‘ब्याटलबाटै बाहिरिन लागेको म टप ११ पुग्दा खुशी नै छु’


८ मंसिर २०७६, आईतवार
sashika rai 123 scaled

रियालिटी शो ‘द भ्वाइसका अफ नेपाल’ अहिले करीब–करीब मैजारोतिर आइरहेको छ । भोटिङ राउण्ड चलिरहेको शोबाट प्रतिष्पर्धीहरु बाहिरिने क्रम जारी छ । भोटिङ राउण्डमा उत्कृष्ट प्रतिष्पर्धीहरु कम भोटकै कारण बाहिरि रहेका पनि छन् । कम भोटका कारण टप ११ बाट बाहिरिएकी उनै ‘कोमल’ आवाजका धनी शशीका राईसँग नयाँपेजले गरेको कुराकानी :

अहिले केमा व्यस्त हुनुहुन्छ ?

भ्वाइसबाट बाहिरिपछि मिडियासँगको अन्तरवार्ता र नयाँ गीत रेकर्डिङहरुमा व्यस्त छु । भ्वाइसबाट बाहिरिनु भन्दा अगाडि नै मैले अन्तरवार्ता दिईसकेको थिएँ । त्यो मेरो गीत ‘हावाको चिसो झोक्काले’ सन्दर्भमा थियो । पहिला अन्तरवार्ता दिंदा अप्ठ्यारो लाग्थ्यो । क्यामेरा फेस गर्न पनि गाह्रो हुन्थ्यो । अहिले अन्तरवार्ता दिइरहँदा रमाइलो लाग्छ । तपाई मिडियाहरुले पनि हौसला स्वरुप साथ सर्पोट दिइरहनु भएको छ । खुशी लाग्छ ।

भ्वाइसबाट बाहिरिंदा कस्तो अनुभव गर्नु भयो ?

म ब्याटल राउण्डबाट आउट हुन लागेको थिएँ । त्यो बेला एकदमै नरमाइलो फिल गरेको थिएँ । तर पछि मलाई प्रशिक्षक (कोच) ले स्टिल गर्नुभयो । अझ टप ११ सम्म आईपुग्दा, ब्याटल राउण्डबाट अघिल्लो राउण्डसम्म आउँदा खुशी लाग्यो । टप ११ बाट बाहिरिंदा पनि खुशी नै छु । खासै दुःख लागेन ।

दर्शक–श्रोतहरुको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

म निस्केपछि पनि दर्शक–श्रोताले मेरो एकदमै चिन्ता गर्नु भएको छ । मेरो फ्यानहरु दुःखी हुनुभएको छ । मलाई सम्झाउनु भयो । तपाई ननिस्किनु पर्ने मान्छे, हामीले भोट गर्दागर्दै पनि निस्किनु भयो । माथिसम्म पुग्नु हुन्छ भन्ने अपेक्षा थियो भनेर सुनाउनु हुन्छ ।

इलिमेनेसन हुँदै गर्दा आफूलाई विनर नै महसुस गरेको छु भन्नु भएको थियो नि ?

विनर हुन नसके पनि यहाँसम्म पुगें । म टाइटल नै जित्न भनेर गएको थिइनँ, दर्शक–श्रोताले मैले पनि गाउँछु भनेर चिनिदिए हुन्थ्यो भन्ने थियो, जुन कुरा मैले पाएँ । त्यही भएर विनर नै भएको महसुस गरें ।

इलिमेनेसनको अवस्थामा त रुनु भयो नि ?

इलिमिनेसनमा मेरो नाम आउँदा अलिअलि मात्र दुःख लागेको थियो । तर पछि साथीहरु र कोचको मायाले चाँहि बढी मन रुवायो । साथी र कोचहरुसँग छुटिनु पर्दा चाँहि मन रोयो ।

भ्वाइसमा कसरी आउनु भयो ?

भ्वाइसमा रियालिटी शोबाट आउनु भएका साथीहरुको संगत, परिवारको साथ र प्रेरणाबाट यो ठाउँसम्म आउन प्रेरित भएँ । मेरो इच्छा पनि भ्वाइसमा जाने नै थियो । सासुआमाले बुहारीले राम्रो गाउँछिन्, रियालिटी शोमा गएर चिनिनु पर्छ भनेर भन्नु हुन्थ्यो । त्यो मैले एकहदसम्म पूरा गरें ।

तपाईको अनुमानमा भ्वाइसको विनर चाँहि को हुन्छ होला ?

कसले जित्छ भन्न सकिन्नँ । भोटकै कारणले हो बाहिरिने । टयालेन्टको कुरा गर्दा सबै नै राम्रो हुनुुहुन्छ । केही अगाडि सनिशको क्रेज थियो अहिले पनि छ । तर, अहिले राम लिम्बूको क्रेज बढ्दो छ । उहाँहरु दुई जनामा एक जना हुनुहुन्छ होला कि जस्तो लाग्छ । १०० प्रतिशत भोटको आधारमा हुनुपर्छ भन्ने लाग्दैन् । मिल्ने भए कोचको पनि केही निर्णय भए हुन्थ्यो । भोटिङ र कोच दुबैको हात हुनुपर्ने व्यवस्था भए राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।

भ्वाइसमा रहँदाका क्षणहरु कस्तो थियो ?

भ्वाइसको यात्रा मेरो जीवनभरका लागि कहिले बिर्सन नसक्ने, रमाइलो, अनि नयाँ खालको अनुभव भयो । साथीहरुको माया र कोचहरुको शिक्षा जीन्दगीको अन्तिम पलसम्म रहिरहन्छ ।
मेकअपका लागि बिहानै उठेर जानु चाँही ‘इरिटेट’ लाग्थ्यो । मेकअप गर्दागर्दै निधाई दिन्थे । ड्रेसको कुरा गर्दा त म र अञ्जु रानामगरलाई जुनै पनि ड्रेस मिल्थ्यो । तर, अरुलाई चाँही गाह्रो नै पथ्र्यो । सबै ट्राई गरिसक्दा पनि मिल्दैन थियो ।

व्यक्तिगत रुपमा भन्नु पर्दा कोच आस्था कस्तो हुनुहुन्छ ?

कोच आस्था क्यामेरामा जस्तो देखिनु हुन्छ रियलमा पनि त्यस्तै हुनुहुन्छ । उसो त उहाँसँग क्यामेरामा देखिएको भन्दा अझ धेरै नजिक थियौं । उहाँले आफ्नो चेली, बच्चा जस्तो गर्नु हुन्थ्यो । मेरो टिमको भनेपछि आफ्नो बच्चाहरु जस्तै हेरविचार गर्नुहुन्थ्यो, अनि उस्तै मेहनत पनि गर्न लगाउनु हुन्थ्यो ।

स्टेज कार्यक्रमहरुका लागि निम्ताहरु आएको छ कि छैन ?

स्टेज प्रोगामका लागि एकदमै माग छ । भन्नु पनि भएको छ । तर हामी टप १२ मा भ्वाइसको कन्ट्रयाकमा भएकाले उहाँहरुसँगै सम्पर्क गर्नुपर्छ भनेर भन्ने गरेको छु ।

तपाईको आगामी सांगीतिक योजनाहरु कस्ता र के–के छन् ?

म गायिका हो । यसरी चिनिरहेको छु । दर्शकहरुले दिनु भएको यही माया र हौसलालाई मैले पूरा गर्नुपर्ने दायित्व छ । मैले आगामी दिनमा झनै कसरी राम्रो गर्न सक्छु भनेर सोंचेर मेहनताका साथ लाग्नु पर्छ । मैले भ्वाइसमा सकेसम्म राम्रो प्रस्तुती दिने कोशिस गरिरहे । जसका कारण नै धेरैको माया पनि पाए । अब अझ राम्रो गनर्सपर्छ भन्ने ऊर्जा मिलेको छ ।

कस्तो गीतहरु ल्याउने सोचमा हुनुहुन्छ ?

आफ्नो शैली जस्तो छ, गीत पनि सम्भवतः त्यहि शैलीको भइहाल्छ । एउटा वेस्टर्न जनराको गीत पनि ल्याउने सोंचमा छु । यसका लागि कामको कुरा भइरहेको छ ।

यति धेरै माया पाउनु भयो, पाइरहनु भएको छ । आफ्ना फ्यानहरुलाई के भन्न चाहनु हुन्छ ?

फेसबुक एउटा भिडियो बनाएर हालेको छु । हेरिदिनु होला । म आउट भएँ भनेर दुःखी नभई दिनु होला । हार–जीत त्यो पनि जीवनको एउटा खुड्किलो हो । मैले धेरै कुरा सिकेको छु । अझ केही गर्नुपर्छ भन्ने आशा र उत्साह छ मेरो मनमा । भ्वाइसमा भन्दा पनि धेरै माया दिनुहोला । आगामी दिनहरुमा नयाँ–नयाँ गीत लिएर आउने छु । मलाई साथ दिंदै गर्नुहोला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७