भोलि प्रदेश प्रमुख तोकिन्छ मन्त्री सुनुवार
काठमाण्डौं : कानूनमन्त्री यज्ञबहादुर सुनुवारले भोलि (सोमबार) को मन्त्रीपरिषद वैठकले सात वटै प्रदेशका प्रदेश प्रमुख तोक्ने जानकारी गराएका छन् ।
मन्त्रिपरिषद् वैठकले प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना रहेको उनले बताएका छन् । सरकारले माघ २४ गते राष्ट्रियसभा चुनाव तय गरिसकेकाले पनि प्रदेश प्रमुख तोक्न ढिलाई गर्न नमिल्ने उनले बताएका छन् । सरकारले यसअघि प्रदेशको अस्थायी राजधानी निक्र्योल गरिसकेको थियो । तर, सरकारले अस्थायी राजधानीका लागि विभिन्न शहरहरुको सिफारिस गरेपछि देशका विभिन्न जिल्लामा आन्दोलनको आगो उठेपछि अहिले सरकार उक्त निर्णयबाट केहि पछि हट्दै तत्कालका लागि राजधानी तोक्ने विषयलाई थाँती राखेको छ ।
अस्थायी राजधानी र अहिले उठेका आन्दोलनका विषयमा के गर्न सकिन्छ भन्नेबारे सरकार परामर्श र छलफलमा रहेको कानूनमन्त्री सुनुवारले बताएका छन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुन सक्ने समेत कानूनमन्त्री सुनुवारले बताका छन् ।