन्धनको बैठकमा आजदेखि अन्त्य हुन लागेको संसदको अधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आज हिउँदे अधिवेशनको अन्तिम बैठक हो ।

आज रातिबाट अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिग गरिसकेको छ । कांग्रेसले संसद अवरोध गरेकोले अधिवेशन अन्त्य गर्नुपर्ने सत्तारुढको तर्क छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ । संसद बैठक बस्नु अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७