विश्वकप क्रिकेट : बंगलादेशसँग दक्षिण अफ्रिका पराजित


२० जेष्ठ २०७६, सोमबार
bangala

काठमाडौं, २० जेठ । विश्वकप क्रिकेटमा बंगलादेशले विजयी शुरुवात गरेको छ । लण्डनमा भएको खेलमा बंगलादेशले बलियो मानिएको दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो ।

३३१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धा्रित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०९ रन मात्रै बनाउन सफल भयो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । उनले ५३ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५–४५ रन बनाए । रसिइ भान डेर डुसेनले ४१ रन बनाउँदा डेभिड मिलर ३८ रनमा आउट भए । दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले आफ्नो टिमलाई जिततर्फ लान सकेनन् ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । त्यस्तै मोहम्मद सइफुदिनले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दक्षिण अफ्रिकालाई ३३१ रनको विशाल लक्ष्य दिएको थियो । बंगलादेशले पूरै ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो ।

बंगलादेशका लागि मुश्फिक्युर रहिमले ७८ रन बनाए । त्यस्तै, शकिब अल हसनले ७५ रन बनाएका थिए । अविजित रहेका मोहमुदुल्लाहले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए । ओपनर सौम्या सरकारले ४२ रन बनाउँदा मोसादक हुसेनले २६ र मोहम्मद मिथुनले २१ रन बनाए ।

बंगलादेशले पहिलो विकेट ६० रन हुँदा गुमाएको थियो । तेस्रो विकेटका लागि बंगलादेशका मुश्फिक्युर रहिम र शकिब अल हसनले १४२ रनको साझेदारी गरे । बलिङतर्फ इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २–२ विकेट लिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७