मौसम चिसिदै चुनवी महोल तात्दै


१४ कार्तिक २०७४, मंगलवार
election final pic leader
election final pic leader
फाइल फोटो

काठमाडौँ: केही दिनयता देशका विभिन्न भागमा पानी परेर चिसो बढे पनि मुलुकको चुनावी तामक्रम भने ह्वात्तै बढेकोे छ। मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको टिकट वितरण र चुनावी प्रचारप्रसारले राजनीतिक सरगर्मी निकै तातेको हो।

पहिलो चरणको निर्वाचनका लागि कात्तिक ८ गते निर्वाचन चिह्न पाएसँगै दलका नेता तथा उम्मेदवार गाउँ पसेपछि काठमाडौँ केन्द्रित चुनावी चर्चा गाउँगाउँसम्म पुगेको छ।

पछिल्ला तीन दिनमा परेको असिना र पानीले वातावरणलाई निकै चिसो बनाएको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको प्रचारप्रसारले पनि केही दिनयता तीव्रता पाएको छ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा उम्मेदवार अहिले आमसभा र घरदैलोमार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गराउन भोट माग्दै हिँडिरहेका छन्।

दूरदराजका गाउँघरमा वीरलै देखिने पार्टीका शीर्ष नेतासमेत केही दिनयता मतदातासँग हात जोडेर आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई भोट माग्न आएको देखेपछि मतदातामा उत्साह थपिएको छ।

निर्वाचनप्रतिको द्विविधा हटाउन प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले समयको चाप र विभिन्न चुनौती भए पनि तोकिएकै समयमा निर्वाचन हुनेमा अब कुनै शक्तिले रोक्न नसक्ने बताए।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, नेकपा माओवादीका नेता देवप्रसाद गुरुङ तथा नेपाली काँग्रेसका नेता रामहरि खतिवडा यतिखेर मतमाग्न गाउँगाउँ पुगेका छन्।

विगतको तुलनामा निर्वाचनको प्रचारप्रसारको क्रममा दल होस् वा उम्मेदवारबाट आफ्ना प्रतिस्पर्धीलाई गालीगलौज तथा आरोप प्रत्यारोप गर्ने प्रवृत्तिमा केही कमी देखिएको छ।

प्रमुख राजनीतिक दलका अतिरिक्त अरु साना राजनीतिक दलबीचको चुनावी तालमेलबाट विगतका निर्वाचनमा जस्तो भोट माग्न गाउँमा पुग्ने उम्मेदवारको संख्यामा भने निकै घटेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३२ जिल्लामा गरी जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिष्पर्र्धामा उत्रिएका छन्।

मतदाता भने यो समयमा बालीनाली भित्र्याउन व्यस्त छन्। मतदातालाई भेट्न उम्मेदवार खेतबारीका कन्लाकान्लामा पुगेका छन्। यो निर्वाचनबाट प्रतिनिधिसभातर्फ ३७ जना र प्रदेशसभातर्फ ७४ जना गरी जम्मा १११ जना जनप्रतिनिधिको चयन हुनेछ।

जुम्ला जिल्लाका एमालेका उम्मेदवार बलबहादुर महत चुनाव प्रचारप्रसार गर्दै पातारासी गाउँ पुग्नुभएको छ भने नेपाली काँग्रेसका नेता दिलबहादुर घर्ती निर्वाचनसम्बन्धी भेटघाटमा सोमबार मध्यनेपाल नगरपालिका पुगेका छन्।

पहिलो चरणको निर्वाचनमा केही चर्चित नेताबीचका प्रतिष्पर्र्धाले सञ्चारमाध्यमलाई समाचार बनाउन निकै ठूलो खुराक मिलेको छ। गोर्खा, सिन्धुपाल्चोक, ओखलढुंगा, नुवाकोट, जाजरकोट, रुकुम, रोल्पालगायतका जिल्ला यति बेला निकै चर्चामा छन्।

यसैगरी, नेकपा ९एमाले०का पृथ्वी सुब्बा गुरुङ, गंगालाल तुलाधर, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, नेपाली काँग्रेसका पूर्वाबहादुर तामाङलगायतका नेताहरू चुनावी प्रसारप्रसारमा भाग लिने क्रममा गाउँगाउँमा पुगेका छन्।

नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई विश्व समुदायले समेत निकै उत्सुकता र चासोका साथ हेरिरहेको छ। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७