मन्त्री पण्डितद्वारा सरकारी कार्यालयमा अनुगमन, डिल्लीबजार मालपोतमा ९ जना छड्केमा
काठमाडौँ, ९ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनसम्पर्क हुने कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती गरेको गुनासो आउन थालेपछि आइतबार मालपोत कार्यालय डिल्लीबजारको छड्के गरेका छन् ।
मन्त्री पण्डित, संघीय मामिला मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ, मन्त्री पण्डितका स्वकीय सचिव वासिम आलम सम्मिलित टोली बिहान १०.२० बजे मालपोत कार्यालय डिल्लीबजारमा पुग्दा ९ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री छड्केमा पुगिसकेपछि २ जना कर्मचारी आइपुगेका थिए ।
कतिपय कर्मचारी लामो समयसम्म स्वीकृति नै नलिई बिदामा बसेको समेत पाइएको थियो । पत्रकारसहितको टोली लिएर अनुगमनमा निस्किएका मज्त्री पण्डितले कार्यालयमा समयमा अनुपस्थित हुने कर्मचारीलाई विभागीय कारबाही गर्न निर्देशन दिएका थिए ।
उनले जनताको काम नगर्नेलाई कारबाही हुने बताउँदै सामान्य प्रशासन मन्त्रालयको सिसी क्यामराको आँखाले जुनसुकै कार्यालयको निगरानी गरिरहे समेत बताए । ‘जनताको काममा ढिलासुस्ती नगर्नुहोला । अनुगमन गर्नुको उद्देश्य जनसम्पर्क हुने कार्यालयमा सेवाप्रवाह चुस्तदुरुस्त गर्ने हो’, उनले भने ।
अनुगमनका क्रममा डिल्लीबजार मालपोत कार्यालयका कामु प्रमुख केशव न्यौपानेले कर्मचारी अपुग भएको गुनासो गरे । यस्तै मन्त्री पण्डितलाई सर्भर बिग्रिरहने भएकाले अनलाइन सिस्टमले काम नगर्दा ढिलासुस्ती हुने गरेको बताएका थिए ।
कार्यालयका कायम मुकायम प्रमुख केशवप्रसाद न्यौपानेलाई मन्त्री पण्डितले कार्यालयको कामकाज सन्तोषजनक नदेखिएका कार्यालय सञ्चालनको जिम्मेवारी समेत पुरा नभएको बताउँदै आवश्यक व्यवस्थापन र कारबाहीका लागि सम्बन्धित मन्त्रालय र विभागमा पत्राचार गर्न निर्देशन दिए ।
उनले अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दे कार्यालयको कामकाज सन्तोषजनक नदेखिएको बताए । उनले अनुपस्थित कर्मचारीको विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको बताए ।
‘जनगुनासो आएपछि, एकपल्ट चेकमा जाऊ न त भनेर छड्केमा आऔँ, आइसकेपछि समय मै कार्यालय सुचारु नभएको पाइयो, आवश्यक निर्देशन पनि दिएको छु, थप निर्देशन पनि दिनेछु ।’ उनले भने,‘राष्ट्रसेवकलाई सहज सरलरुपमा काम गराउन र नगरेका लाई विभागीय कारबाही पनि व्यवस्था पनि गर्छु र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँछु ।’
मन्त्री पण्डितले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सबै जनतालाई पत्रकारहरूलाई समेत आग्रह गरे ।