‘धैर्य बनौं, कोरोनाको कालो छायाँ सँधै रहँदैन’


२४ चैत्र २०७६, सोमबार
prabinkulung rai scaled

सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन आदेश जारी गरेको छ । आज (सोमबार) लकडाउनको १४ औं दिन पूरा भइसकेको छ । नेपालमा नौं जनामा कोरोना संक्रमण देखिइसकेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनलाई पथ कडा बनाउँदै लगेको छ ।

सरकारले कोरोना भाइरस संक्रम दोस्रो चरणमा प्रवेश गरेको बताउँदै लकडाउनलाई थप कडा बनाउँदै लगेको छ । यो लकडाउन लम्ब्याउनु सरकारको वाध्यता र नागरिकका लागि आवश्यक भए पनि एउटा कोठाको चौघेरामा खुम्चिनु पर्दा उकुस-मुकुसको अवस्था पनि छ । तर, संक्रमणबाट उम्किने अहिले हामी कसैका सामु कुनै विकल्प छैन । अहिलेको समयमा लकडाउनलाई पालना गर्नु सबैका लागि उत्तम हुन्छ ।

अहिले कोरोना भाइरसले विश्वको गति ठप्प बनाई दिएको छ । नौं जना कोरोना संक्रमित भेटिइसकेको अवस्थामा नेपाल पनि यो समस्याबाट अछुतो रहने कुरै आउँदैन । ढिलो गरी कोरोना भाइरसको संक्रमण भित्रिए पनि अहिले नेपाली जनजीवन मात्र होइन, सबै गतिविधि ठप्प छ । तर, म एउटा सञ्चार क्षेत्रमा समेत भएकाले ‘एकान्तबास’ बाटै भए पनि नागरिलाई सूचना प्रवाह गर्ने र विश्वमा कोरोना भाइरसले निम्त्याइ रहेको कहालीलाग्दो अवस्था इन्टरनेटको माध्यमबाट चिहाइरहेको छु ।

कोरोना भाइरसले नेपालका सबै गतिविधि ठप्प बनाएको छ । तर, यहाँ मैले कोरोना भाइरसका कारण खेलाडी र खेल क्षेत्रको विषय उठान गर्ने जमर्को गरेको छु । सबै विषय छोडेर खेल क्षेत्रको कुरा उठाउनुमा मेरो नितान्त व्यक्तिगत स्वार्थ पनि छ । त्यो हो- म सञ्चारसँगै खेल क्षेत्रमा आवद्ध हुनु । म एउटा सितोरियो करातेको खेलाडी भएका कारण पनि खेलाडीको अवस्थालाई अहिलेको अवस्थासँग जोड्ने कोशिस गरिरहेको छु ।


अहिलेको समयमा कोरोनाबाट जोगिन्न खेल क्षेत्रका गतिविधि स्थगित गर्नु वाध्यताको अवस्था हो । विश्वका धेरै देशमा विभिन्न विधाका खेलाडी कोरोना भाइरसले संक्रमित भएका छन् । केहिको त ज्यान समेत गएको छ । कोरोनाले कसैलाई चिन्दैन यसैले यो बेला सबै सचेत हुनुको विकल्प छैन ।

त्यसैले अहिले धेरै विधाका खेलकुद प्रतियोगिता स्थगित छन् । यतिसम्मकी नियमित अभ्यासहरु समेत रोकिएको अवस्था छ । खेलाडिकाे दैनिकी परिवर्तन भएकाे छ । धेरै खेलाडीहरुको दिनचर्या एका-एक बदलिएको छ । खेलकुद र अभ्यासको रुटिन बदलिएपछि अहिले खेलाडीहरु म जस्तै फूर्सदिला छन् । अर्को शब्दमा भन्ने हो भने यो समयमा सबै खेलाडीहरु घरमै सेल्फ आइसोलेसनमा छन् । केही विभागीय टिमका खेलाडीहरु भने खेल जीवनलाई केहि समयका लागि स्थगन गर्दै कोरोना महामारी विरुद्धको अर्को जिम्मेवारी वहन गर्नु परेको बताउँछन् । प्रहरीकाे खेलाडी सडकमा र नेपाली सेनाकाे खेलाडि ब्यारेकमा खटिन्नु परेकाे छ । लकडाउनले खेलाडीहरूलाई प्रशिक्षणमा पनि असर परेको छ । प्रशिक्षणमा भेला हुन नसक्ने अवस्थाले खेलाडीहरुलाई एक किसिमको छपटाहट मात्र छैन राष्ट्रिय खेलकुदको भविष्यमा समेत असर पारिरहेको छ ।


तर, यसलाई अब आउने सहज समयमा पूर्ति गर्नुको विकल्प कसैसँग छैन । इन्टरनेटका कारण खेलाडीहरुले एक-अर्कामा खेल क्षेत्रको हालको अवस्था मैले जस्तै कोठामै बसेर पनि चिन्तन मनन गरिरहेको मैले पाएको छु । इन्टरनेटमा जोडिन आएका केहि खेलाडीहरुसँग मैले यस लकडाउनको बीच सम्पर्क गरी उनीहरुको सेल्फ क्वारेन्टाइनका बारेमा बुझ्ने कोशिस गरेको छु ।

साग खेलकुदमा दुई वटा स्वर्ण पदक विजेता समेत रहेका कराँतेका खेलाडि मण्डेकाजी श्रेष्ठको पनि दैनिकी परिवर्तन भएको छ । उनी घरै सेल्फ प्रशिक्षणमा सिमित भएका छन् । उनले मसँग कुरा गर्दे भने,‘कोरोना भाइरसको विश्वव्यापी महामारीसँगै सरकारले गरेको लकडान पूर्ण पालना गरिरहेको छु, घरैमा सेल्फ ट्रेनिङ गर्दे र परिवारलाई समय दिएर दिनहरु विताइरहेको छु, यस अवस्था सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्नु पनि म सबैमा अनुरोध गर्छु ।’

sangita madekhaji
सागमा दुई वटा स्वर्ण पदक विजेता कराँतेका खेलाडि मण्डेकाजी श्रेष्ठ र स्वर्ण पदक विजेता संगीता मगर


यस्तै लकडाउनका समयमा इन्टरनेटमा भेट भएकी खेलाडीमध्ये एक हुन सागमा कराँतेको काँतातर्फ स्वर्ण पदक विजेता संगीता मगर । अहिले हाल उनी हेटौंडाको सुपारेटेङमा नेपाली सेनाको ब्यारेकमा रहेछिन् । उनको हिजोको खेल्ने खेल स्थगित भए पनि दिनचर्या बदलिएको रहेछ । बिहान ६ बजे उठेर पिटी परेड सकेर आफ्नो आफ्नो युनिटमा गएर ६ बजे बेलुकासम्म ड्यूटी गरिरहेको उनले सुनाइन् ।

उनले सेल्फ फिजिकल ट्रेनिङ गर्ने फूर्सद पनि नपाइरहेको सुनाइन् । अहिले ट्रेनिङ, साथीभाइ र विशेष गरी आफ्नो सागका टिमलाई धेरै मिस गरिरहेको सुनाइन् । उनले भनिन्, ‘सबै साथीहरुसँग फेसबुकमा कुुरा त हुन्छ, तर भेटेर गफ गरेको जस्तो नहुने । अरु पनि म जस्तै सेल्फ क्वारेन्टाइनमै रहेको पाएँ ।’ संगीत नेपाली सेनाकी खेलाडी हुन् । तर, अहिले उनीमाथि खेलसँगै अन्य जिम्मेवारी थपिएको छ । अहिले नेपाली सेनाले पनि कोरोना महामारीविरुद्ध विभिन्न काम गरिरहेको छ । यस्तो अवस्थामा संगीताको दिनचर्या बदलिनु स्वभाविक हो ।


यस्तै सागकै स्वर्ण पदक विजेता उसुकी जुनी राईको पनि दैनिकी परिवर्तन भएको छ । उनले लकडाउनको समयमा विहान, बेलुका सेल्फ ट्रेनिङ र दिउँसोकाे समयमा पुस्तक पढेर समयको सदुपयोग गरिहेको बताइन् ।

सागकै स्वर्ण पदक विजेता जुडाेकी पुनम श्रेष्ठकाे दैनिकी पनि उसुकी राईसँगै मिल्दाे जुल्दाे छ । उनले छतमा बसेर दुई घण्टा सेल्फ ट्रेनिङ गर्ने बाँकी समय पुस्तकहरु पढ्दै र आमासँग समय विताइरहेकी बताउँछिन् ।

अहिले खेलाडीले मात्र होइन अन्य पेसा, व्यवसायका सबैले केहि समयलाई आफ्नो मुख्य पेसा व्यवसायलाई थाँती राखेर नेपालबाट कोरोना महामारीलाई पराजित गर्नु सबैको दायित्व र कर्तव्य हो । तर, राज्यलाई कोरोनाविरुद्धको लडाईमा सहयोग गरिरहँदा आफू असुरक्षित हुने र अरुलाई समेत असुरक्षित बनाउने कुरामा सँधै सचेत हुनुपर्छ ।

अहिले खेल क्षेत्रका विभिन्न निकायले पनि कोरोनाविरुद्धको सरकारी अभियानमा हातेमालो गरिरहेको अवस्था छ । राष्ट्रिय संकटका बेला सबै मिलेर यसलाई पार लगाउनुको विकल्प छैन । कोरोना भाइरस आयातित समस्या भए पनि यसलाई सबै मिलेर सामना गर्नु र पराजित गर्नुको कुनै विकल्प छैन ।

गोरखा भूकम्पले नेपालीहरुलाई एक गराए जस्तै अहिले कोरोना भाइरसले पनि आम नेपालीलाई एक गराइरहेको छ । यो संकटको घडीमा भोलिको सुनौलो दिनको कामना गर्दै दुःखमा परेकाहरुलाई साथ सहयोग दिनु राज्यको मात्र होइन, हामी सबैको कर्तव्य र दायित्व हो ।

कोरोनाविरुद्धको सरकारको लडाईलाई सफल बनाउनमा हाम्रो पनि हात रहन्छ । यसैले विश्व स्वास्थ्य संगठनले कोरोना महामारीविरुद्ध जुध्नका लागि अपनाउनु पर्ने उपायहरुको पूर्णपालना गर्दै सरकारले जारी गरेको लकडाउनलाई पूर्ण पालना गरौं ।

निरासा होइन, आज केहि असहज भए पनि भोलिको सुनौंलो दिनका लागि आफूले सकेको ठाउँबाट सकेको सहयोग गरौं । दुःख र निरासाका दिन सँधै रहँदैनन् । धैर्यता नटुटाए यो समस्या धेरै समय टिक्न सक्दैन । ‘धैर्य बनौं, कोरोनाको कालो छायाँ सँधै रहँदैन’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७