भारतीय विदेशमन्त्रीसँग कार्यसूची भन्दा पनि सद्भावको सन्देश थियो : प्रदीप ज्ञवाली


१९ माघ २०७४, शुक्रबार
Pradeep Gyawali

नयाँ सरकार गठनको तयारी चलिरहेको बेला भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न भारत फर्किएकी छिन् । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरिन् । यी मध्ये मुलत एमाले अध्यक्ष ओलीसँगको भेटलाई चासोका साथ हेरिएको छ । भेटमा संग्लन नेकपा (एमाले)का सचिव एंव सचिवालय सचिव प्रदीप ज्ञवालीसँग गरिएको संक्षिप्त कुराकानी :

Pradeep Gyawali

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले तपाईंहरूसँग के कुरा गर्नुभयो, भेटको उद्देश्य के रहेछ ?
पहिलो त कार्यसूचीमाथि आधारित भन्दा पनि सद्भावको सन्देश बोकेर भ्रमणमा आएको र सद्भाव भ्रमण रहेको बताउनुभयो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्तामा विशेषतः ३ कुराकोे सन्देश दिन चाहनु भयो । पहिलो संविधान कार्यान्वयनका लागि गरिएको प्रतिनिधि तथा प्रदेशसभा चुनाव शान्तिपूर्णरुपमा सफल बनाएकोमा सबै दलका नेता–कार्यकर्तालाई धन्यवाद दिनुभयो । दोस्रो नेपालको संविधान पूर्णकार्यान्वयनको बाटोमा आएको र वामगठबन्धनले सरकार गठन गर्न स्पष्ट वहुमत पाएको खुशीयाली भारत सरकारले बाँड्न चाहेको बताउनु भयो । तेस्रोमा केन्द्र सरकारमा मात्र केन्द्रित नभई सात वटै प्रदेशमा सन्तुलित र सबैको गुनासो सम्वोधन हुने गरी प्रदेश सरकार गठनको प्रक्रिया सहज रुपमा अघि बढोस् भन्ने चाहना भारतीय प्रधानमन्त्री मोदी र आफ्नो पनि चाहना भएको बताउनु भयो ।

अनि तपाईहहरुले चहिँ के भन्नुभयो त ?
विदेशमन्त्री स्वराजको अभिव्यक्ति अब बन्ने सरकारसँग मिलेर काम गर्न चाहेको भन्ने नै थियो । हामीले पनि भारतसँग नेपालको साइनो विगतमा पनि घनिष्ट रहेको जानकारी गराउँदै यसलाई अझ दरिलो र घनिष्ट बनाउन चाहेको कुरा बतायौ । यस्तै हामीले देशमा समृद्धि, विकास र स्थिरता चाहेको बताउँदै नेपालको यस लक्ष्यमा भारत सरकारको सकारात्मक सहयोग चाहन्छौं भन्यौं ।

वाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने प्रक्रिया चलिरहेका बेला यो भेटले के फाइदा पुग्ने महसुस गर्नुभएको छ ?
निश्चय नै यो भेटले नेपाल–भारतको सम्बन्धलाई नजिक बनाउन सहयोग पु¥याउने पक्का छ । भारत हाम्रो पूरानो छिमेकी हो । उसँगको सहयोग नेपालका लागि महत्वपूर्ण थियो र छ । यसैले दुबै देशबीच सन्तुलित सम्बन्ध बनाउँदै आपसी सुझबुझका साथ अगाडि बढ्न यो भेटघाटले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

नयाँ सरकार गठनको तयारी भइरहदा देउवा सरकारले लोकप्रिय भन्दै केहि आर्थिक भार पर्ने विभिन्न निर्णयहरु गरेको छ । यसलाई निरन्तरता दिनु हुन्छ कि यसलाई हटाएर जानु हुन्छ ?
हो, देउवा सरकारले लोकप्रियता खोज्ने निहुँमा देशलाई दीर्घकालीन असर पुग्ने र आर्थिक भार थेग्न नसक्ने खालका निर्णयहरु गरेको छ । यो सस्तो लोकप्रियता कमाउने काइदा मात्र हो । यसलाई अब बन्ने सरकारले पुनर्मूल्याङ्कन गरेर अघि बढ्छ । लोकप्रियताका नाममा दीर्घकालीन असर पुग्ने निर्णयहरु खारेज हुने खवस्था पनि आउन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७