खोइ प्रदेश फुटा’को, बहुमत जुटा’को

- रामकुमार एलन

प्रधानमन्त्री शेरबहादुर देउवाको बिर्सने बानी आमनेपालीमा सर्लक्कै सरेको छ । चाँडै बिर्सने बानीलाई अल्जाइमर्स भनिन्छ । केहीबेर अघि के भएको थियो, चट्टै बिर्सने बानी सरकारमा रहेकालाई मात्र होइन, नेपालीहरूलाई पनि छ । यसको असर पूर्वराजा ज्ञानेन्द्रमा पनि देखिएको छ । उनले लगाएका थिए भाइटीका, भनेछन्, ‘नेतृत्व लिन तयार छु ।’ प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारीको म्याद सकिएपछि उनले कहाँ जिम्मेवारी लिने भनेका हुन् । हुन त दोस्रो चरणको निर्वाचन बाँकी नै छ । तर, उनलाई नागार्जुन पठाउँदा के भनिएको थियो, के भइरहेको छ, बिर्सिएर बेलाबेला यस्तो प्रतिक्रिया दिइरहन्छन् । उनको प्रतिक्रिया अचेल गिरिजाप्रसाद कोइरालाले भन्ने गरेको ‘ग्राण्ड डिजाइन’ को पोल खोलौँ झैँ जस्तै छ । तर, चिन्ता के हो भने, अल्जाइमर्सले हामी ग्रस्त छौँ ।

हामीले जबर्जस्त बिर्सिएको एउटा कुरा हो, पाँच नम्बर प्रदेश फुटाउने आन्दोलन । पाल्पा र रूपन्देही आसपासमा चलेको त्यो आन्दोलनमा एमालेको घुसपैठ भनिए पनि कांग्रेस र माओवादीका सांसद र जिल्ला सभापतिहरूले त्यसको नेतृत्व गरेका थिए । सरकारमा माओवादीको सारथि कांग्रेस नै थियो । बुटवलमा उर्लिएको जनसागरलाई केही जन्ती पत्रकारिताका बजारु साथीहरूले जनआन्दोलनताकाको फोटो हालेर सरकार तर्साउने एमालेको प्रायोजित पत्रकारिता भनेर लेखेका स्ट्याटसहरू सायद उनीहरूले मेटाउन भ्याएका छैनन् । त्यो आन्दोलनको उभार थेग्न नसकेर सरकार एकाएक पछि हट्न बाध्य भयो । त्यसपछि त्यो मुद्दा किन हरायो ? मधेसका नाममा राजनीति गरिरहेका मोर्चाका नेताहरूले के देखे तागत र चटक्कै त्यो मुद्दा छाडेर शेरबहादुर देउवाको सरकारसँग निहुरमुन्टी न हुँदै तराईमा उपेन्द्र यादव लखेट्न छाडे र मिलेर निर्वाचनमा जाने कागज गरे ? महन्थ ठाकुर, राजेन्द्र महतोहरूले त बिर्सिएका होलान्, पहाड र तराई छुट्याएर ठूलो भाग खाने लोभमा विवाहपछि स्वास्नीको बहकाउमा छुट्टिन खोजेको जेठो छोरोको हालत भएको त्यो मुद्दा आम नेपालीले बिर्सने छैनन् ।

अर्को बिर्सिएको मुद्दा होः डा. गोविन्द पोखरेल । दुईपटक पुनर्निर्माण प्राधिकरणमा सुँड घुसार्ने अवसर दिइएका पोखरेल सिन्को नभाँची पार्टीबाट उम्मेदवार हुन गाउँ गएका छन् । उनलाई पुष्पकमल दाहालले के भनेर नियुक्त गरेका थिए, के भयो ? अरूले बिर्सिएलान्, १३ जिल्लाका भूकम्पपीडितले बिर्सने कुरै छैन । लमजुङमा माओवादीले शिक्षक मुक्तिनाथ अधिकारीलाई क्रुर ढंगले हत्या गरेर फोटो सार्वजनिक गर्दा देशभरका अधिकारीको मन रोएको दलहरूले बिर्सिए होलान्, अधिकारी बन्धुहरूले अहिले पनि बिर्सिएका छैनन् । ०६४ को निर्वाचनमा डराएर माओवादीलाई भोट हाले पनि अब डराउनेवाला छैनन् । प्युठानतिर भूकम्प नगए पनि भूकम्पपीडितका आफन्त त पक्कै होलान्, गोविन्द पोखरेललाई तिनले भोट हाल्ने बेला पक्कै सोच्नेछन् ।

तेस्रो चरणमा भएको प्रदेश नम्बर २ को निर्वाचनमा राजपाका ६ अध्यक्षमध्ये एक महन्थ ठाकुर भोट नै नहाली काठमाडौं फर्किए । केहीले लेखे, उनलाई सञ्चो थिएन । केहीले मत हाल्न लाइन बसेको लेखे । ठाकुरलाई चित्त नबुझेको कुरा के थियो ? किन उनले मत हालेनन् ? डा. सिके राउतले कोठा बाहिर मत दिनु भन्ने, स्वयं महन्थ ठाकुर नै मत नदिई लोकतन्त्रको उपहास गर्ने । अब हामी निर्वाचनमा जान्छौँ, जनताको ताजा जनमत मान्छौँ भनेर उनले गरेको कागजमा के खोट देखियो र ठाकुरले मत दिएनन् आफ्नै पार्टीलाई ? अनि तराईका जनताले किन दिन पर्ने अब उनको पार्टीलाई मत ? मधेस आन्दोलन, सहिद उत्पादन, बेरोजगारीमा रेकर्ड अनि घर बालेर खरानीको जोहो गर्ने उनको राजनीतिमा तराईका जनताले सधैँ किन साथ दिनुपर्ने ? राजपाका नेताहरूले बिर्सेका होलान्, तराईका जनताले सोच्नेछन्, गुच्चाजत्रो पार्टीको पछि लागेर बसमा ढुंगा हान्दा पछि परेको जीवन, भविष्य र पछुवा जिन्दगी ।

न्याय नपाए गोर्खा जानू भन्ने उखान जनताले बिर्सेका छैनन् । गोरखाका पृथ्वीनारायण शाहले बनाएको यो राज्यमा तमुवान र लिम्वुवानको बिउ रोप्ने पुष्पकमल दाहालका लागि थुप्रै गीत लेखेका थिए ताम्सालिङका खुशीराम पाख्रिनले । विषे नगर्चीदेखि १२ वर्षीय दिलबहादुर रम्तेलसम्मको रगत सिञ्चित दरौँदीको पानी बेइमानी हो या राजनीति । दरौँदीलाई मुटु रेट्ने रूपको करौँतीसँग तुलना गरेर गीत लेख्नेहरू पनि तब छक्क परे, जब डाक्टर बाबुराम भट्टराई गोरखाबाट उठ्न हुन्न भनेर पुष्पकमल दाहालका निवर्तमान छापामारहरूले धावा बोले । बाबुराम भट्टराईलाई माओवादीमा लखेट्ने काम पुष्पकमलले मात्र होइन, भूगोलमै भइरहेको रहेछ भन्ने थाहा पाए जनताले । गोरखाले यसपटक बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई जिताउँदा नयाँ नेपाल बनाउने काममा गोरखा मनकामना सिन्धुलीतिर सर्ने थिएन । त्यहीँ रहन्थ्यो । तर उन्मादको घुम ओढेर ढुंगा र शालिग्राम नचिन्ने कार्यकर्ता पाल्नु राजनीतिमा कति घातक हुन्छ, एक सातामै बाबुराम वाम गठबन्धन छाड्न बाध्य पारिए । चुनाव चिह्न मात्र बाबुरामको ‘देब्रे आँखा’ हो, माओवादीको देब्रे व्यवहार मरेको रहेनछ । कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा बाबुराम र पुष्पकमल एक भएको बिर्सेछन् विष नगर्चीको गाउँका २४ क्यारेटका माओवादीहरूले । दरौँदीका सबै ढुंगा शालिग्राम हुँदैनन्, ढुंगा र शालिग्राम चिन्न नसक्ने कार्यकर्ता पुष्पकमलका लागि पछिसम्म भारी पर्नेछन् ।

केही वाम तालमेलका कुरा गरौँ । लहलह झुलेको धानबारीमा बालुवा झारेर छिमेकीको पीपलको हाँगो सार्ने हतारो यसपटक दुई वाम पार्टीकै उपल्लो तहका नेताहरूमा देखियो । पार्टीको भविष्य भनेर कार्यकर्ताले चिनेका नेताहरूलाई सकभर टिकट नपार्न उनीहरूले गरेको कसरत चानचुने थिएन । यसपटक सिंगो वामएकताको अभ्यास भइरहेकाले विमति नजनाउने कार्यकर्ताहरू महान थिए । तर छिमेकीको श्रीमतीले एक-दुईपटक आँखा झिम्काइदिएको भरमा घरकी श्रीमतीलाई पेटमा लात हान्नु मनासिव थिएन ।

लात सहेर कार्यकर्ताले साथ दिएका छन् । यो असन्तुष्टिको आगो फैलियो भने थुप्रै पार्टीका शालिग्रामहरू दरौँदीका ढुंगा झैँ हुनेछन् । निर्वाचन हुन ३२ दिन बाँकी रहँदा नेताहरूले बुझून् । दीपक मनाङेहरूलाई टिकट नदिइएकामा खुशी भएका कार्यकर्ताको उत्साह र हौसलामा अब फेरि नेताले लात हाने भने क्षति कांग्रेसलाई होइन, आफैँलाई हुनेमा सन्देह छैन ।  कार्यकर्ताको भावना नबुझेर बकबक मात्र गरियो भने दलहरूको राजनीति उही प्रदेश फुटाउने र संविधान संशोधनमा बहुमत जुटाउने कथाजस्तै हुनेछ । भनिरहने छन् जनताले, ‘खोइ प्रदेश फुटा’को, बहुमत जुटा’को ? चाल पाइयोे खुट्टी देखेरै ।’

-जनआस्था साप्ताहिकबाट

यसमा तपाईको प्रतिक्रिया