मेरो सबैथोक ढल्यो

  • बैरागी काइँला

इन्द्रबहादुर राईसँग मेरो पहिलो भेट २००९ सालतिर भएको हो। त्यसबेला उहाँसँग चिनजान थिएन। म इलामको पद्मोदय हाइस्कुलमा ७ कक्षामा पढ्थेँ। उहाँ त्यसबेला सीमापारि कर्फोक विद्या मन्दिरको हेडमास्टर हुनुहुँदोरहेछ। महानन्द सापकोटाले सुरु गरेको स्कुल थियो त्यो। कहिलेकाहीँ नजिकैको स्कुलमा हेडमास्टरहरू भिजिटमा आउँदा रहेछन्। त्यसैबेला उहाँलाई पनि इलामको स्कुल हेर्न बोलाइएको रहेछ। हामी विद्यार्थीलाई लाइनमा राखिएको थियो। उहाँले दौरासुरुवाल लगाउनुभएको थियो। टोपी लगाउनुभएको थिएन। कोट फुकालेर हातमा झुन्ड्याउनुभएको थियो। होचो होचो, गोरो गोरो उहाँलाई त्यतिबेला पहिलोपटक देखेको थिएँ।

वि.सं.२०११ सालमा दार्जिलिङको सरकारी स्कुलमा नेपाली माध्यमबाट पढाइ सुरु भएपछि म पनि पढ्न गएँ। सन् १९५६ मा उहाँलाई फेरि भेटेँ। उहाँ त्यसबेला उतैको एउटा हाइस्कुलमा पढाउनु हुँदोरहेछ। त्यसबेला कुराकानी भएन। साहित्यिक हिसाबले उहाँसँग सन् १९५९ पछि मात्रै भेटघाट भयो। त्यसबेला ईश्वर बल्लभसँग भेट भइसकेको थियो। वर्षको एकपटक अन्तरमहाविद्यालय स्तरीय एउटा प्रतियोगिता आयोजना गरेका थियौं। त्यसै सिलसिलामा राईसँग भेट भयो सन् १९५९ मा। त्यसैबेला उहाँसँग कुराकानी भएको हो। गणेशबहादुर प्रसार्इंले उहाँसँग भेट गराइदिनुभएको थियो।

उहाँसँग साहित्यिक रूपमा बाक्लै भेटघाट चाहिँ तेस्रो आयाम निकाल्नु केही अघिबाट भयो। ‘तेस्रो आयाम’ पत्रिका प्रकाशित गर्नुअघि नै हामीले (ईश्वर बल्लभ र म) दुई अंक जति एउटा साहित्यक पत्रिका निकाल्यौं। त्यसमा म प्रशासक र ईश्वर बल्लभ सम्पादक हुनुहुन्थ्यो। त्यो सन् १९६१ सालको अन्त्यतिरको कुरा हो। ‘तेस्रो आयाम’ प्रकाशित भएपछि उहाँसँग बाक्लै भेट हुन थाल्यो।

गत साल उहाँकी श्रीमतीको देहान्त भयो। म दार्जिलिङ पुग्न सकिनँ। काठमाडौंमै थिएँ। झापामा भतिजलाई ‘गइदिनु है’ भनेर पठाएँ। उनी गए। पछि उहाँ अप्रेसन गर्न तिलगंगा अस्पताल आउनुभएको रहेछ। काठमाडौं आउनु भएकोबारे उहाँले केही खबर दिनुभएन। मैले पनि थाहा पाइनँ। तर, दार्जिलिङ फर्किनुभन्दा अघि ‘किन नबोलाइकन जाने’ भन्ने लाग्यो होला, फोन गर्नुभयो। छोरी र श्रीमती लिएर हतारहतार भेट्न गएँ। त्यतिबेला उहाँले अचम्मको कुरा गर्नुभयो। सायद मन दुखाएजस्तो लाग्यो मलाई। मसँग डाइरेक्ट होइन, पुलुक्क हेर्नुभो अनि मेरी छोरीपट्टि फर्केर छोरीसँग बात मारेजस्तो गरी मलाई सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘काइँला हामी त अर्कै मान्छे, अर्कैसँग भेटेर बोलेजस्तो पो हुन थालेछौ त हगि’ भनेर भन्नुभयो। मलाई अचम्म लाग्यो। त्यतिबेला मेरो मनमा चसक्क बिझ्यो। त्यतिबेला म दौडेर दार्जिलिङ गएको भए भ्याउँथे होला नि। अथवा अर्कोदिन पुग्थेँ होला नि। त्यस्तै लागिरह्यो। म नगएकाले उहाँले बडो मन दुखाउनुभएछ। उहाँसँग मेरो कहिल्यै गहन साहित्यिक कुराकानी भएन। कुनै पनि विषयमा विमर्श भएन। उहाँ र मेरो सम्बन्ध जहिल्यै पारिवारिक स्तरमा रह्यो। पत्र लेख्दा उहाँ ‘बुहारीलाई कस्तो छ रु छोरीलाई कस्तो छ ? ’ भन्नुहुन्थ्यो। मैले लेख्दा पनि ‘भाउजूलाई कस्तो छ ? दाजुलाई कस्तो छ ? ’ भन्थेँ। खालि पारिवारिक स्तरमा मात्रै हाम्रो घनिष्टता रह्यो।

बैरागी काइँला

लेखकीय हिसाबले मेरो सबै थोक ढल्यो भन्ने लागिरहेको छ आज। वैचारिक हिसाबले पनि अगुवा, नेतृत्वदायी र पारिवारिक हिसाबले पनि अभिभावक हुनुहुन्थ्यो उहाँ। उहाँको निधनपछि म आफूलाई निरीह टुहुरो जस्तो अनुभव गरिरहेको छु।

भावी पुस्तालाई उहाँको एउटै सन्देश छ। ‘तेस्रो आयाम’ पत्रिकाको पहिलो अंकमा सम्पादकीय उहाँले लेखिदिनुभयो। छोटो सात–आठ लाइनको थियो। तर त्यही बन्यो ‘तेस्रो आयाम’को वैचारिक आधार। त्यो के थियो भने सम्पूर्णता भन्ने चिज आधुनिक मानिसले हराइसके। अर्थात् हामी खण्डित भयौं। अबको लेखन भनेको सम्पूर्णता प्राप्तिको लागि हुनुपर्छ। उहाँको चुरो कुरा यही थियो। त्यही कुरालाई लिएर हामीले तेस्रो आयाम पत्रिकालाई अघि बढायौं र त्यसको वैचारिक आधार त्यसैबाट तयार भयो।

आयामेली लेखन हामीले नाम दिएको होइन। यसको आधार चाहिँ सम्पूर्णतातिर उन्मुख हुने लेखन हुनुपर्छ भन्ने हो। सम्पूर्णता भन्ने यस्तो हो जहाँ कोही पनि बाहिर परि“दैन। एकथोक मात्रै पनि बाहिर पर्‍यो भने त्यो सम्पूर्णता हुँदैन। जीवनलाई रोजेको कुरा मात्रै दिएर बुझ्न खोज्यौं भने अधुरो बुझ्छौं। साथीलाई पनि आफूलाई चाहेको जस्तो चरित्रमा मात्रै बुझ्यौं भने कम्ती बुझ्छौं। त्यसकारण उसलाई पनि पूर्णतामा र उसमा भएको सबैथोक ग्राह्य हुने गरेर बुझ्नु पर्‍यो।

आजको नेपाली समाज अनेक किसिमले विभाजित हुन थाल्यो। आफ्नै–आफ्नै सानो–सानो टापुमा बसेर पक्षधरता लिएर लेख्न थाल्यौं। यसरी पक्षधरता मात्रै गरेको लेख्दा न्यायचित हुँदैन, निष्पक्ष हुँदैन। त्यसकारण सम्पूर्णतिर लेख्नु अत्यन्तै आवश्यकता छ भन्ने उहाँको भनाइ थियो।

मलाई लाग्छ अन्त्यसम्म उहाँको यही विचार थियो। चुरो कुरा हामीले कुनै चिजलाई खण्डित गरेर होइन, एकीकृत रूपमा ग्रहण गर्न सक्ने किसिमले लेखकीय अभिव्यक्ति दिन सक्यौं भने मान्छेको हितको लागि हुन सक्छ। युवा पिँढीले यतातिर सोचिदिए राम्रो हुन्थ्यो।

नेपाली साहित्यमा एक दुई व्यक्तित्व जीवित हुनुहुन्छ, जसको निधनले नेपाली साहित्यलाई ठूलै धक्का पुग्छ। त्यसमध्ये एकजना इन्द्रबहादुर राई हुनुहुन्थ्यो। उहाँ बहुविधामा कलम चलाउने मान्छे। आख्यान, समालोचना, नाटक र निबन्धमा कलम चलाउनुभयो। नेपाली साहित्यलाई एउटा सैद्धान्तिक पद्धतिमा ढाल्ने प्रयत्न पनि उहाँले नै गर्नुभयो। उहाँको निधनले नेपाली साहित्यमा जुन क्षति पुर्‍यायो, अरूको निधनले पुर्‍याउँदैन भन्ने होइन तर, उहाँको निधनले ठूलै क्षति पुर्‍याएको छ।

( यो आलेख राजु स्याङ्तानले अन्नपूर्णका लागि कुराकानीमा आर्धारित भएर तयार पारेका हुन्)

 

 

प्रतिक्रिया दिनुहोस्