कक्षा १० को पाठ्यक्रममा थपियो डा. रुइतको जीवनी


७ बैशाख २०८१, शुक्रबार
Sanduk ruit taplejung

काठमाडौं । कक्षा १० को अनिवार्य नेपाली विषयमा डा. सन्दुक रुइतको जीवनी थपिएको छ । पाठ्यपुस्तकमा १६ वटा पाठ रहेको चालु शैक्षिक सत्र २०८१ देखि एक राष्ट्रिय जीवनी थप गरेर १७ वटा पाठ बनाइएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले सूचनामार्फत जानकारी दिए ।

पाठ्यक्रमले तोकेको १६० कार्य घण्टामा नै पठनपाठन गराउने गरी पाठ्यक्रममा कार्य घण्टा समायोजन गरिएको पनि सूचनामा उल्लेख छ। समायोजन भएको पाठ्यक्रम र पाठ्यपुस्तक समेत पाठ्यक्रम विकास केन्द्रको वेब साइटमा राखिएको छ । थपिएको जीवनी र समायोजन भएको कार्य घण्टालाई कार्यान्वयन गर्नका लागि केन्द्रले ७७ वटै जिल्लाका विद्यालयहरूलाई निर्देशन पनि दिएको छ ।

नेपाललाई विश्वसामु चिनाउने नेपालका गौरवहरूमध्ये एक डा. रुइत पनि हुन् । वि.सं. २०११ साल भदौ १९ गतेका दिन ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका रुइत आँखा सम्बन्धी विश्वमा नै प्रख्यात चिकित्सक हुन् । ताप्लेजुङ सदरमुकामबाट चार दिन हिँडेपछि मात्रै पुग्न सकिने दुर्गम गाउँमा जन्मिएका उनी विश्व विख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’ का सुरुवातकर्ता हुन् ।

यही चिकित्सा पद्धति अहिले नेपाली प्रविधिको रूपमा विश्वभर चर्चित छ । त्यति मात्रै नभएर पछिल्लो समय अन्तरिक्षमा पठाउन लागेको उल्काको नामसमेत डा. रुइतको नामबाट राख्दा उनी धर्तीदेखि आकाशसम्म नै चर्चित भएको थपिएको पाठ्यपुस्तकमा उल्लेख छ । थपिएको डा. रुइतको जीवनी सहित कक्षा १० को अनिवार्य नेपालीमा अब जीवनीको संख्या तीन पुगेको छ । यसअघि लक्ष्मीप्रसाद देवकोटा र पाउलो पिकासोको जीवनी समावेश थियो । पाठ्यपुस्तकमा अन्य विधाअन्तर्गत तीन वटा कविता, चार वटा कथा, तीन वटा निबन्ध, एउटा मनोवाद, एउटा वादविवाद, एउटा चिठी र एउटा एकाङ्की राखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७