गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की, सुरक्षाका लागि विशेष दस्ता खटाइयो


१३ श्रावण २०७६, सोमबार
udit narayan jha

मुम्बई, १३ साउन । बलिउडमा बस्दै आएको नेपालका गायक उदितनारायण झालाई ज्यान मार्ने धम्की आएको छ ।

अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि मुम्बई पुलिसले उनको सुरक्षामा विशेष दस्ता परिचालन गरेको छ । दुई हप्ताअघि नै उनले प्रहरीमा आफूलाई ज्यान मार्ने धम्की आएको उजुरी गरेका छन् ।

पछिल्लो एक महिनादेखि निरन्तर उनलाई एक अपरिचित व्यक्तिले फोनमार्फत धम्की दिइरहेको जनाइएको छ । पुलिसका अनुसार अपरिचित व्यक्तिले अहिलेसम्म ज्यान मार्ने धम्की बाहेक रकम लेनदेनको कुरा भने गरेको छैन ।

भारतीय पुलिसले अहिले धम्की दिने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । फोन नम्बर नेपाल सीमावर्ती भारतको बिहारको भएको पाइएको छ । पटक पटक फोन नम्बर परिवर्तन गरेर उक्त व्यक्तिले धम्की दिइरहेको छ । पुलिसले चोरीको मोबाइलबाट धम्की आएको जनाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार मुम्बई पुलिस घटनाको अनुसन्धानका लागि बिहार आउने तयारी गरेको छ । नेपाली मुलका उदित मुम्बईको अंधेरी वेष्टमा बसोबास गर्छन् । भारतीय सुरक्षाकर्मीले अहिले उदितनारायणको घर आसपासको क्षेत्रमा समेत सुरक्षा दिइरहेका छन् ।

सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ । उदितको घरआसपास आउने व्यक्तिमा पनि निगरानी राख्न थालिएको छ । धम्की दिने व्यक्तिले आफ्नो नाम लक्ष्मण भनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सप्तरीका झा काठमाडौंमा लामो समयसम्म काम गरेर बलिउड गएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७