गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुखले गैरकानूनी काम गरे : कांग्रेस

‘सत्ता गठबन्धन अविश्वासको बोझले छिट्टै पतन हुन्छ’


७ बैशाख २०८१, शुक्रबार
prakash

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेशमा प्रदेश प्रमुख र प्रदेश सरकारले गैरसंवैधानिक काम गरेको टिप्पणी गर्दै आपत्ति जनाएको छ ।

आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएको निर्णय र क्रियाकलाप आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली कांग्रेसले ठहर गरेको बताए ।

उनले प्रदेश प्रमुखहरुबाट आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संधिवानको मर्म र भावनाको उल्लंघन तथा सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्ने रवैया देखाएको बताए । उनले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेको बताए । उनले २०८० चैत्र २५ गते प्रदेश सरकारमा भएको नियुक्ति गैरकानूनी र त्रुटीपूर्ण भनि सर्वोच्च अदालतमा दायर भएको रिटमा यसको टुंगो नलाग्दासम्म दीर्घकालीन प्रकृतिका कुनैपनि निर्णय नगर्नू÷नगराउनू भनि सर्वोच्च अदालतबाट भएको आदेशको चैत्र २८ गते आदेश गरेको थियो ।

रिटको पूर्ण सुनुवाई, २०८१ वैशाख १० मा तोकिसकेको अवस्थामा प्रदेश सभा बैठक आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारबाट अदालतको अवहेलना गर्ने काम भएको उनले बताए । सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको अवज्ञा गर्दै प्रदेश सभाको अधिवेशन बोलाइनु गैरकानूनी र सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित रहेको कांग्रेसको दाबी छ ।
उनले वर्तमान सत्ता गठबन्धन अविश्वासको बोझले छिटै पतन हुने दावी गरेका छन् । प्रवक्ता महतले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिएका हुन् । उनले गठबन्धनमा रहेका दलहरूबीच अविश्वास रहेको कुरा प्रदेश सरकार गठनका क्रममा भएका घटनाक्रमबाट स्पष्ट हुने बताए ।

प्रवक्ता महतले वर्तमान सत्ता गठबन्धनमा विश्वासको रत्तिभर अंश नरहेको जिकिर गरे । उनले नयाँ सत्ता समीकरण अवसरवादी रहेको बताए । उनले नयाँ समीकरण पतन भइसकेपछि कसरी जाने भन्नेमा कांग्रेस सचेत र सजग रहेको बताए । प्रवक्ता महतले पछिल्लो समीकरणको सरकार बनेपछि नागरिकमा निराशा छाएको र सरकारप्रतिको भरोसा घटेको बताए । अर्थतन्त्र लयमा जाने र लगानीको वातावरण बन्नेमा विश्वास घटिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७