सलमान खान र ज्याकलिन फर्नान्डेज नेपाल आउने
काठमाडौं: बलिउडका चर्चित नायक सलमान खान, नायिका ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका कलाकार नेपाल आउने भएका छन् ।
बलिउडका कलाकारहरलाई ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो । फागुन २६ गते शनिवार टुडिखेलमा हुने ‘दबंग द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागी हुने ओडीसीले जानकारी दिए ।
ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो । यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति माग्दै निवेदन दिएको छ ।
सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटेल, सुरक्षा लगायतका विषयबारे बुझ्न केही सातापछि आउने उनले बताए । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ । कन्सर्टको लागत र कलाकारहरूको पारिश्रमिकबारे चाहिँ दुईपक्षिय सम्झौता अनुसार खुलाउन नमिल्ने उनले बताए ।
ओडीसी ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौँमा उतारेर हालसम्मकै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम गर्ने कम्पनी हो ।