झण्डै तीन करोड भ्रष्टाचार गरेका पूर्व गभर्नर रावल १० लाख धरौटीमा रिहा


८ माघ २०७५, मंगलवार
rawol

काठमाडौं, ८ माघ । पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल धरौटीमा रिहा भएका छन् ।

rawol

विशेष अदालतले मागेको १० लाख रुपैयाँ धरौटी राखेर सोमबार उनी रिहा भएका हुन् । फरारका रूपमा मुद्दा दायर भएकोमा रावल सोमबार विशेष अदालतमा उपस्थित भएका थिए । गत ५ पुसमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीलगायत तीन जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

नोट छपाइमा दुई करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख ९ हजार बिगो कायम गरी रावलसहित राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’ का नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर भएको थियो । पौडेल र पाँडे अझै फरार छन् ।

आर्थिक वर्ष ०५८–०५९ मा अस्ट्रेलियाको केन्द्रीय बैंक मातहतको ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’ मार्फत १० रुपैयाँदरका पाँच करोड थान नोट छापिएको थियो । मिलेमतोका आधारमा सो कम्पनीलाई ठेक्का दिइएको र कमसल नोट छपाइ गरेको भन्दै १६ वर्षपछि आयोगले मुद्दा दायर गरेको हो । कम गुणस्तरको भएकै कारण ती पोलिमर नोट हाल प्रयोगमा छैनन् ।

प्रतिहजार नोट छपाइका लागि ६८ अस्ट्रेलियन डलर लाग्नेमा पछि चार डलर बढाएर बोलपत्र स्वीकृत गरिएकोमा त्यसैलाई बिगो बनाएर मुद्दा दायर भएको थियो । छपाइका क्रममा नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, सञ्चालक समितिका निर्णय चुहाएको र जर्मन कम्पनीसँगको नोट छाप्ने साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको आयोगको दाबी छ ।

नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार भएको, छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउन मिडियाकर्मीलाई थाइल्याण्ड हुँदै अस्ट्रेलिया पठाउनुलाई समेत आयोगले भ्रष्टाचारको आधार मानेको छ । बोलपत्रअघि नै नोटको डिजाइन गर्न लगाउनुले पनि मिलेमतो प्रस्ट भएको भन्दै मुद्दा दायर भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७