फेसबुक चलाउन म्यानेजर राख्छन् अनुप


२८ भाद्र २०७६, शनिबार
Purano Bullet

काठमाडौं, २८ भदौं । कुनै समय भिलेन भनेपछि अलिकति डरलाग्दो, तर्सिने खालको, बिग्रेको अनुहार भएको सोचिन्थ्यो । तर, जब नेपाली फिल्ममा अभिनेता अनुपविक्रम शाहीको प्रवेश भयो तबदेखि भिलेनको परिभाषा नै बदलिएको छ ।

उनले भिलेनको भूमिका गर्ने कलाकार पनि हिरोभन्दा ह्यान्डसम हुन्छन् भन्ने नयाँ मानक स्थापित गरेका छन् । अहिले नेपाली फिल्ममा ह्यान्डसम हिरोभन्दा ह्यान्डसम भिलेनको प्रवेश बढ्दो छ ।

अभिनेता अनुपले फिल्ममा भिलेन र हिरो दुबैखाले भूमिका निर्वाहा गरेका छन् । ‘पुरानो बुलेट’, ‘वीर विक्रम’, ‘वीरांगना’, ‘जाइरा’, ‘कप्स’ लगायतका फिल्ममा उनले हिरो अर्थात् सकारात्मक भूमिका निभाए ।

’कृ’, ’रानी’, ’जय शम्भु’, ’किंग’ लगायतका फिल्ममा उनी भिलेनको भूमिकामा प्रस्तुत भएका थिए । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘पासवर्ड’ मा पनि उनी खतरनाक भिलेनको भूमिकामा देखिएका छन् ।

तर, उनलाई हिरोको भूमिकामा दर्शकले खासै रुचाइएको पाइँदैन । भिलेनको भूमिकामा भने उनको कामको निकै प्रशंसा हुने गरेको छ । तात्तातो उदाहरण फिल्म ‘कृ’ हो । यसमा उनी अभिनेता अनमोल केसीमाथि नै भारी परेका थिए ।

पर्दामा अत्याचारीको भूमिकामा राम्रो तारिफ बटुल्ने उनको अहिले नेपाली फिल्ममा लोभलाग्दो डिमान्ड छ, नेगेटिभ रोलमा । त्यसैले पारिश्रमिक पनि चर्को बुझ्छन्, उनी । एक फिल्मको ७ देखि ८ लाखसम्म !

तर, उनको एउटा कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जालमा निकै एक्टिभ रहने उनले फेसबुक, ट्वीटर, इन्स्टाग्राम र इमेल चलाउन म्यानेजर राखेका छन् । यो कुनै मनगणन्ते कुरा होइन । अनुप स्वयंले यसको खुलासा गरेका हुन् । बिहीबार राजधानीमा फिल्म ‘पासवर्ड’ को प्रिमियर राखिएको थियो, जहाँ बलिउड अभिनेत्री सन्नी लियोनी उपस्थिति भएकी थिइन् । अनुप पनि फेसनेबल लुकमा ठाँटिएर पुगेका थिए ।

सन्नी प्रिमियरमा उपस्थिति हुनुभन्दा केही समय अगाडि आकर्षक रुपमा सजाइएको स्टेजमा उद्घोषिकाले फिल्मका कलाकारसँग केही समय भलाकुसारी गरिन् । स्टेजमा फिल्मका कलाकारहरु अनुपविक्रम शाही, विक्रम जोशी विक्की, परि राना, रविन्द्र झा र निर्देशक सम्राट बस्नेत थिए । उद्घोषिकाले कलाकार र निर्देशकलाई फिल्मको थिमअनुसार आफ्नो फेसबुक र इमेलको पासवर्ड खुलाउन आग्रह गरिन् ।

तर, कसैले आफूले चलाउने सामाजिक सञ्जालको पासवर्ड सार्वजनिक गर्न चाहेनन् । सबैले पासवर्ड गोप्य नै राख्नुपर्ने बताए । तर, अनुपको जवाफ अनौठो थियो । उनले फेसबुक, इमेल, इन्स्टाग्राम र ट्वीटर आफूले नचलाउने र त्यसका लागि म्यानेजर राखेको बताए । उनको यो खुलासाले प्रिमियरमा उपस्थित धेरैलाई रिंगटै लाग्यो । धन्न स्टेजमा सन्नी थिइनन्, नत्र उनले नेपाली कलाकारको प्रगति देखेर बलिउड नै छाड्ने थिइन् !

अनुपले फिल्मी करिअर शुरु गरेको करीब एक दशक भयो । तर, आजसम्म उनले आफ्नै काँधमा बोकेर कुनै फिल्म सफल बनाउन सकेका छैनन् । हिरो होस् वा भिलेन, उनका सबै फिल्मले निर्माता डुबाएका छन् ।

भलै, उनको डिमान्डमा त्यसले असर गरेको छैन । ‘फ्लप हिरो’ को ट्याग बोकेर हिंडिरहेका उनले फेसबुक चलाउन म्यानेजर राख्न थालेपछि अहिलेका चल्तीका अभिनेता अनमोल केसीले वरिपरि बडिगार्ड लिएर हिँड्नु के आश्चर्यको कुरा भयो र ?

सम्भवतः नेपालमा कुनै सेलिब्रेटीले सामाजिक सञ्जाल चलाउनकै खातिर म्यानेजर राखेका छैनन् । कामको सहजताका लागि भने केहीले पर्सनल म्यानेजर राखेका छन्, त्यो पनि चल्तीका सीमित कलाकारले मात्र ।

तर, म्यानेजर नै राखे पनि सोसल नेटवर्किङ साइट्स भने आफैं चलाउँछन् । अनुपलाई भने कामको व्यस्तताले फेसबुक चलाउन पनि म्यानेजर राख्नुपर्ने अवस्था आएछ । नेपाली कलाकारको प्रगति योभन्दा ठूलो अरु केही हुन सक्ला र ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७