एउटा बैंक शाखाको भागमा ४ हजार ४९० सेवाग्राही
काठमाडौं,२८ असार: एउटा बैंकको शाखामार्फत हाल ४ हजार ४ सय ९० जना नेपालीले बैंकिङ सेवा लिने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बुधबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले यस्तो जानकारी गराएका हुन् । २०७४ जेठमा यस्तो संख्या ५८०९ रहेको थियो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा क, ख, ग र घ वर्गका बैंकहरुको शाखा संख्या कुल शाखा संख्या ६ हजार ४ सय १८ पुगेको उनले बताए ।
जसअनुसार वाणिज्य बैंकहरुको शाखा संख्या २ हजार ९ सय १९, विकास बैंकहरुको ९ सय ५१, वित्त कम्पनीहरुको १ सय ८३ र लघुवित्त संस्थाहरुको २ हजार ३ सय ६५ पुगेको छ । घीय व्यवस्था अन्तर्गत गठित ७ सय ५३ स्थानीय तहहरुमध्ये २०७५ असार २४ गतेसम्म ५ सय ५६ तहमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको समेत गभर्नर नेपालले जानकारी दिए ।
२०७५ वैशाख मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या २ करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको समेत उनले बताए ।
गभर्नर नेपालले दिएको जानकारी अनुसार हालसम्म एटीएम संख्या २ हजार ६ सय २४, मोबाइल बैंकिङका ग्राहकहरुको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ७ लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ ।