बाबुरामले राजनीति छाडेर धार्मिक मण्डली खोले हुन्छ


प्रकाशित मिति : August 18, 2017

उपेन्द्र यादव नेतृत्व सङ्घीय समाजवादी फोरम नेपाले पार्टीले देशलाई नाकाबन्दी लगाउन भूमिका खेलेको थियो । त्यो अपराध गरे बापत माफी मागेको छैन । उपेन्द्र यादवहरु साम्प्रदायिकता फैलाउँदै हिँडेका छन् । यस्तो पार्टीसँग नयाँ शक्तिको एकीकरण हुनु लज्जास्पद हो । बाबुरामजीले सिके राउतजस्ता विखण्डनकारीसँग पनि एकीकरण गर्न म असम्भव देख्दिन । उहाँ अहिले जुन राजनीतिक बाटोमा हिँड्दै हुनुहुन्छ, सिके राउतसँग उहाँको राजनीतिक भेट नहोला भन्न सकिन्न । यही कारण म चिन्ता व्यक्त गरिरहेको छु । नयाँ शक्तिजस्तो लोकतान्त्रिक आधारमा खुलेको पार्टीले रहस्यमय राजनीति गर्न हुँदैन ।

नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय परिषद् बैठकमा मलाई आफ्नो विचार तथा फरक मत राख्न दिइएन । म नयाँ शक्तिको संस्थापक पनि हो । हामीले तानाशाही पार्टी खोलेका होइनौं, लोकतान्त्रिक पार्टी खोलेका हौँ । तर पार्टी नेतृत्वले लोकतान्त्रिक पार्टीले अपनाउनुपर्ने पद्धति अपनाएन । केन्द्रीय परिषद् बैठकमा धेरै साथीहरूले आफ्नो विचार राख्नुभयो । पार्टी संयोजक डा. बाबुराम भट्टराईले पनि आफ्ना विचार राख्नुभयो । बैठकमा पेस गर्न मैले आफ्नो फरक मत विधिसम्मत तरिकाले दर्ता गरेको थिएँ तर त्यस उपर कुनै छलफल हुन दिइएन । मलाई बोल्न समय पनि दिइएन । फरक विचार राख्नेलाई ट्विटरमा समेत ब्लक गर्ने बाबुरामजीले पार्टीभित्र फरक मत राख्न नदिनु मलाई खासै अस्वाभाविक चाहिँ लागेको छैन । उहाँले प्रस्टसँग यो सन्देश दिनुभएको छ– नयाँ शक्ति पार्टी मेरो प्राइभेट लिमिटेड हो, यसमा मेरो भजनमण्डली बाहेक अरूलाई बस्ने अधिकार छैन ।

एउटा लोकतान्त्रिक पार्टीमा सबैको एउटै विचार हुनुपर्ने र पार्टी नेतृत्वको विचारमा सहमत हुनैपर्ने, नेतृत्वको विचारलाई आँखा चिम्म गरेर समर्थन गर्नुपर्ने मान्यता स्वीकार्न सकिँदैन । नेतृत्वको प्रशंसा गर्नैपर्ने, नेतृत्वको देवत्वकरण गर्नपर्ने, नेतृत्वसँग अलिकति पनि असहमत हुन नपाइने, नेतृत्वको भजनकीर्तन मात्र गर्न पर्ने प्रवृत्ति एक्काइसौं शताब्दीको एक लोकतान्त्रिक पार्टीका लागि सुहाउँदो हुनै सक्दैन । भूमिगत कालमा प्रचण्डपथ स्थापना गरे जसरी नयाँ शक्तिमा बाबुराम पथ स्थापना गर्न खोजिएको छ । बाबुरामले आफ्नो देवत्वकरण गर्न खोजिरहनुभएको छ । बाबुरामजीले माओवादीमा फरक मत राख्नुभएको होइन र ? माओवादीमा उहाँले फरक मत राख्न पाउनुभयो तर आफ्नै नेतृत्वको नयाँ शक्तिमा फरक मत राख्न दिनुभएन ।

बाबुरामजी केही वर्ष अघिसम्म असाध्यै लोकप्रिय हुनुहुन्थ्यो । अहिले स्थिति उल्टो छ । जनता फेरिएका हुन् कि बाबुरामजी ? वास्तवमा जनता उही हुन्, बाबुरामजी फेरिनुभएको हो । जसले राम्रो काम गर्छ, सही विचार र बाटो लिन्छ उसको प्रशंसा जनताले स्वतः गर्छ । मेरो प्रशंसा गरिदिनुपर्यो भनेर पार्टीमा उर्दी जारी गरिरहन पर्दैन । उहाँले नेपाली जनताको भर पर्न छाडेर अरूकै भर पर्न थालेको प्रस्टै देखिन्छ ।

भजन कीर्तन र प्रशंसा खोज्न चाहने मानिसका लागि राजनीतिक पार्टी उपयुक्त थलो हुन सक्दैन, यस्तो प्रवृत्तिको व्यक्तिले धार्मिक समूह खोलेर आफू त्यसको अगुवा बन्नुपर्छ, अनि मात्र प्रशंसा र भजन कीर्तन पाउन सकिन्छ । प्रशंसा र वाहवाही मात्र चाहिएको हो भने बाबुरामजीले पार्टी र राजनीति त्यागेर कुनै धार्मिक मण्डली खोल्नुपर्याे । जीवन्त राजनीतिक दलमा प्रशंसा मात्र खोजेर हुँदैन, आलोचना र फरक मत पनि सुन्न सक्नुपर्छ । फरक मत राख्नेलाई शत्रुको जस्तो व्यवहार गर्ने जनयुद्धकालीन चरित्र बाबुरामजी र उहाँको टिममा रहेका पूर्व माओवादी साथीहरूले त्याग्न सक्नुभएन । उहाँहरू माओवाद त्यागेको भन्नुहुन्छ तर त्योभन्दा हिंसात्मक मानसिकता र रणनीतिक पथमा हुनुहुन्छ ।

बाबुरामजीहरुले हिजो फरक मत राख्ने धेरैको गला रेट्नुभयो, धेरैलाई मार्नुभयो । फरक मत राख्ने धेरैको अंगभंग गर्नुभयो । अब उहाँहरूले त्यो कार्यशैली अपनाउन सम्भव देख्दिन तर प्रवृत्ति भने त्यही छ । आफै पार्टी नेतृत्व भएर पनि उहाँ गुट बनाउनुहुन्छ । मेरो विरुद्धमा अहिले ठाउँठाउँमा भेला गरिरहनुभएको छ । फरक विचार राख्नेको वैचारिक प्रतिवाद गर्न सक्नुपर्छ । आफूले लिएको विचार ठिक हो र मेरो विचार वेठिक हो भने उहाँले सार्वजनिक रूपमा तर्क राख्नु सक्नुपर्छ । कालो कोठामा बैठक गरेर षडयन्त्रकारी राजनीति गर्ने प्रवृत्ति बाबुरामजी र उहाँको टिमले त्याग्नुपर्छ, नत्र नयाँ शक्ति बन्नेवाला छैन । पार्टीको नाममा प्राइभेट लिमिटेड चलाएर अब हुँदैन । उहाँले पुरै प्राइभेट लिमिटेड शैलीमा पार्टी चलाउनुभयो । यसबाट नेपाली जनताले विगतमा उहाँलाई गरेको विश्वासमा ठुलो घात भएको छ ।

बाबुरामजीले समृद्धिको नारा दिएर नयाँ शक्ति गठनको अगुवाई गर्नुभयो । स्वतन्त्र मानिसहरू धेरै भेला गर्नुभयो । तर, उनीहरूलाई लगेर साम्प्रदायिक तत्वहरुको पाउमा चढाइदिनुभयो । उहाँले धेरै मानिसलाई भारतीय गोटीमा परिणत गर्न खोज्नुभयो । उहाँले ठाडै राजनीतिक बेइमानी गर्नुभयो । एउटा प्रयोजनका लागि पार्टी खोल्ने, पार्टी नेतृत्व समाल्ने अनि साम्प्रदायिकतावादी, भाडभैलोवादी, अस्थिरतावादी बाटोमा पार्टीलाई लैजानुभयो । विगतमा जनयुद्ध गरेको माओवादीले भन्दा खतरनाक बाटोमा पार्टीलाई लैजानुभयो । बाबुरामजीले मुखले मात्र नयाँ शक्ति भन्नुभएको रहेछ, व्यवहारमा चाहिँ माओवादीभन्दा डरलाग्दो शक्ति बनाउने उद्देश्य देखिन्छ । अब बाबुरामजीसँग सच्चिनु बाहेक अर्काे उपाय छैन, सच्चिनुहुन्न भने नेपाली धरतीमा उहाँको राजनीति टिक्न सक्दैन । नयाँ शक्ति पार्टी स्थापनाको अवधारणा हेरौं, अहिले बाबुरामजीको गतिविधि र अभिव्यक्ति हेरौं, तुलना गरेर हेर्दा हदै दर्जाको राजनीतिक बेइमानी देखिन्छ ।

उहाँले तराईको शक्तिसँग एकीकरण गर्न चाहेकै हो भने उपेन्द्र यादवको पार्टी उपयुक्त हुन सक्दैन भनेर पार्टीभित्र सबैले भनिरहेका छन् । तराईमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि छ, यो पार्टीले हिमाल पहाड तराई जोड्ने कुरा गरिरहेको छ, जातीय साम्प्रदायिक कुरा गर्दैन । बरु त्यस्तो पार्टीसँग एकीकरण गर्न खोजेको भए अर्कै अर्थ लाग्थ्यो, त्यसको प्रभाव नै फरक हुन्थ्यो ।

नयाँ शक्तिमा सक्षम मानिस धेरै छन् । एकसेएक योगदान गरेका कार्यकर्ता छन् । तर, उहाँले आफ्नो गुट बाहेक अरूलाई अवसर दिनुहुन्न । भजन कीर्तन गर्ने र आफ्नो प्रशंसा गर्नेलाई मात्र उहाँले चिन्नुहुन्छ । आफ्नो प्रशंसा गर्नेलाई उहाँ रातारात केन्द्रीय परिषद् सदस्य बनाउनुहुन्छ, केन्द्रीय समितिमा लैजानुहुन्छ । राजनीतिमा दुख पाएका कार्यकर्ताहरूलाई उहाँले मान्छे गन्नुहुन्न तर पैसावाल मानिस देख्नुभयो भने आज पार्टी प्रवेश गराएर आजै केन्द्रीय समितिमा लैजानुहुन्छ । एक ढङ्गले भन्ने हो भने उहाँले नयाँ शक्तिको पद लिलाम गरिरहनुभएको छ । यो प्रवृत्ति जिल्लाजिल्लामा पनि फैलिएको छ, खासगरी पूर्व माओवादी साथीहरू यस्तो काममा लिप्त हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्