आमा


१ माघ २०७४, सोमबार
prabin kulung rai aama

प्रबिन कुलुङ राई

करोडौं अदृष्य पीडा सहेर पनि
यो धर्तीमा पाइला टेकाउने मेरी प्यारी आमा
खान, बोल्न, खेल्न र हिंड्न सिकाउने मेरी प्यारी आमा
आफ्नै रगत चुसाएर
आफू सँधैं रित्तिएर पनि

माया ममता दिइरहने मेरी प्यारी आमा
अभावको झुपडीमा हरेक रात बिताएर पनि
अन्याय र अत्याचारको विरुद्धमा
लड्न सिकाउने मेरी प्यारी आमा
गैंति र बेल्चा बनेर पनि
वाधाका पहाड पन्छाउन सिकाउने
मेरी प्यारी आमा
आफ्नो चोट सहेर पनि
म हरेस खाँदा, साहस थपिदिने
मेरी प्यारी आमा
आगोको राप सहेर पनि
सन्तानको खुसीका लागि जली दिन सक्ने
मेरी प्यारी आमा
पुसको रातमा गजधम्म कुहिरो छिचोल्दै
आकाशबाट उदाएको जूनझैँ मेरी आमा
आफैले पाेल्टामा बोकेको, बाघमुखे थोलिझै
मुन्जा परेका मेरी आमाको मुहार
छ्याङ्ग खुलेको रातको, ताराझैँ
अहिले पनि उस्तै उज्यालो छ
हल्लिन थालेका अघिल्लो दाँतबाट अचानक फुत्केका
निश्चल र निष्कपट हाँसो आज पनि उस्तै छ
साँझको काम सकेर बचेको थोरै समयमा
टुकीको धिपधिपे उज्यालोमा
कान्छो छोराको लागि बन्दै स्वेटर, टोपी बुन्ने
मेरी प्यारी आमा
हो, समय बदलियो, आमासँगको दुरी पनि बदलियो
तर, आमा तिमीले बाँधी दिएको जन्तरमा
तिम्रो माया पनि छातीमै झुन्डिएर बसेको छ
मेरो सुखको खोजीमा
कालो केश हिउँ जस्तै सेतो बनाएर पनि
६९ वर्षको बुढ्यौली हातले
ढिकी–जाँतो र करेखाबारी गरिरहेको दृश्य
म टाढा भएर पनि झलझली सम्झिरहेछु आमा !
छोराको सुन्दर भविष्यको सपना देख्दै
हिउँद-बर्खा माटो कोरेर
पटपटी फुटेका हत्केलाले
निधार स्पर्श गर्दाको त्यो मायालु क्षण
आमा आज तिम्रो अभावमा पनि
उस्तै न्यायो लाग्छ मलाई
मेरो थोरै प्रगतिको कुरा सुन्दा पनि
संगीहरुलाई खुसी बाँड्न पुग्ने मेरी आमा
माघे संक्रान्तिको फलाहार उसिनेर
घरमाथिको उकालोमा मेरो आगमनको
आसमा आँखा बिछ्याईरहेकी होलिन्
घाम दैलोको ठेलामा खसेदेखि
साँझ झ्याउकिरी कराउँदासम्म
मेरो बाटो कुर्दा कुर्दा थकित बनेर
थोरै सोमरसको चुस्कीसँग सुल्फाको कोकटेल बनाउँदै
एकाकुनामा बसेर बुङ्बुङ्ती सुर्तीको धुवाँसँगै
छोराको यादलाई हावामा उडाएर
पोलिरहेको छातीलाई शान्त बनाउँदा हुन्
आमा यो काठमाण्डौंको कोलाहल सहरमा
म पनि मलाई माया गरिरहने मेरी आमा
खोजिरहेछु, तर, फगत शून्य आकृति हात पर्छ
तर यति कुरा वादाका साथ भन्छु आमा !
संसारको कुनै कुनामा रहे पनि
भुल्न सक्ने नाम होइन तिमी मेरी आमा
आमा तिमीलाई यो स्वार्थी संसारले जसरी सम्झियोस्
तर, म तिमीमा मुन्धुम, बाइबल, कुरान, त्रिपिटक
सबै पाउँछु
मेरो आमाको सानो खुसीमा
म आफू ‘कारण’ बन्ने सौभाग्य पाउँदा
म स्वर्गको सबै सुख पाउँछु
तिम्रो हजार सपना त पूरा गर्न नसकौला आमा
तर, तिमीले देखाएको नैतिकताको सीमारेखा नघेरा
तिम्रो कोमल दिल कहिल्यै खुदाउँदिन आमा !
हो, तिम्रो आँखाको मोतीझैँ आँसु
कहिले खस्न दिन्न आमा !

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७