सात समुद्रपारि लोकसंगीतमा नेपाली माटो खोज्दै

– रमेश लम्साल
काठमाडौँ, २३ वैशाख ।’सात समुद्रपारि भए पनि मलाई मेरै पाखापखेरा प्रिय लाग्छन् । यहीँका भञ्ज्याङ र चौतारी सुन्दर लाग्छन् । धवलागिरि र माछापुच्छ्रेको छाया मन पर्छ’, यो भनाइ हो सर्जक नवराज पन्तको ।

चार वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा रहेर पनि नेपाली पाखा,पखेराको सपना देख्ने पन्तले सिर्जना गरेकाे ‘डाँडै फुर्के सल्लो’, ‘मायालुको शहरमा’, ‘पिरतीको खाममा’, ‘मेरो गाउँमा घर छ’ जस्ता लोकदोहोरी गीत चर्चित छन् ।  पन्त भन्छन्, ‘मैले मेरै गाउँपाखाको भाका लेखेँ, लोकगीतको नाममा छाडा संस्कृति मौलाएको बेला फरक धारबाट गीत लेख्ने जमर्को गरेँ । आज दर्शक, स्रोताले सफल बनाइदिनु भएको छ, यसैमा खुशी लाग्छ ।’

उनी मेरिल्याण्डमा बसेर सेतो धवलागिरिले पाखापखेरामा प्रकाश छरेको, माछापुच्छ्रे ले फेवातालमा डुबुल्की मारेको, लेकको चिसो पानीले तिर्खा मेटाएको तथा रोधी घरमा बसेर मौलिक नेपाली लोकभाका घन्काएको सपना देख्छन्  । उनले लेखेका गीतले यस्तै भन्छन् । नेपाली लोकसंगीतमार्फत उनले नेपाल, नेपाली संस्कृति, वेशभूषा र राष्ट्रियताका लागि हरदम कलम चलाउँदै आएका छन् ।

विसं २०४२ चैत १० गते बागलुङमा जन्मिएका पन्त घरको बार्दलीबाट देखिने धवलागिरि र माछापुच्छ्रेलार्इ नै विम्ब वनाएर लोकगीतको सिर्जना गरेको सुनाउँछन् । लोकगायक वसन्त थापा भन्छन्, ‘पन्त नयाँ विषयवस्तुलाई उठान गर्नुहुन्छ । उहाँका शब्दमा सिर्जनात्मकता छ । पुरानो विषयलाई नयाँ परिवेशअनुरुप बनाउन सक्ने सोच र क्षमता उहाँका शब्दमा पाइने हुँदा म उनका गीत गाउन प्रोत्साहित हुन्छु ।’

‘संस्कार र संस्कृति जोगाउनु हरेक नागरिकको कर्तव्य ठान्ने पन्तले आफ्नो चार वर्ष लामो अमेरिका बसाइपछि पनि स्वदेशमा रहने नेपालीले मातृभूमिप्रति लगाउन सक्ने गुनभन्दा कम योेगदान गर्नुभएको छैन’, थापा थप्छन्, “पन्तमा अदम्य साहस, इमान्दारी र निर्भीकता छ, यसलाई शब्दमा उतार्न उहाँसँग सीप छ, जोश र जाँगर पनि छ । पश्चिमा गीतसंगीतले बिगारेको नेपाली समाजलाई आफ्नो संस्कार र संस्कृतिप्रति पनि सचेत बन्दै अघि बढ्ने बोध गराएको छ ।’

हुन त कतिपयले आफ्नो कलालाई जीविकोपार्जनको माध्यम वनाएका हुन्छन् तर पन्त भन्नुहुन्छ, ‘कला प्रकृतिले दिएको अनुपम उपहार हो, यसलाई दुई छाक खान र व्यक्तिगत फाइदाका लागि मात्र प्रयोग गर्नु हुँदैन । कलाकारमा सेवाभाव, आफ्ना संस्कार तथा संस्कृतिप्रति गहिरो अध्ययन र माया रहेन भने न त कलाकारको प्रगति सम्भव छ न कला नै फस्टाउन सक्छ’, पन्त भन्छन्, ‘कोही कवि, गायक वा सङ्गीतकार बन्छु भन्दैमा त्यो सम्भव हुँदैन ।’

पन्तका कैयौँ गीत आफूले गाएको बताउँदै गायक थापा भन्छन्, ‘किन किन मलाई त उनको शब्दमा जादु छ जस्तो लाग्छ ।’

उनका  धौलागिरि हिमालको छाया कहाँ होला’ भन्ने बोलका गीतले लोकसङ्गीत क्षेत्रकै उचाइ थपिदिएको थापा बताउँछन् । लोकगायक तथा संगीत सर्जक कुलेन्द्र विक भन्छन्, ‘पन्तका सिर्जनाले नेपाली लोक पारखीको मनमस्तिष्कमा अमिट छाप छाडेका छ । उनका शब्द मौलिक छन् र नेपालीको जनजिब्रोमा सजिलै बस्न सक्छन् । विदेशमा बसेरै पनि लोकसङ्गीतप्रति ठूलो योगदान गरिरहनुभएका पन्त लोकसाहित्य बुझेका सर्जक हुन् ।’

पन्त अमेरिका पुग्नु आफ्नो बाध्यता मान्छन् । ‘मलाई देश छाडेर विदेश जाने पटक्कै मन होइन । त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएस गरेपछि केही समय अध्यापन पेशामा लागेँ । निजी क्षेत्रमा अध्यापन गर्दा पैसा पनि खासै नपाइने र घरको आर्थिक स्थिति त्यति मजबुत नभएकाले साथीको लहैलहैमा अमेरिका आउने सोच बनाएँ’, उनी भन्छन् । नेपाली खोलानाला र पाखापखेराका सुसेलीलाई शब्दमा उतार्ने क्षमता राख्ने पन्तको हालै आफ्नो ‘धौलागिरि हिमालको छाया…’ भन्नेगायक थापा र विष्णु माझीको स्वरमा प्रकाशित पछिल्लो गीतको श्रव्यदृश्य सामग्रीसमेत युट्यूबबाट सार्वजनिक भएको छ ।

अभ्यास डिजिटल रेकर्डिङमार्फत बजारमा ल्याइएको तथा थापा, ओबी रायमाझी, करिश्मा ढकाल र रीना थापाको अभिनय रहेको उक्त गीतमा प्रकाश भट्टले निर्देशन गरेका छन् । ‘म विशेष गरी अमेरिकाका विभिन्न शहरमा घुम्दा, हिँड्दा र काम गर्दा नै लोकगीतको शब्द र लय बनाउँछु’, पन्त भन्छन्,’नेपालप्रतिको अगाध माया प्रकट हुन्छ ।’ उनकाे लोक गीतसङ्गीतमा विकृति नभित्र्याउन र नेपाली माटोको सुगन्ध खोज्न सबैमा आग्रह गरे।

रासस

प्रतिक्रिया दिनुहोस्