शान्ति सेना पठाई दिने भन्दै ७० लाख असुलेको आरोपमा सेनाका मेजर थापामाथि अनुसन्धान


८ पुष २०७६, मंगलवार

काठमाडौं, ८ पुस । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पठाइ दिने भन्दै रकम असलेको  आरोपमा नेपाली सेनाका सेनानी (मेजर) सुवास थापामाथि अनुसन्धान थालिएको छ ।

नेपाली सेनाको तालिम निर्देशनालय भद्रकालीमा कार्यरत थापालाई हिरासतमा लिएर सैनिक प्रहरी गणले अनुसन्धान अगाडि बढाएको छ ।

थापाविरुद्ध १२ जनाले सैनिक मुख्यालयमा उजुरी दिएपछि छानबिन थालिएको जनाइएको छ । एक हप्ता लामो छानबिनपछि विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको समाचार स्रोतले जानकारी दिएको छ ।

शान्ति सेनामा पठाई दिने भन्दै थापाले उनीहरुबाट करीब ७० लाख रुपैयाँ उठाइसकेको दाबी स्रोतको छ । पूर्व सैनिक कर्मचारीबाट पनि उनले रकम लिएको जनाइएको छ । ‘आफन्तलाई पठाई दिने भनेर पूर्व कर्मचारीसँग पनि पैसा लिएको देखिएको छ’, स्रोत भन्छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा आफ्नै मान्छे भएको बताउँदै उनले रकम लिने गरेको उजुरीमा उल्लेख गरिएको छ । ‘आफ्नै काका हो, अहिले मैले जे भन्यो त्यही हुन्छ भनेर पैसा लिएको थियो’, पीडितको भनाइ उधृत गर्दै स्रोतले दावी गर्‍यो ।

तर शान्ति सेना जानेको सूचीमा नाम नपरेपछि पीडितले रकम फिर्ता माग गरेका थिए । थापाले रकम फिर्ता नदिई उल्टै धम्क्याएको पीडितको गुनासो छ ।यसैबीच जंगीअड्डाले भने शान्ति सेनामा जान भनसुन नचल्ने भन्दै सैनिक कर्मचारीलाई कसैको प्रलोभनमा नपर्न सचेत गराएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति सेना छनोट कार्यविधि २०७५ लागू गराएपछि ज्येष्ठताको आधारमा शान्ति सेनामा पठाउने अभ्यास थालिएको स्पष्ट पार्दै शान्ति मिसमा कसैको भनसुन नचल्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७