कार्यक्रमस्थलबाटै ‘लखेटिए’ मन्त्री पण्डित, अङ्गरक्षकले मुस्किलले जोगाए (भिडियोसहित)


२७ असार २०७६, शुक्रबार
lalbabu pandit

काठमाडौं, २७ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कार्यक्रमस्थलबाटै ‘लखेटिएका’ छन् ।

मन्त्री पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलबाट चर्को नाराबाजी लगाउँदै लखेटेका हुन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् ।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए । भित्र बैठक चलिरहेका बेला बाहिर केही युवाहरु कालोझण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए ।

 

लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गरलगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर नाराबाजी लगाउन थालेपछि मन्त्री पण्डित कार्यक्रमस्थल छोड्न वाध्य भएका थिए ।

बैठक समेत भाँडिएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि अङ्गरक्षकले मन्त्री पण्डितलाई भीडबाट मुस्किलले जोगाएर गाडी चढाई मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । मन्त्रीमाथि नाराबाजी भएपछि बैठक स्थगित भएको आयोजकले बताएका छन् ।

सरकारले लोकसेवामार्फत स्थानीय तहका लागि खुलाएको नौं हजार १६१ विज्ञापनका समावेशी नभएको भन्दै आदिवासी जनजाति, दलित, महिला र पिछडिएका समुदायले असन्तुष्टि जनाउँदै आएका थिए ।

यता मन्त्री पण्डितले भने ती समुदायले विज्ञापन रोकी पुनः विज्ञापन हुनुपर्ने मागलाई वेवास्ता गर्दै लोकसेवाको विज्ञापन कानूनसम्मत नै रहेको बताउँदै आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले समेत लोकसेवाको विज्ञापन संविधान विपरीत भएको बताउँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७