निर्माणाधीन राजाबास खेल मैदानको पृष्ठ कथा


१५ असार २०७७, सोमबार
Prabhuram Rai 2

खोटाङ्ग दिरुम नपा १४ बुइपा साबिक बुइपा गाविस लेक्पा वडा नम्बर–२ निवासी स्व. शेरबहादुर राई तथा स्व. कावरलक्षी राईको आठ सन्तान, चार बहिनी चेलीहरु, चार भाइ छोराहरुमध्येका माहिलो छोराका रुपमा जन्मिएका हुन् प्रभुराम राई । । 

१९९९ साल श्रावण २४ गते जन्मिएका उनी २०१७ पौष १० गते बेलायती सेनामा भर्ती भई १६ वर्ष सेनामा जागिरे बने । नानीदेखि लागेको बानी साह्रै सिर्जनात्मक र रचनात्मक । भर्ती भएपछि उनले राईफल चलाउन मात्र जानेनन्, दिमाग चलाउन पनि जाने । शत्रुलाई परास्त गर्न मात्रै सिकेनन्, समस्यालाई परास्त गर्न पनि सिके । विकसित मुलुकलाई देखेरै, भोगेरै पनि थुप्रै नयाँ ज्ञानहरु सिके र जाने ।

जीवनको महत्वपूर्ण यौवन उमेर बेलायती सेनामा योगदान गरेपछि अवकाश जीवन आफ्नै जन्मभूमिमा फर्किएर जानेका सीप र कलाहरु, सपनाका बीउहरुलाई व्यवहारमै खेती गर्न थाले । देश फर्कन साथ समाजसेवाको साँचो राजनीतिमा प्रवेश गरी गाउँ फर्किएर २०४३ सालमा तत्कालीन बुईपा गाविसको प्रधानपञ्चको जिम्मेवारी सम्हाल्दै सम्पूर्ण बुईपालीहरुको सेवामा समय, श्रम र सीप लगानी गर्न थाले । नविनतम बिषयहरु बुईपामा सुरुवात गरी हाल्नु पर्ने वनको खास ब्राण्ड विशेषता नै बन्दै गयो ।

थुप्रै सामाजिक कामहरु गरिसकेपछि उनले एक नयाँ महत्वपूर्ण निर्माण कार्यको थालनी गरे राजाबास खेल मैदान । निर्माणको सुरुवातमा आफैले एक लाख ५ हजार आर्थिक सहयोग गरे । उनले बेलायत रहँदै म्यानचेस्टर युनाईटेड क्लबको खेल मैदान देखेपछि आफ्नो जन्मभूमि र गाउँका युवाहरुको लागि देखेको सपना थियो जुन सपना साकार पार्नु थियो, जागिरे जीवनमा उनले थाईल्याण्ड, मलेसिया, सिंगापुर, ब्रुनाई, हङकङ, स्कटल्याण्ड, साइप्रस, फिजी, ओमन, भारत, आयरल्याण्ड, बेलायतलगायत विभिन्न देशहरुको भ्रमण गरेका थिए ।

यहि विकसित मुलुकहरुको भ्रमणबाट पनि उनले खेलको महत्व, खेल संस्कृतिको महत्व बुझे । खेलकुदको भौतिक संरचना निर्माणहरुको बारेमा धेरै सिके । २०६४ को संविधान सभाको चुनावताका राजधानीबाट आफ्नो गाउँ आफै निर्माण गर्ने पवित्र चिन्तनका साथ ६–७ जना युवाहरु गाउँ फर्किएका थिए । उनै युवाहरुको साथ लिई उनी थप अगाडि बढे ।

कल्पनाशील व्यक्तिले नै सपना देख्छ । तर सबैले देखेका सबै सपनाहरु यथार्थमा परिणत हुँदैनन् । तर उहाँले यो निर्माण कार्यको लागि बलियो अठोट कसे । २०६५ सालमा ६६ वर्षको पाको र अनुभवी उमेरमा । सुरुमा उमेर अनुसारको कर्म भएन, सबैले सजिलै पत्याएनन्, तथापी कामले पत्याउने वातावरणहरु बन्दै गयो ।

कल्पनाशील व्यक्तिले नै सपना देख्छ तर सबैले देखेका सबै सपनाहरु यथार्थमा परिणत हुँदैनन् । तर उनले यो निर्माण कार्यको लागि बलियो अठोट कसे । २०६५ सालमा ६६ वर्षको पाको र अनुभवी उमेरमा । सुरुमा उमेर अनुसारको कर्म भएन, सबैले सजिलै पत्याएनन्, तथापी कामले पत्याउने वातावरणहरु बन्दै गयो । तत्पश्चात जमिन खरीद गर्नुपर्ने भयो । बेलायत र हङकङमा रहेका सबै माटोप्रेमी तन र मनहरुले रु १४ लाखको हाराहारीमा आर्थिक संकलन गरी सहयोग रकम हस्तान्तरण गरे । यहिदेखि यो खेल मैदानको आकार जन्मिएर स्थानीय औजारहरुको प्रयोग गर्दै २०६५ साल असार १५ गते विधिवत थालनी गरियो । कुटो कोदालो र झम्पलले खन्न थालियो, राँगाको छालामा माटो तानियो, जोश, जाँगर र उत्साहका साथ स्थानीय सबैले सहयोग गरे । सुरुमा २७ रोपनी किनिएको जग्गा हाल ३१ रोपनी जोडिसकिएको छ ।

प्रगतिका लागि प्रयासहरु निरन्तर हुँदै गए । तत्कालीन गाविस परिषदबाट पहिलो पटक ५ लाख र दोश्रो पटक ३ लाख गरी जम्मा ८ लाखको सहयोग प्राप्त भयो । जुन नेपाल सरकारको पहिलो सहयोग र लगानी थियो । राष्ट्रिय खेलकुद परिषदबाट दुइ पटक गरी ५ लाख प्राप्त भयो । यो श्रोतले किनी सकिएको र निर्माण सुरु गरिएको जमिनमा २०६६ सालदेखि जेसिबी मेशिनले मैदान सम्याउने काम सुरु गरियो । सुन्दर खेल मैदानको आकार बन्दै गयो, मैदानको ग्रेड मिलाइयो । माननीयद्वय पाँचकर्ण राई र सरस्वती बजिमयको सांसदीय विकास कोषबाट रु ४० लाखको लगानीमा सुन्दर र आकर्षक कार्यक्रम मञ्चस्थल निर्माण सम्पन्न भयो ।

यो प्रगतिहरुसँगै मुलुकमा ऐतिहासिक तीन तहको चुनाव सम्पन्न भयो । खेल मैदानको प्रगतिले छलाङ्ग मार्न सुरु गर्‍यो । नेतृत्वकर्ताका अनुसार प्रदेश न १ को आ व ०७४–७५ को ५० लाख र आ व ०७५–७६ को थप ६० लाख आर्थिक सहयोगले द्रुतगतिमा आधुनिक प्याराफिट निर्माण हुँदैछ । आ व ०७७–०७८ मा थप ५० लाख प्रदेशको बजेट बिनियोजन भएको छ । यसले थप प्रगतिहरु अगाडि बढाइने छ । सम्पूर्ण खोटाङ्गे खेलकुदकर्मी र दर्शकदीर्घाका लागि यो खुशीको खबर हो । त्यसैगरी खेलाडीहरुले अब जिल्लामा पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदा चित्राको बारामा लुगा फेर्नु पर्ने बाध्यता रहेन (आधुनिक चेञ्जिङ्ग रुम बन्दैछ) खेलाडीहरुका लागि अनिवार्य र अत्यावश्यक सुविधा हो यो ।

जिल्लामा मैदान निर्माणको लहड नै चलेको छ । एकातिर अस्वस्थ प्रतिस्पर्धा छँदैछ । आवश्यकताले होइनन फेशनको रुपमा माटोको कुमारित्व भङ्ग गरिदैछ । केहि समूहले भने पहुँचको आधारमा बजेट खन्याइ दिन्छन् स्थानीय सरकारहरुले । कुनैले प्रतिफल देलान् पनि पक्कै तर धेरैजसो बालुवामा पानि खन्याए सरह बन्दैछ । सबै कर्मको एक न्याय र प्राविधिक सिद्धान्त हुन्छ । सिद्धान्त विपरित निर्माण गरीएको लगानी खेर नै जाने हो । जिल्लामा निर्माणाधीन अधिकांश मैदानहरु खेल विज्ञान र खेल मैदान निर्माण प्राविधिक नियमको मापदण्ड विपरित छन् । धेरैजसो मापदण्ड विपरित बनेका मैदानहरु प्रयोगमा नआई निकट भविष्यमा चौपायाको चरणस्थल बन्ने निश्चित देखिन्छ । यसो हुँदा एकातिर राज्यको सम्पत्ति दुरुपयोग हुन्छ भने अर्कोतिर माटोको ओरिजिनालिटी र भर्जिनिटी मात्र ध्वस्त हुन्छ । युवाहरुको उर्जा र पसिना खेर जानेछ, ग्रामीण भेगको उर्वर जमिन नष्ट मात्रै हुनेछ । त्यसकारण जुन पवित्र र दूरदर्शी उद्देश्यका लागि खेल मैदान निर्माण गरिएको हो, भोलि उसैगरी प्रयोगमा नआउन पनि सक्छ जुन सबै पक्षलाई हानी मात्रै हुने निश्चित छ ।

खोटाङ जिल्लाकै उत्कृष्ट प्राविधिक र वैज्ञानिक विधि र नीतिलाई अङ्गालेर निर्माण गरिएको खेल मैदान हो । अहिले यो खेल मैदानको लम्बाई १२५ मिटर र चौडाई ८५ मिटर, जबकि फिफाको अन्तर्राष्ट्रिय मापदण्ड नै न्युनतम १०० गुणा ६४ र अधिकतम ११० गुणा ७५ लम्बाई र चौडाई हो । यो मैदानलाई थप बढाउन सकिने प्रशस्तै सम्भावना रहेको छ ।

तर यो खेल मैदान भने जानकारीमा आए अनुसार अहिलेसम्म बनेकाहरुमध्ये खोटाङ जिल्लाकै उत्कृष्ट प्राविधिक र वैज्ञानिक विधि र नीतिलाई अङ्गालेर निर्माण गरिएको खेल मैदान हो । अहिले यो खेल मैदानको लम्बाई १२५ मिटर र चौडाई ८५ मिटर, जबकि फिफाको अन्तर्राष्ट्रिय मापदण्ड नै न्युनतम १०० गुणा ६४ र अधिकतम ११० गुणा ७५ लम्बाई र चौडाई हो । यो मैदानलाई थप बढाउन सकिने प्रशस्तै सम्भावना रहेको छ । निकट भविष्यमा यसलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको एथलेटिक्स Track and Field सहितकाे  All In One खेल मैदानको रुपमा पनि निर्माण गर्न सकिने छ ।

साथै यही मैदानको आसपास अन्य खेलहरुको लागि अत्याधुनिक कवर्डहल निर्माण गर्न सके सम्पूर्ण भित्रि खेलहरु एकै ठाउँमा आयोजना गर्न सकिन्छ । यसले दि रु म न पा र खोटाङ्गलाई नै खेल पर्यटनमा दिगो रुपमा टेवा पुर्‍याउन सक्छ । आउने दिनहरुमा राजाबास खेल मैदान (प्रस्तावित यलम्बरहाङ खेल मैदान) निर्माणमा लगानी गरिएको प्रत्येक पसिनाको थोपाहरुले न्याय पाउने निश्चित छ । दूरदर्शी युवा तथा खेलकुदप्रेमी आदरणीय व्यक्तित्व प्रभुराम राईको सपना साकार हुँदैछ । बुईपा ११ स्पोर्ट्स क्लबसँग आवद्ध युवाहरुको हत्केलामा उठेको ठेलाहरुले विस्तारै शितलताको अनुभूति गर्नेछन् । सबैखाले लगानीकर्ताहरुको लगानीले भोलिका दिनमा खेल प्रगतिमार्फत विस्तारै खेलाडीहरुको कडा मेहनतसँगै फुल्ने र फल्नेमा कुनै शंकै रहेन अब । एक कोणबाट फुलेर चिचिला लाग्न सुरु गरिसकेको छ ।

तिनै ६–७ युवाहरुले उबेलादेखि, हालसम्म बुईपा र खोटाङ्गको विभिन्न सामाजिक, साँस्कृतिक र राजनैतिक क्षेत्रमा नेतृत्व गर्दैछन् । उबेला यी युवाहरुले खुबै संघर्ष गरे । सिकाईको पाइलाहरु यी सबै युवाहरुलाई यहि खेल मैदानले सिकाएको हो । सुरुमा सबैले मैदान र समाजलाई महत्वपूर्ण यौवन, श्रम र सीप दिए । अहिले समाजले उनीहरुलाई विश्वास दिएको छ, प्रेम र सम्मान दिएको छ । यहि विश्वासको डोरीको सहायताले सबै युवाहरु आ–आफ्नो क्षेत्रमा जम्दैछन्, जमाउँदै छन् । मनग्गे बुईपा र खोटाङ्गलाई योगदान गरिरहेको र गर्न सक्ने देखिन्छ ।

फेरि पनि यो मैदान निर्माण कार्य सजिलै सकिनेवाला भने छैन । धेरै कामहरु बाँकी नै छन् । आगामी दिनहरुमा थप बजेटहरुको व्यवस्था गरी प्रवेशद्वार निर्माण गर्नुपर्छ । बेलायती दुवो छरिएको छ, भर्खर उम्रिदैछ, यसलाई हुर्काउनु छ । मैदानको जग्गा र एरिया कम्पाउण्डिङ्ग र घेराबाराको काम गर्नुछ, नयाँ माटोमा भू–क्षय रोक्ने जातको वनस्पति, अम्लिसो वा अन्य उन्नत जातको विरुवाहरु रोप्नु पर्छ जसले मैदानको आयु र दर्शकलाई लोभ्याउन सक्छ । पिउने पानीको व्यवस्थापन गर्नुपर्छ । भोलिको भविष्यलाई मध्यनजर गरी खेल मैदान आसपास नयाँ एकीकृत वस्ती विस्तारसँगै बजार व्यवस्थापन गरिनु अबको अपरिहार्य आवश्यकता रहेको छ ।

धेरै पुर्खाहरुले बेलायती सेनामा यौवन बिताए । अवकाशपश्चात मुलुक फर्किए । कुनै न कुनै क्षेत्रहरुमा नयाँ नयाँ कामहरु हामीलाई सिकाए, महत्वपूर्ण योगदानहरु गरे, अझ गर्दैछन् । उनीहरुप्रति उच्च सम्मान छ । प्रभुराम राईले समाजको विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदानहरु पुर्‍याउनुसँगै नयाँ युवापुस्ताहरुका लागि अति महत्वपूर्ण भौतिक संरचना उपहार दिएकोमा आदरसहित उच्च सम्मान छ ।

धेरै पुर्खाहरुले बेलायती सेनामा यौवन बिताए । अवकाशपश्चात मुलुक फर्किए । कुनै न कुनै क्षेत्रहरुमा नयाँ नयाँ कामहरु हामीलाई सिकाए, महत्वपूर्ण योगदानहरु गरे, अझ गर्दैछन् । उनीहरुप्रति उच्च सम्मान छ । प्रभुराम राईले समाजको विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदानहरु पुर्‍याउनुसँगै नयाँ युवापुस्ताहरुका लागि अति महत्वपूर्ण भौतिक संरचना उपहार दिएकोमा आदरसहित उच्च सम्मान छ । प्रत्येक जिल्लाहरुमा एक–एक जना प्रभुराम राईहरु मात्रै जन्मिए पनि ७७ वटै जिल्लामा एक–एक वटा नयाँ खेल मैदान बन्ने थियो ।


यस अर्थमा पनि बुईपाली र खोटाङ्गे जनताहरु भाग्यमानी हौ । पाको उमेरमा पनि समाजलाई उर्जाशील युवाको स्तरमा पुर्‍याएको यो ऐतिहासिक र महत्वपूर्ण कार्यका लागि विशेषत बुईपाली र खोटाङ्गे जनताहरुले वनलाई भुल्नु हुँदै हुन्न । यो मैदान यो अवस्थासम्म आई पुग्नुमा सबैको महत्वपूर्ण योगदान छ । सबैको नाम उल्लेख गर्न नसकिए पनि यहाँ भूल्नै नहुने एक नाम हो स्व. समाजसेवी हिराधन राई । बुईपा छिप्ती निवासी उनी सधै भन्थे, ‘बुईपाली युवाहरुले बुईपा इलेभेन स्पोर्ट्स क्लब स्थापना गरी खेलकुदको चिराग बालेको ठाउँ अब जाज्वल्यमान हुँदै गएको छ ।’ यसरी वनीहरुले सुरुवात गरेको खेलकुदको विकासे ग्रावेलमा नयाँ पुस्ताले पिच निर्माण गर्नु निकै चुनौतिपूर्ण छ र उत्तिकै जरुरी पनि छ ।

अन्त्यमा यहि गतिमा यो खेल मैदान निर्माणको कामहरुले निरन्तरता पाए बिस्तारै सबैसबै समस्याहरु समाधान हुनेमा विश्वस्त छु । सबैका अति प्रिय अनि कर्मले सबै युवाहरुको मन जित्दै अगाडि बढेका दिनेश राई वडाध्यक्ष रहेको वडाभित्र निर्माणाधीन खेल मैदान स्तरीय र गुणस्तरीय बन्नेमा ढुक्क छु । एक खेलकुदकर्मी युवा र सचेत नागरिक हुनुको नाताले ढिलै भए पनि समाजमा हुँदै गरेको चौतर्फी विकास देखेर मख्ख पनि छु ।

यो सपना आदरणीय प्रभुराम राई (पासुङ्गरपुर्खा) र बुईपालीहरुको मात्रै रहेन । यो सपना अब सबै खोटाङ्गेहरुको साझा सपना बन्नु पर्छ । सबैले आ–आफ्नो पदीय हैसियत अनुसार सक्नेसम्म दिलदेखिको सहयोग गर्नुपर्छ ।

अब यो सपना आदरणीय प्रभुराम राई (पासुङ्गरपुर्खा) र बुईपालीहरुको मात्रै रहेन । यो सपना अब सबै खोटाङ्गेहरुको साझा सपना बन्नु पर्छ । सबैले आ–आफ्नो पदीय हैसियत अनुसार सक्नेसम्म दिलदेखिको सहयोग गर्नुपर्छ । समाजका जिम्मेवार नागरिकहरु, सम्पूर्ण खेलकुदकर्मीहरु, समाजसेवीहरु, राजनीतिकर्मीहरु सबै सबैले सहयोग र संकल्प गरौ, प्रदेश नम्बर १ कै पहाडी जिल्लाहरुमध्येकै नमुना र उत्कृष्ट खेल मैदान निर्माणका लागि सबै लागि परौं । म विनम्र अनुरोध गर्दछु ।

आगामी दिनहरुमा थप प्रगतिहरु हुँदै जाओस् खोटाङ्गे जनताहरुको कामना छ । खोटाङ्गे युवाहरुले छिट्टै आधुनिक र स्तरीय खेल मैदानमा फुटबल खेल्न पाउन् । साथै प्रदेश १ कै चर्चित फुटबल प्रतियोगिताहरु बुढा सुब्बा गोल्डकप धरान, उदयपुर गोल्डकप गाईघाट, बिराट गोल्डकप मोरङ्ग, माई भ्याली गोल्डकप इलाम, झापा गोल्डकप झापा, मदन भण्डारी गोल्डकप ईटहरी, मनमोहन गोल्डकप दुहबी, फाल्गुनन्द गोल्डकप पाँचथर, नारदमणि थुलुङ्ग गोल्डकप बसाहा उदयपुर जस्तै यो मैदानले पनि ऐतिहासिक र सफल यलम्बरहाङ्ग गोल्डकप खोटाङ्ग आयोजना गर्न सकोस् । मुलुककै व्यावसायिक ए, बी, सी डिभिजन लिग खेल सक्ने खेलाडीहरु उत्पादन हुन् शुभकामना । खोटाङ्गे खेलप्रेमीले छिट्टै नै यहि खेल मैदानमा प्रतिष्ठित १ नम्बर मुख्यमन्त्री कप प्रदेश लिग हेर्न पाउन् । खेल आयोजनाका लागि सबैले पहल गरौं ।

(लेखक : सामाजिक अभियन्ता तथा नेपाल सितोरियो कराते संघ खोटाङ्गका अध्यक्ष हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७