नविना लामालाई ७२ प्रश्न
ठिक दुई बर्ष अघि नयाँ पेजको अन्तरवार्तामा नविना लामाले भनेकी थिइन्,‘मेरो सपना एमालेको पार्टी अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री बन्ने हो ।’ उतिखेर अनेरास्ववियुको २२ औँ सम्मेलनको रापताप चलिरहेको थियो । अध्यक्ष पदको उम्मेदवार थिइन्, नविना । स्वभाविक रुपमा चुनाव ताका योजना र सपना अलि उपल्लो स्तरकै हुन्छ, चाहे त्यो किन पुरा गर्न नसकिने होस् ।
काभ्रेकोशी पारीको सामान्य तामाङ परिवारमा जन्मिएकी नविना मुलुकको सबैभन्दा ठुलो विद्यार्थी संगठनको अध्यक्ष वनिन् । अब उनको कार्यकाल सकिन लागेको छ । गएको दुई बर्ष उनको पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सपनाको कति सहयोगी बन्न सक्यो ? त्यो हिसाबकिताब त नविनासँगै होला । फेरि दुई बर्षपछि नविनालाई उही प्रश्न सोध्यौं, ‘तपाईको सपना के हो ?’ नविनाको जवाफ उही छ,‘अध्यक्ष र प्रधानमन्त्री ।’ हुन नसक्नु एउटा कुरा हो । गन्तव्यमा पुग्न नसक्नु एउटा कुरा हो । तर, सपना देखेर दौडीरहनु धेरै महत्वपूर्ण हो । नविना भन्छिन्,‘सपनाले मान्छेलाई अघि बढ्न घचघचाई रहन्छ ।’
केहीदिन अघि नविना उस्तै उत्साही र खुसी थिइन् । एमालेको समानुपातिक तर्फको प्रतिनिधिसभा सदस्यको सूचीमा रहेका नविनालाई घरीघरी बधाईका फोन आइरहेको थियो । यो सपना बोकेकी नविनालाई हेर्ने मान्छेको दृष्टिकोण आ–आफ्नै छ । होलान् । तर, आफ्नै नजरमा नविना के हो ? को हो ? उनको स्वभाव, शैली, सपना र अभिरुची बारेमा निकै लामो अन्तरवार्ता गर्यौं । यो अन्तरवार्ताको क्रममा नविना कहिले भावुक बनिन्, कहिले उत्साहित । अन्तरवार्तामा उनी निर्दोष शैलीमा इमानदारिताको साथ प्रस्तुत भइन् ।
१) तपाई कहाँ जन्मिनुु भयो ?
नविनाः म काभ्रेको चौरी देउरालीको मादेम चौतारीमा जन्मेको हुँ ।
२) कस्तो परिवारमा ?
नविनाः मध्यम वर्गीय परिवारमा । बुबा पहिले शिक्षक हुनुहुन्थ्यो । पछि राजनीतिमा आउनु भयो । आमा ‘हाउसवाइफ’ र बाजे सरकारी जागीरे हुनुहुन्थ्यो ।
३) बाल्यकाल कसरी बित्यो ?
नविनाः गाउँघर जसरी बालबालिकाको जीवन चल्छ, त्यस्तै रह्यो । काभ्रे असाध्यै विकट ठाउँ हो । सूचना सञ्चारको पहुँच थिएन । स्वास्थ्य, शिक्षा जस्ता विषय अत्यन्तै जटिल थिए । तर, पनि राजनीतिस्तर राम्रो थियो । म चाहीं संयोग भनौं, परिवारमा छोराछोरीलाई पढाउनु पर्छ, राम्रो शिक्षा दिनुपर्छ, राजनीतिक रुपमा सचेत, संगठित हुनुपर्छ, अझ प्रगतिशील हुनुपर्छ भन्ने ठाउँमा जन्मिएँ । परिवार पनि त्यस्तै थियो ।
४) राजनीतिमा कसरी आउनु भयो ?
नविनाः बाबा पहिले शिक्षक हुनुहुन्थ्यो । पञ्चायतकालमा वामपन्थी भनेर जागिरबाट निकालियो । त्यसपछि उहाँ भूमिगत हुनु भयो । म सानै थिएँ । त्यसैको प्रभाव पनि मलाई पनि प¥यो । पछि उहाँ खुल्ला हुनुभयो । मैले बुझ्ने हुँदा बाबा काभ्रेमा एमालेको जल्दोबल्दो नेता हुनुहुन्थ्यो । त्यसपछि म पनि अनेरास्ववियुमा संगठित भएँ । अनेरास्ववियुमा क्रियाशिल नेता भनेर चिनिए ।
३) शुरुमा नेता बाहेक अरु केही बन्ने सपना थियो कि ?
नविनाः म अखिलको अध्यक्ष हुन्छु नै भन्ने चाहीं सोचेको थिइन्ँ । तर राजनीति गर्दै जादाँ एक दिन सक्षम र सफल हुन्छु भन्ने चाहीं लागेको थियो । यहि पोष्ट, यहि ठाउँ भन्ने चाहीं सोचेको थिइन्ँ । म जहाँ हुन्छु, त्यहाँ मेरो आवश्कतावोध गराउँछु भन्ने चाहीं थियो ।
४) आफ्नै नजरमा नविना लामा को हो, के हो ?
नविनाः म अरु जस्तै सामान्य मान्छे हुँ । सामान्य मान्छेको भन्दा फरक छैन मेरो जीवनशैली । तर, मेरो सोंच चाहीं राजनीतिक छ । अरुमा त्यस्तो नहुन सक्छ । फरक ढङ्गले सोच्छु । मान्छे सामान्य हो तर, विचारमा आफूलाई फरक देख्छु ।
५) मान्छेहरुले तपाईलाई कसरी चिनुन् जस्तो लाग्छ ?
नविनाः मेरो कामको प्रतिफलले चिनुन् जस्तो लाग्छ । झट्ट हेर्दा मान्छे बाहिरी आवरणले मात्र चिनिन्छ । कसैसँग काम गर्दै जाँदा अनुभवले चिनिन्छ । म चाहीं लामो समय विद्यार्थी राजनीतिमा रहेकाले मबाट विद्यार्थीहरुले के पाए । मेरा कामबाट के सेवा, विचार पाए, मेरा कारणले उनीहरुको व्यक्तिगत र राजनीतिक जीवनमा के परिवर्तन दिन सक्यो, यिनै कारणले चिनुन् भन्ने जस्तो लाग्छ ।
६) आफ्ना सवल पक्ष के–के ठान्नु हुन्छ ?
नविनाः निरन्तरता । म जुन कुरामा लाग्छु निरन्तर लाग्छु । म आशावादी छु र आत्मविश्वास पनि छ ।
७) कसैमाथि आफ्नो धारणा कसरी बनाउनु हुन्छ ?
नविनाः उसँग संगत गरेर र बोलीचालीपश्चात । त्यस्तै कतिपय व्यक्तिको बारेमा चाहीं पढेर पनि ।
८) तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन–कुन पक्ष हाबी छन् ?
नविनाः मेरो सक्रियता । आफूलाई खाने, बोल्ने, लगाउने कुरामा सन्तुलित राख्छु । अरुसँग बोल्दा पनि उसको मनोविज्ञान बुझ्ने कोशिस गर्छु । उ कुन समस्यामा छ, त्यता पनि ध्यान दिन्छु ।
९) तपाईलाई कति खेर रिस उठ्छ ?
नविनाः आफूलाई मन नपर्ने कुरामा । अनि मन नपरेको कुरा आफूबाट गराएमा पनि । स्वच्छ मनले गरेको काममा कसैको स्वार्थ हावी हुँदा । हामी संगठनको मान्छे सामुहिकतामा विश्वास गर्छौ तर, गरिएका कामहरुमा असफल बनाउने प्रयास गर्ने मान्छे मलाई मन पर्दैन ।
१०) अनि कतिखेर भावुक हुनुहुन्छ ?
नविनाः दुःखद खबरमा । अस्वभाविक घटना हुँदा ।
११) तपाईलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
नविनाः कुनै पीडित मान्छेको निम्ति केहि गर्दा उतेजित हुन्छ ।
१२) तपाई कतिको संयमित हुनुहुन्छ ?
नविनाः घटना र परिस्थिति अनुसार । एउटा लिडर भएको हिसाबले संयमित हुनुपर्छ नै ।
१३) अनि कतिखेर खुशी हुनुहुन्छ ?
नविनाः आफूले गरेको कामले सफलता प्राप्त गरेका बेला अर्थात सुखद परिणाममा खुशी हुन्छु ।
१४) तपाईका दुःखहरु के हुन् ?
नविनाः लामो समय मेहनत गरेर पनि त्यसको उपलब्धी पाइएन भने त्यो दुःखको क्षण हो ।
१५) अनि तपाईको सुख चाहीं नि ?
नविनाः सफलता र सुखले मन शान्त हुन्छ । कामको परिणामले दिने सफलता र पदीय सफलता नै सुख हो ।
१६) तपाईको जीवनको सबैभन्दा दुःखद क्षण ?
नविनाः आफूले नसोचेको घटनाहरु हुँदा । मेरो विगतमा केहि संगठित गुटबन्दीहरु हावी भए । त्यसले केहि तनाव पनि दियो । त्यही हो दुःखको क्षण ।
१७) अनि खुशीको क्षण चाहीं नि ?
नविनाः मेरो आमाको मेजर अप्रेशन थियो, त्यो सफल हुँदा धेरै खुशी भएको थिएँ । राजनीतिक जीवनमा म बानेश्वर क्याम्पसको सभापति बन्दा र अखिलको अध्यक्ष हुँदा धेरै खुशी भएको थिएँ ।
१८) तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
नविनाः म अखिलको उपाध्यक्ष हुँदा पार्टीले संगठन विघठन गर्ने कुरा आयो । त्यो बेला निकै अप्ठ्यारो महसुस गरेको थिएँ । जहाँ हामी स्वर्णिम सपना र आंकाक्षा बोकेर आएका थियौं ।
१९) अहिलेसम्म तपाईले गर्नु भएको सबैभन्दा सही निर्णय ?
नविनाः अखिलको अध्यक्ष भइरहँदा सर्टिफिकेटको आधार बैंकबाट लोन लिन पाउनु पर्र्छ भन्ने निर्णय सही गरेको थिएँ भन्ने लाग्छ ।
२०) अनि गलत चाहीं नि ?
नविनाः विश्वास गरेर हिंड्नेहरुबाट पनि धोका हुँदोरहेछ । तर, विगतको कुरा नउठाउँदा नै राम्रो होला ।
२१) अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
नविनाः आमा विरामी हुनु भएको बेला धेरै रोएको थिएँ ।
२२) अन्तिम पटक कहिले रुनुु भयो ?
नविनाः ठ्याकै अहिले याद भएन ।
२३) तपाईलाई कस्तो मान्छे मन पर्छ ?
नविनाः राष्ट्र र परिवार सबैलाई व्यालेन्स गर्ने मान्छे ।
२४) अनि कस्तो मान्छे मन पर्दैन ?
नविनाः गैरजिम्मेवार, आफनो पदीय हैसियत बिर्सने र संगठनको जिम्मेवारी बिर्सने ।
२५) तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
नविनाः व्यक्तिगत विचार लाद्न खोज्ने व्यक्तिलाई म घृणा गर्र्छु । आफ्नो व्यक्तिगत कुरालाई मात्र केन्द्रित गर्न खोज्ने ।
२६) फूर्सदको समय कसरी बिताउनु हुन्छ ?
नविनाः आफनो व्यक्तिगत जीवनलाई दिन्छु । आफ्ना मन मिल्ने साथीहरुँग भेटघाट गर्ने, घुम्न जाने आदि ।
२७) व्यस्त जीवनमा फूर्सद समय बिताउनका लागि पहिलो प्राथमिकतामा को पर्नु हुन्छ ?
नविनाः मन मिल्ने साथीहरु नै हुन्छन् ।
२८) काठमाण्डौंमा दोहो¥याएर जाने ठाउँ कुन–कुन हुन् ?
नविनाः ठमेलको ड्रिम अफ रक गार्डेन, बौद्ध स्तुप र पशुपतिनाथ मन्दिर ।
२९) राजनीति बाहेक तपाईको रुचीको क्षेत्र ?
नविनाः समाजसेवा ।
३०) फिल्म कतिको हेर्नुहुन्छ ?
नविनाः हेर्दिन्, फूर्सद नभएर ।
३१) हलमा गएर अन्तिम पटक कुन फिल्म हेर्नु भयो ?
नविनाः एउटा बहिनीको अफरमा ‘द विनर’ भन्ने फिल्म हेरें ।
३२) तपाईलाई मनपर्ने फिल्म ?
नविनाः दासढुङ्गा, पोलिटिकल फिल्म भएर होला ।
३३) कुनै फिल्म हेरेर रुनु भएको छु ?
नविनाः दासढुङ्गा हेरेर रोएकी छु ।
३४) तपाईलाई मन पर्ने नायक ?
नविनाः दयाहाङ राई । उहाँको अभिनय कला मनपर्छ ।
३५) तपाईलाई मन पर्ने नायिका ?
नविनाः रेखा थापा ।
३६) तपाई मन पर्ने गीत ?
नविनाः धेरै छन् । आधुनिक, लोकदोहरी, प्रगतिशिल र फिल्महरुको गीत पनि मनपर्छ ।
३७) मन पर्ने गायक–गायिका ?
नविनाः राजु लामा र अञ्जु पन्त । अनि सुगम पोखरेल पनि ।
३८) पुस्तक कतिको पढ्नु हुन्छ ?
नविनाः पढ्छु । तर, फूर्सद एकदमै कम हुन्छ ।
३९) अहिले कुनै पुस्तक पढिरहनु भएको छ ?
नविनाः क. वामदेव गौतमको ‘नयाँ नेपाल निर्माणको महाअभियान’ ।
४०) दोहो¥याएर पढ्नु भएको पुस्तक ?
नविनाः कृष्ण धरावासीको ‘राधा’ । झमक घिमेरेको जीवन काडाँ कि फूल ।
४१) पुस्तक पढ्न सिफारिस गर्नु पर्दा कुन–कुन गर्नु हुन्छ ?
नविनाः युवाहरुको गीत, जीवन काँडा कि फूल, म्याक्सिम गोर्कीको ‘आमा’ र मदन भण्डारीको जबज भाग १, २ र ३ ।
४२) तपाईलाई मनपर्ने नेता ?
नविनाः अहिले त केपी ओली नै मनपर्छ ।
४३) तपाई मनपर्ने पाँच युवा नेता ?
नविनाः योगेश भट्टराई, शंकर पोखरेल, रविन्द्र अधिकारी, घनश्याम भुषाल र भानुभक्त ढकाल अनि विन्दा पाण्डे, रामकुमारी झाँक्री ।
४४) आर्दश लाग्ने नेता ?
नविनाः पार्टी तथा अखिलको श्रद्धेय नेताहरु ।
४५) राजनीतिमा लाग्दै गर्दा जीवनको अरु पाटो छुट्यो जस्तो लाग्दैन ?
नविनाः विहे नै पो ढिलो भयो कि जस्तो लाग्छ ।
४६) अहिले कति वर्षको हुनुभयो ?
नविनाः ३३ वर्षको भएँ । माघदेखि ३४ मा लाग्छु ।
४७) अब तपाई प्रतिनिधिसभाको सांसद बन्ने पनि लगभग पक्का छ, तपाईलाई बिहे चाहीं केले रोक्यो जस्तो लाग्छ ?
नविनाः समय र जिम्मेवारीले गर्दा । समय व्यवस्थापन गर्न सकिएन ।
४८) अब कहिले गर्दै हुनुहुन्छ ?
नविनाः अब दुई महिनापछि नै गर्दैछु । फागुनमा पक्का गर्छु ।
४९) आफैप्रति केही गुनासो छ ?
नविनाः पढ्न पाइएको छैन् यहि हो ।
५०) फर्केर हेर्दा अहिलेसम्मको कुनै अध्याय फाल्दिऊ जस्तो लागेको छ ?
नविनाः त्यस्तो केही छैन ।
५१) कहिलेकाहीं तपाईको बोलीको विषयमा अलोचना पनि हुन्छ । यस्तो कुरामा कस्तो लाग्छ ?
नविनाः यस्तो कुरा सुन्दा अलिकति दुःख त लागिहाल्छ । मान्छेको मन न हो । तर, यस्ता कुराबाट म आफूलाई अगाडि बढाउने साहस जुटाउँछु ।
५२) त्यस्तो आलोचना तपाईका लागि के हो ?
नविनाः फिडब्याक हो । जसले मलाई अझ अघि बढ्नका लागि थप उर्जा दिन्छ ।
५३) फर्केर हेर्दा जीन्दगी के रहेछ ?
नविनाः जीवन सर्घष रहेछ । जीवन आरोह–अवरोह, उतार–चढाव हो । जीन्दगीमा खुशी हुन सक्नुपर्छ ।
५४) विद्यार्थी जीवनकालपछिको फूर्सदिला समय के गर्न चाहनु हुन्छ ?
नविनाः पहिले व्यक्तिगत जीवन व्यवस्थित गर्न चाहन्छु । केही ठाउँहरु घुम्न पनि चाहन्छु । पढ्ने र गर्नैपर्ने कुराहरु कसरी व्यवस्थित बनाउने भनेर रुटिन बनाउँछु ।
५५) अबका सपना के छन् ?
नविनाः उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैं केही काम गरेर देखाउनु छ । अहिलेसम्म फर्केर हेर्दा म कहीं असफल भएको छैन । थप राजनीतिक सफलताका लागि अप्ठ्याराहरु पन्छाउन तयार छु । र अदम्य शाहसका साथ अगाडि बढ्नका लागि तयार छु । विद्यार्थीको राजनीतिबाट अब पार्टीको राजनीतिमा अगाडि बढ्दै छु । म राष्ट्रिय राजनीतिलाई कसरी स्वर्णिम बनाउन सकिन्छ भन्नेबारेमा सोचिरहेको छु ।
५६) यो बन्छु भन्ने केही सपना छ ?
नविनाः राजनीति गर्ने मान्छे कहीं सफल हुन्छ, कहीं असफल । वामदेव कमरेड हार्नु हुन्छ भन्ने कसैले सोचेको थिएन । तर, कहिलेकाहीं यस्तो अनपेक्षित नतिजाहरु पनि जीवनमा आउँदा रहेछन् । राजनीति गर्नेले सफलता–असफलता दुबै भोग्नु पर्ने हुन्छ । तर, अहिले देशमा राष्ट्रपति हाम्रै पार्टीकी उपाध्यक्ष महिला हुँदै गर्दा, सभामुख महिला हुँदै गर्दा । अहिलेसम्म महिला महिला प्रधानमन्त्री बन्न नसकेको अवस्था छ । म चाहीं त्यो बन्न सक्छु, म त्यो ठाउँमा पुग्न सक्छु भन्ने सोची रहेको छु । त्यसका लागि मैलै त्यहि स्पिरिटमा काम गर्न सक्नुपर्छ । अब त्यो स्वर्णिम अवसरका लागि महिलालाई बाटो खुल्ला छ । ममा त्यहाँ पुग्न सक्छु भन्ने आत्मविश्वास छ ।
५७) हिजोको अखिल नेता–कार्यकर्ता उत्पादनको उर्वर संगठन थियो । तर, अहिले विस्तारै कमजोर भयो भने जस्तो लाग्दैन ?
नविनाः मेरो कार्यकालमा त्यस्तो भएको छैन र सोचेको पनि छैन् । मैले अनेरास्ववियुलाई विद्यार्थीको आर्कषणको थलो बनाउने र विरासत बढाउने प्रयासमै छु । कुनै समय स्वतन्त्र विद्यार्थी युनियन नै खारेज हुनसक्ने अवस्थामा थियो । मेरो पालोमा त्यो जीवित भयो । पुनर्जागरण गराएँ । यसमा रविन्द्र अधिकारी दाईलाई सम्झिन्छु । उहाँले गर्दा यो सफल भयो । म संगठनको अध्यक्ष भए । थुप्रै रचनात्मक कामहरु भए ।
५८) विद्यार्थी राजनीतिप्रति किन आर्कषण घट्दो छ ? पछिल्लो पुस्ताको कमजोरी के हो जस्तो लाग्छ ?
नविनाः बुझेर पनि विचारलाई सीमित गर्न खोज्ने मान्छेहरुको दृष्टिकोणमा पछि लाग्ने साथीहरुले आकर्षण कम गराएका हुन् । पार्टीभित्र गुट–उपगुट र समूह छन् । जसले एउटा ठिक अर्को वेठिक भन्नेतिर लैजान्छ । यस्तो अवस्थामा पार्टीे र संगठन चुस्त रुपमा चल्दैन ।
५९) तपाई कहाँ बस्नु हुन्छ ?
नविनाः काठमाण्डौंमा बस्छु ।
६०) घर कसले बनाएको ?
नविनाः बुबा–आमाले ।
६१) केहि विद्यार्थीहरु छोटै अवधिमा धेरै आर्थिक प्रगति गरेका छन् । तपाईले चाहीं घडेरी किन्नु भएको छैन् ?
नविनाः छैन ।
६२)तपाईसँग बैंक ब्यालेन्स छ ?
नविनाः सामान्य । मसँग इन्भेष्टमेण्ट बैंक र स्टाण्र्ड चार्टर बैंकको कार्ड छ ।
६३) खर्च कतिको गर्नु हुन्छ ?
नविनाः कहिले धेरै हुन्छ, कहिले थोरै हुन्छ । धेरै हुँदा सात–आठ हजारसम्म हुन्छ ।
६४) धेरै खर्च गर्न कसरी धान्नु हुन्छ ?
नविनाः धेरै खर्च हुन्न । धेरैजसो अरुको कार्यक्रममा गइन्छ । आफूले कार्यक्रम गर्दा सामान्य तयारी गर्ने र सोही अनुसार व्यवस्थापन गर्ने हो ।
६५) तपाईको आयस्रोत के हो ?
नविनाः मेरो आयस्रोत केही छैन । अब बिजिनेस गर्ने सोंचमा चाहीं छु ।
६६) तपाई कुन यातायातको साधन प्रयोग गर्नु हुन्छ ?
नविनाः पहिले स्कुटी चढ्थे । टाइफाइड बिरामी भएपछि चाहीं छोडें । दुई वर्ष जति भयो । अहिले सार्वजनिक यातायात नै चढ््छु अनि धेरैजसो ट्याक्सी ।
६७) मनपर्ने पोसाक ?
नविनाः खासै छैन । आफूलाई सहज लाग्ने लगाउँछु ।
६८) कति रुपैंयाँसम्म किन्नु भएको छ ?
नविनाः कपडा चाहीं किन्छु । निजी प्रपटी नभए पनि मनपर्ने जुत्ता–कपडामा खर्च उति कञ्जुस्याई गर्दिन ।
६९) महँगो कपडा कतिसम्मको किन्नु भएको छ ?
नविनाः नेपालमै भन्ने हो भने मैले त्यस्तै १७÷१८ हजारसम्मको कोटहरु किनेको छु ।
७०) मन पर्ने ठाउँ ?
नविनाः आफू जन्मेको ठाउँ प्यारो लाग्छ । अनि घुम्नका लागि पोखरा, लुम्बिनी ।
७१) मन पर्ने खाना ?
नविनाः नेपाली खाना ।
७२) अन्तिममा तपाई जस्तै सफल हुन के गर्नुपर्छ ?
नविनाः मेहनत, परिश्रम र संगठनप्रति निरन्तता दुःख कष्ट सबै फेस गर्ने आत्मविश्वास । महिलाहरुले झन बढी संघर्ष गर्न तयार हुनुपर्छ । समाजमा महिलाहरुले बहुरुपी दायित्व लिनुपर्ने हुन्छ । त्यसैले महिलाहरुले बढी आत्मविश्वास आर्जन गर्नुपर्छ अनि सफलता प्राप्त हुन्छ ।
पुरा भिडियो हेर्नुहोस्