१२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार


२३ मंसिर २०७५, आईतवार
उमाकान्त चौधरी

सप्तरी, २३ मंसिर । १२ वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ ।

उमाकान्त चौधरी

यही मंसिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको आलेख समाचार प्रकाशित भएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका प्रतिनिधि मनोहर पोखरेलको पहल र मानव सेवा आश्रमको सहयोगमा शनिबार पीडितको उद्धार भएको हो ।

अग्निसाइर कृष्णसवरन गाउँपालिका–१ का चौधरीलाई हेटौँडास्थित आश्रम लगी उपचार तथा स्याहार गरिने आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले बताए । आश्रमका सदस्य सुनम बड्तौला, अभियन्ता नवराज केसी र साधक सन्त लामाले साङ्लो खोली चौधरीलाई लिएर हेटाैंडा एका हुन् ।

उद्धारका समयमा प्रतिनिधिसभा सदस्य सरीता गिरी, प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, गाउँपालिका अध्यक्ष परशुराम चौधरी, वडा नं १ का अध्यक्ष सुशील चौधरी, वडा नं ६ का अध्यक्ष कुसुम आचार्य, इन्सेक प्रदेश संयोजक राजु पासवान, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, इन्सेक प्रतिनिधि पोखरेललगायत पीडितको घर पुगेका थिए ।

chaudhari

उद्धार गरिएका चौधरीसँग भेट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय तहबाट हुने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बड्तौलाका अनुसार चौधरीलाई मानसिक रोग विशेषज्ञसहितको चिकित्सक टोलीबाट नियमित उपचार गराउनुपर्ने बताए । लामो समयदेखि साङ्गलोमा बाँधिएका कारण मानसिक रोग जटिल भइसकेको भन्दै अञ्चल अस्पतालका प्रमुख मेसु डा. दासले उमाकान्तको सबै किसिमको स्वास्थ्य परीक्षण गरी अस्पतालमा भर्ना गर्नुपर्ने बताएका छन् ।

तीन छोरी र मानसिक रोगी श्रीमानको जीविकोपार्जनका लागि अर्काको खेतमा दिनरात मजदुरी गर्दै आएकी पीडितकी श्रीमती सुशीलादेवी चौधरीले आर्थिक अभावले पतिको उपचार गर्न नसकिएको स्थितिमा सहयोग मिलेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७