जे जिम्मेवारी दिए पनि उदाहरणीय काम गरेर देखाई दिन्छु : लालबाबु पण्डित


प्रकाशित मिति : December 26, 2017

लालबाबु पण्डित, नेपाली राजनीतिको चर्चित र लोकप्रिय नाम । मजदुर पृष्ठभूमिबाट राजनीति शुरु गरेर सिहंदरबार परिवर्तन गर्नसम्म पुगेका पण्डित नेकपा एमालेका पोलिटव्यूरो सदस्य छन् । सामान्य प्रशासनमन्त्री बनेको बेलाका भ्रष्टाचारको विरोध, डिभी र पीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने कामबाट उनी चर्तित भए । उनी मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि अझ चर्चामा छन् । उनले मोरङ क्षेत्र नम्बर–६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कोइराला विरासतका चौथों पुस्ताका नेता शेखर कोइरालालाई हराए । वाम गठबन्धनको असुरक्षित मानिएको क्षेत्रमा उनले आफ्नो जीत सुनिश्चित गरे । जीतपछि के भन्छन् त लालबाबु ? नयाँ पेजले गरेको कुराकानी :-

जब तपाईलाई मोरङ–६ को उम्मेद्वार बनाइयो, चुनाव हारिन्छ जस्तो लागेन ?
यो क्षेत्र चुनौतीपूर्ण नै थियो । यसलाई पार लगाएर मैले चुनाव जितें । कतिपय क्षेत्र सुरक्षित भनिए पनि परिणामले असुरक्षित नै भए । समय अनुसार जनताको विश्वास फरक पर्दोरहेछ । सधैं एकै ठाउँ विश्वास रहँदैन ।

कांग्रेसको बलियो क्षेत्र खासगरी कोइराला परिवारको विरासत बोकेको उम्मेद्वारसँग पार्टीले चुनाव लड्न पठाएर अप्ठ्यारो पार्‍याे जस्तो लागेन ?
म चुनौतीलाई सामाना गरे आएको मान्छे हुँ । पहिले म मोरङको क्षेत्र नम्बर–३ बाट उठ्थे । पटक–पटक जिते । त्यहाँ पनि चुनौती थियो । यो क्षेत्रबाट पनि चुनौतीलाई सामना गरेर नै आएको हुँ । नेतृत्वलाई रिझाएर सुरक्षित ठाउँ खोज्ने पनि थिएँ । तर, मलाई जुनसुकै क्षेत्रमा गएर चुनाव लड्न सक्छु भन्ने हिम्मत थियो । शुरुमा मैले काठमाण्डौंबाटै चुनाव लडेर नयाँ सन्देश दिउँ कि भन्ने लागेको थियो । तर, मैले काठमाण्डौं भन्दा असहज स्थितिको विराटनगर मुलबजार भएको क्षेत्रबाट चुनाव जितें । कठिन परिस्थितिमा पनि सहजरुपमा चुनाव जितेर आएँ ।

जनतालाई के भनेर भोट माग्नु भयो ?
पार्टीको केन्द्रीय घोषण–पत्रसँगै मेरो पनि छुट्टै एजेण्डाहरु थिए । विराटनगर महानगरपालिका कागजमा मात्र महानगर छ । तर, वास्तविक रुपमा महानगर भएको छैन । विराटनगरलाई वृहत्त विराटनगर बनाई महानगरपालिकाको सुविधा पाउने गरी व्यवस्थापन गर्ने, बाइपास रोड निर्माण गर्ने, क्षेत्र नम्बर–६ सँगै जोडिएको बाँकी रहेको रिङरोडको काम पूरा गर्ने भनेको छु । विराटनगर बाढीबाट प्रभावित हुने क्षेत्र हो । बाढीबाट जोगिन रिङरोडको उचाई उठाई दिएर पक्की गरेपछि सडक र बाढीको जोखिम दुबै कम हुन्छ ।

यस्तै सुकुम्बावासी समस्याका समाधानका लागि लाग्ने, गरीबहरुलाई जनता आवास कार्यक्रम ल्याउने, भौतिक संरचनाहरु तयार भएको पूर्वाञ्चल विश्वविद्यालयमा पढाई छैन । यसलाई व्यवस्थापन गर्ने, नदी नियन्त्रण गर्ने, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गर्नु भएको विराटनगरमा टावर निर्माण गर्ने ।  यसैगरी विराटनगरमा स्थापित उद्योगहरुको प्रदूषण नियन्त्रण गर्ने, नयाँ प्रविधिमा नयाँ उद्योगहरु स्थापित गर्ने, पुष्पलाल राजमार्ग फराकिलो बनाउने योजना छन् । जसले थप सहजता थपोस् । अहिले सुनसरी भएर जानुपर्छ । यिनै एजेण्डाहरु मैले जनताबीचमा राखेको थिएँ ।

 

मोरङमा कांग्रेसका ठूला नेताहरुको विरासत थियो । विरासतको राजनीति चलिरहेको थियो । अब मोरङमा विरासतको राजनीतिक सकिएको हो ?
नेपाली कांग्रेसले कृष्णप्रसाद कोइराला, बिपी कोइराला, गिरिजाप्रसाद कोइराला अनि शेखर कोइरालाको नाम लिन्छ, यो हो विरासत । अर्को पहिलो कम्युनिष्ट, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, जननेता मदन भण्डारी, नेता भरतमोहन अधिकारीको पनि कार्यथलो हो । अहिले लालबाबु पण्डितको पनि कार्यथलो हो । कम्युनिष्टमा विरासतको कुरा आउँदैन । योग्यता, क्षमता र आफ्नो कार्यकुशलताले राष्ट्रिय रुपमा प्रभावित बनाउँछ । यता कांग्रेसमा भने एकपछि अर्को कोइराला नै हुनुपर्ने व्यवस्था छ । विरासतमाथिको विरासत थेगीराख्नु पर्ने स्थिति भयो । देशमा राजतन्त्र समाप्त भयो । यससँगै विरासतको पनि अन्त्य भयो । जनताको छोरा विरासतमा आइपुग्यो । अब जसले काम गर्छ उसले जस पाउँछ । जनताको बीचमा काम नगर्ने नेता जनप्रतिनिधि हुनै सक्दैन ।

पहिले वाम गठबन्धनमा जति उत्साह सञ्चार थियो, सरकार गठनको बहससँगै यो उत्साह थप बलियो हुँदै गएको छ कि कम हुँदै गएको छ ? तपाईले कस्तो अनुभूति गरिरहनु भएको छ ?
नेपालमा एउटा मनोवृत्ति छ । हार सकेसम्म स्वीकार नगर्ने, कुर्सीमा भए छोड्न नपरोस् भन्ने प्रवृत्ति छ । बाम गठबन्धनले जितेपछि कुर्सी छाड्नु पर्ने तर, कांग्रेस छाड्न मानिरहेको छैन् । मुलतः कांग्रेसले हारिसक्यो । हारिसकेर पनि सत्ता भने छोड्न तयार छैन । उसमा सत्तालिप्सा छ । जनताले दिएको अभिमतलाई सहज रुपमा स्वीकार नगरेको स्पष्ट देखियो ।

पार्टी र सरकार नेतृत्वको बहसले एमाले र माओवादी केन्द्रबीच नै समस्या देखियो, अलि असहज स्थिति उत्पन्न भयो नि ?
पूर्णरुपमा सहज स्थिति भएको भए हामी एउटै चुनावचिन्ह्मा चुनाव लड्थ्यौ । ९० प्रतिशत सहमति भइसकेपछि १० प्रतिशतमा कुरा अड्कियोे । दुई वटा चुनावचिन्ह्मा लड्नु प¥यो । अलिअलि चुनावको धङ्गधङ्गी पनि छ । अलिअलि छलफल पनि गर्नुपर्ने अवस्था छ । अहिले नेतृत्वले एकताका लागि होमवर्क गर्दै हुनुहुन्छ । अब यो सकिएपछि सरकार र पार्टी एकीकरण दुबै हुन्छ ।

पार्टीमा बहु–केन्द्र बन्नु हुँदैन । बहु–केन्द्रले एकतालाई साथ दिंदैन । असन्तुलनले पनि एकतालाई साथ दिंदैन ।

 

तपाईको विचारमा पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ कि फरक–फरक ?
नेतृत्वभित्र सन्तुलन हुनुपर्छ । तर पार्टीमा बहु–केन्द्र बन्नु हुँदैन । बहु–केन्द्रले एकतालाई साथ दिंदैन । असन्तुलनले पनि एकतालाई साथ दिंदैन । नेतृत्व व्यवस्थापनमा सन्तुलनको आवश्यकता छ । तर, केन्द्र चाहीं एउटै हुनुपर्छ ।

त्यसको मतलब पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै जना हुनुपर्छ भन्न खोज्नु भएको हो ?
होइन, मैले यही पाटोमा भनिन् । व्यक्तिको नेतृत्वमा सन्तुलन किन भनेको हुँ भने कुन पद कुन व्यक्तिलाई दिएर नेतृत्व सन्तुलन हुन्छ ? त्यो सन्तुलन मिलाउने । तर, एउटालाई प्रधानमन्त्री दिने, अर्कोलाई राष्ट्रपति, अर्कोलाई सभामुख, अर्कोलाई पार्टी अध्यक्ष दिने अनि टुङ्ग्याउने यो अर्थमा हुँदैन । हामीले विगत भोगेका छौ–एउटै पार्टीमा बहु–केन्द्र बनाउँदा पार्टी बिभाजन पनि भयो । पीडा पनि भोगेका छौं । पीडा बढी भएपछि पार्टी एक पनि भयो । त्यसैले हामीले बहु–केन्द्र बनाउनु हुँदैन । केन्द्रबाट चल्ने बनाउनु पर्छ ।

पहिलो कुरा कार्यकारी जिम्मेवारी पूरा गर्न चाहन्छु । किनभने देश परिवर्तन गर्नु प्रमुख कुरा हो । यसका लागि कार्यकारी जिम्मेवारी नै चाहिन्छ ।

दुबै पार्टीमा विरोधीहरु सल्बलाउन थालेका हुन् ?
एकता नचाहने को हुन्छ ? जसले एकतामा आफ्नो निजी भबिष्य माथि उक्सिदैन । म तल झर्नु पर्छ भन्ने ठानेका छन्, उनीहरुले एकता चाहँदैनन् । गलत मनसाय लिएकाहरुले पनि एकतामा भाँजो हाल्छन् । कतिपय वामपन्थी गठबन्धनका बिरोधी अथवा वाम गठबन्धनबाट अब एउटा पार्टीमा जाँदा आफ्नो पदमा आफ्नो आशक्ति व्यक्त गर्नेहरुले पार्टी एकता नभए हुन्थ्यो वा ढिलो भए हुन्थ्यो भन्ने चाहना राखेका छन् ।

यसअघि मन्त्री बनेर प्रशंसनीय काम गर्नुभयो । फेरि यसपालि जनताको मन जितेर आउनु भएको छ । संसद बनेपछि मन्त्रीको चाहना राख्नु स्वाभाविक नै हुन्छ । तपाईको अबको चाहना चाहीं के हो ?
मलाई जनताले जिताएर पठाएका छन् । मलाई देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्नुहोस् भनेर पठाएका छन् । कार्यकारी अधिकार लिएर बस्नुहोस् पनि भन्या छन् । अब मन्त्री मण्डल बन्दा मैले कार्यकारी अधिकार आश गर्नु स्वभाविक पनि हो । विगतमा काम गरेकाले जनताको विश्वास पनि पाएको छु । मलाई विश्वास छ कि, अहिलेको गठबन्धनले मलाई जिम्मेवारी दिन कुनै कञ्जुस्याईं गर्छ जस्तो लाग्दैन ।

यही मन्त्रालय अथवा जिम्मेवारी पाए हुन्थ्यो भन्ने लागेको छैन ?
मैले ढेड अथवा दुई बर्षअघि पनि भनेको छु । यदि गृहमन्त्री भएँ भने नेपालको अपराधको दर ६ महिनाभित्र ५० प्रतिशत घटाई दिन्छु । यदि म उर्जामन्त्री भएको भए तत्कालीन १८ घण्टे लोडसेडिङ एक हप्ताभित्र ५० प्रतिशत घटाई दिन्थे भनेको थिएँ । फेरि पनि मैले भनेको छु–भौतिक योजना मन्त्रालयमा मैले जिम्मेवारी लिएँ भने, एउटै सडक बर्षपिच्छे बनाउनु पर्ने, बनाउँदा–बनाउँदै भत्किनु पर्ने अनि जनताले राम्रो सडक र सुरक्षित पुलमा हिंड्न नपाउने अवस्था आउन दिन्न ।

यस्तै अदूरदर्शी कामका कारण देश कङ्गाल बन्दै जाने, लुट बढ्दै जाने अद्योगतिलाई म यहिं अन्त्य गरिदिन्छु । सबै काम गुणस्तरको जवाफदेहीमा पु¥याउँछु । शिक्षा मन्त्रालयको जिम्मेवारी लिएँ भने–नपढाउने मास्टरले म मास्टर भन्ने अवसर पाउने छैन । मैले स्वास्थ्यय मन्त्रालय लिएँ भने सरकारी डाक्टर आफ्नो काम छोडेर निजी क्लिनिकमा धाउन पाउने छैन । मैले भूमिसुधार मन्त्रालयको जिम्मेवारी लिएँ भने सुकुम्बासी समस्या कसरी हल गर्नुपर्छ वा जग्गामा जालझेल गरेर छिट्टै धनी हुनेहरुको जालो पनि कसरी च्यात्नु पर्छ मैले जानेको छु । मैले हरेक मन्त्रालयबारेमा अध्ययन् गरेको छु । मैले जुनै जिम्मेवारी पाए पनि देश र जनताको हितमा काम गर्नेछु । उदाहरणीय काम गर्नेछु ।

सबैलाई चित्त बुझ्ने गरी संविधान संशोधन गरेर सबैको समस्या समाधान हुने गरी सिङ्गो नेपाललाई समृद्ध बनाउने दिशामा अघि बढ्नुपर्छ

तपाईलाई माया गर्नेहरुले लालबाबु पण्डितलाई राष्ट्रपति बनाउनु पर्छ पनि भन्छन् नि ?
मैले जहाँ जे जिम्मेवारी पाउँछु, त्यो जिम्मेवारी पूरा गर्न गर्छु । तर, पहिलो कुरा कार्यकारी जिम्मेवारी पूरा गर्न चाहन्छु । किनभने देश परिवर्तन गर्नु प्रमुख कुरा हो । यसका लागि कार्यकारी जिम्मेवारी नै चाहिन्छ ।

प्रदेश नम्बर–२ मा मधेसी दलहरुले बहुमत पाए । एमाले, कांग्रेस र माओवादीहरुलाई भन्दा मधेसी जनताले मधेसी दलहरुलाई नै मत दिए । यसले ठूला दल र काठमाण्डौंलाई दिएको सन्देश के हो ?
काठमाण्डौं र मधेसबीच ऐतिहासिककालदेखि नै अलिक दूरी छ । त्यो दूरीलाई समाप्त गर्नुपर्छ । एमाले, कांग्रेस अथवा मुख्य राजनीतिक दल र काठमाण्डौं (केन्द्रीय सरकार) ले त्यहाँका जनताको भावना चाहनालाई विशेष प्याकेज बनाएर पूरा गर्नुपर्छ । त्यहाँको विकास–निर्माण, सुरक्षा र विभेदलाई अन्त्य गुर्नुपर्छ । केन्द्रसँग सबै ठाउँहरुले अपेक्षा राखेका छन् । अन्यको तुलनामा प्रदेश नम्बर–२ मा अलि बढी अपेक्षा छ । संघीय फोरम र राजपाले उठाएका एजेण्डा जनताले अनुमोदन गरिसकेपछि पूरा गर्नुपर्छ । तर, त्यही कतिपय कुराहरु स्थानीय तहबाट त, कतिपय केन्द्रीय तहबाट सम्बोधन गर्नुपर्ने हुन्छ । सम्बोधन गर्ने कुरामा कुनै कञ्जुस्यार्ई गर्नु हुँदैन । त्यसले सबैको भविष्यमा समृद्ध बनाउँछ । अहिले संविधानमा सबैका सबै कुरा परेका छैन् । सबैलाई चित्त बुझ्ने गरी संविधान संशोधन गरेर सबैको समस्या समाधान हुने गरी सिङ्गो नेपाललाई समृद्ध बनाउने दिशामा अघि बढ्नुपर्छ । हामीले भनेको छौं–पहिले संविधान कार्यान्वयन, त्यसपछि कार्यान्वयनका क्रममा आएका समस्या समाधान । त्यही समस्या स्थानीय तह र केन्द्रमा जोडिएका छन् । यदि यी यावत समस्याहरु संविधानसँग जोडिएका छन् भने संशोधन गर्दै जानुपर्छ ।

अन्तरवार्ताको पूर्ण भिडियो हेर्नुहोस् :-

 

 

 

प्रतिक्रिया दिनुहोस्