सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्


२५ माघ २०७५, शुक्रबार
7 1

अमरगढी, २५ माघ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

7 1

सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नु परेको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताए । सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको गेटा र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् भने अन्य आठ विमानस्थल बन्द छन् ।

बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको डोटीको दीपायल, अछामको साँफेबगर, कमलबजार, बझाङको चैनपुर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल बन्द अवस्थामा छन् । सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाईसेवा नियमित हुन सकेकोे छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि नेपाल वायुसेवा निगमले सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज नउडाएको जनाइएको छ ।

सुदूरपश्चिमका विभिन्न विमानस्थल सञ्चालनका लागि तत्कालीन मन्त्री लोकेन्द्र विष्टमगरले परीक्षण उडान शुरु गरे पनि हालसम्म उडान हुनसकेका छैनन् । सुदूरपश्चिमको क्षेत्रीय विमानस्थल सञ्चालन गर्न तत्कालीन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेले पहल गरेको भए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

सुदूरपश्चिममा सहज हवाई यातायात सुविधा नहुँदा पर्यटन क्षेत्रको विकास हुन नसकेको पर्यटन पत्रकार संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अमर भट्टराईले बताए । उनले भने, ‘नेपालकै सुन्दर ठाउँ खप्तडमा हालसम्म न्यून मात्रामा विदेशी पर्यटक आएका छन्, जबसम्म बन्द विमानस्थल सञ्चालन हुँदैनन्, तबसम्म पर्यटन विकास हुन सक्दैन ।’

विमानस्थलमा जहाज नउड्दा आपतकालीन बिरामी तथा अन्यत्र लैजानुपर्ने गर्भवती महिलाले ज्यान गुमाउनु पर्ने अवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७