दुई इन्जिन भएको विश्वकै ठूलो जेटको सफल परीक्षण


१२ माघ २०७६, आईतवार
boing

काठमाडौं, १२ माघ । विमान निर्माता कम्पनी बोइङले दुई वटा इन्जिन भएको विश्वको सबभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक गरेको छ ।

उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुई वटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो । ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो ।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको जनाइएको छ ।
अमेरिकाको सियाटल नजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो । तीव्र गतिमा हावा चलेकाले यसअघि दुईचोटी परीक्षण उडान स्थगित गरिएको थियो ।

आगामी वर्ष सेवामा प्रवेश गर्नुअघि यो विमानको थप परीक्षण हुनेछ । झण्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो ।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी–जम्बो विमानको विशाल र परिष्कृत रूप हो । दोब्रिने विङ्टिप र संसारकै सबभन्दा विशाल व्यवसायिक इन्जिन यो विमानका विशेषता हुन् ।
बोइङका बजारनिर्देशक वेन्डी सौवर्स भन्छन्, ‘यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ ।

नयाँ मोडलका ३०९ वटा विमान बेचिसकिएको बोइङले जनाएको छ । तिनको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन्छ। यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०–१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ ।

अक्टोबर २०१८ मा इन्डोनेसिया र गत वर्ष मार्चमा इथियोपियामा भएका भयानक विमान दुर्घटनापछि बोइङ कम्पनी सङ्कटमा परेको छ । इथियोपियाको दुर्घटनामा एक नेपाली महिलासहित विभिन्न देशका नागरिकको मृत्यु भएको थियो । पाँच महिनाभित्र दुइटा दुर्घटना भएपछि बोइङले ९३७ म्याक्स मोडलका विमानको उत्पादन पनि स्थगित गरेको थियो ।

बोइङलाई उड्डयन सुरक्षाबारे हेलचेक्र्याइँ गरेको आरोप लागेको छ भने ती दुर्घटनापछि विभिन्न अनुसन्धानहरू भइरहेका छन् । थन्काइएका ९३७ म्याक्स विमानलाई पुनः उडाउन बोइङले सम्बन्धित निकायहरूबाट स्वीकृति लिने प्रयास गरिरहेको छ ।

उक्त मोडलका बोइङ अहिलेसम्मकै सर्वाधिक विक्री भएको विमान हो । विमान त्यसरी थन्काउनु पर्दा बोइङलाई नौ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लागेको अनुमान गरिएको छ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७