उपत्यकामा अब सुन्दर यातायातका १३ विद्युतीय बस, मोवाइलबाटै भाडा तिर्न मिल्ने


२३ मंसिर २०७५, आईतवार
bus

काठमाडौं, २३ मंसिर । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा ३ वटा ठूला विद्युतीय गाडी सञ्चालन गर्ने भएको छ । चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको उक्त बस चालकसहित ४५ सिट क्षमताको छ ।

bus
तस्बिर सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाको फेसबुकबाट लिइएको हो ।

गाडीमा सिसि क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपांगमैत्री रहने सुन्दर यातायातले जानकारी दिएको छ ।

भाडा लेनदेनमा कठिनाइ नहोस् भन्ने उद्धेश्यले सुन्दर यातायातले सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था गर्न लागिएको जनाइएको छ । गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधि समेत रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले दावी गरेका छन् ।

गाडीको परीक्षण गरेपछि एनसेल, एनटिसी लगायतका दूरसञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने, त्यस्तै ई–सेवा, खल्ती जस्ता ई–पेमेण्ट कम्पनीहरूसँग सहकार्य गरिने उनले बताए ।

उक्त बसले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई सरकारले तोकेको भन्दा बढी सहुलियत दिने उनले बताएका छन् । गाडीको टायर र स्प्रिङ पत्ता परिवर्तन गरी ग्राउण्ड क्लेयरेन्स २३० एमएम बनाउने थापाले जानकारी दिए। कम्पनीले यो गाडीलाई ७ वर्ष वारेन्टी प्रदान गरेको छ ।

यी गाडीमध्ये २ वटा रिङरोडमा र एउटा भित्री सडकमा चलाउने सुन्दर यातायातको लक्ष्य छ। ३ वटै गाडी ३० दिनभित्र आइपुग्ने थापाले जानकारी दिए ।

‘धेरैमा ३० दिनभित्र आइपुग्छ र २ महिनाभित्र अरु १० वटा पनि आउँछ । ५०–६० वटा विद्युतीय गाडी ल्याउने हाम्रो लक्ष्य हो’ उनले भने । यी गाडीको मूल्य करिब १ करोड ८७ लाख पर्ने सुन्दर यातायातले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७