नेपाली क्रिकेट टोली मंगलबार हङकङ जाने
काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली मंगलबार हङकङ जाने भएको छ ।टोलीलाई जितको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसद राखेपका सदस्यसचिब केशव कुमार विष्टले विदाई गरेका थिए ।
सदस्यसचिव विष्टले नेपाली टिमलाई जितको शुभकामना व्यक्त गरे । नेपालले छैठौ चरणको खेल अन्तर्गत हङकङसँग आगामी शुक्रबार र आइतबार प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुदै ८ अंक जोडेको छ ।
यो पटक नेपाली टोलीमा दुई नयाँ अनुहार सुशील कँडेल र ललित भण्डारी आएका छन् । ओपनिङमा ज्ञानेन्द्र मल्ल र सागर पुन छन् भने शरद भेषावकर, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सन्दिप लामिछाने टिममा छ ।
भर्खर टिममा स्थान बनाएका ललितको बलिङ पनि राम्रो छ । प्रशिक्षक जगत टमाटाले राम्रो क्रिकेट खेल्ने र जितेर आउने आफूहरुको लक्ष्य रहेको बताए । कप्तान पारस र प्रशिक्षक टमाटा दुबै यो पटक तयारी राम्रो भएको बताउँछन् ।