आज तीन विश्वविजेताको भिडन्त, फाइनलको झल्को दिने स्पर्धामा कसले देला चक्मा ?


२२ असार २०७५, शुक्रबार
world cup 3 winner 20180706003112

काठमाडौं, २२ असार । रसिया विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) क्वार्टर फाइनलका खेल हुँदैछन् । आजको क्वार्टर फाइनललाई फाइनलकै रिहर्सल (पूर्वाभ्यास) का रुपमा लिइएको छ । शुक्रबार हुने दुवै क्वार्टर फाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको क्षमताका कारण पनि यी खेलमा फाइनलको झल्को मिल्ने खेल विश्लेषकहरुले बताएका छन् ।world cup 3 winner 20180706003112

शुक्रबार साँझ निझ्नी नोभगोरोद रङ्गशालामा हुने पहिलो क्वार्टर फाइनलमा दुई पूर्व विजेता फ्रान्स र उरुग्वे स्पर्धा गर्दैछन् । उरुग्वे दुई पटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । काजन रङ्गशालामा शुक्रबार राति हुने दोस्रो क्वार्टर फाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो उच्च प्रगति गरिरहेको बेल्जियमसँग भिड्दै छ ।

जारी विश्वकपमा बाँकी रहेका चारमध्ये तीन पूर्व विजेता शुक्रबार नै मैदानमा ओर्लंदै छन् । उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानी निकै जमेको जोडी हो । प्रिक्वार्टर फाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा उत्रने निश्चित भइसकेको छैन । उनको अनुपस्थितिमा पनि उरुग्वेसँग क्षमतावान खेलाडीको कुनै कमी छैन ।

यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहनेछ । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँच पटक विश्वकप जितेको ब्राजिलको टोली पनि आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिएको छ । लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता प्रतिभावान खेलाडीको बहिर्गमनपछि ब्राजिली स्ट्राइकर नेइमार प्रतियोगितामा बाँकी रहेका थोरै स्टार खेलाडीमध्ये एक हुन् । नेइमार बाहेक पनि जारी प्रतियोगितामा ब्राजिली टोलीका हरेक खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् ।

यसैगरी सधैं उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसकेको बेल्जियमले यस पटक सफलता चुम्ने कोशिसमा छ । फिफा वरियताको तेस्रो स्थानमा रहेको बेल्जियम यस्तो टोली हो, जो सधैं उच्च लयमा प्रस्तुत हुँदै आएको छ । समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्रुन, थिबउट कर्टाेइज, मिची बात्सुई जस्ता विश्व फुटबलमा नामुद खेलाडीले भरिएको बेल्जियम कुनै पनि टोलीलाई कठिन चुनौती दिन काविल छ । त्यसैले पनि शुक्रबार यी चार टोलीबीच हुने दुई क्वार्टर फाइनल प्रतिष्पर्धा कुनै दृष्टिकोणबाट फाइनलभन्दा कम हुने छैनन् बरु फाइनलभन्दा पनि रोचक नै हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७