निजी विद्यालयका अनलाइन कक्षा भोलिदेखि बन्द, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा


३१ असार २०७७, बुधबार
Will Online Learning Replace the Classroom blog

काठमाडौं, ३१ असार । निजी स्कुल सञ्चालकहरुले बिहीबार (साउन १ गते) देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भिर नबनेको भन्दै उनीहरुले अनलाइन कक्ष बन्दको घोषणा गरेका हुन् ।

निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठकले अनलाइन कक्षा बन्द गर्ने, सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय पनि गरेको हो । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने जानकारी गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले विद्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो , साउन १ गतेदेखि सवै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापहरु स्थगित गरी आफ्ना शिक्षक र कर्मचारीलाई बेतलवी घर बिदा दिने अप्रिय निर्णय लिन बाध्य छौं।’

कोभिड–१९ का कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग पनि उनीहरुको थियो।

विद्यालयहरुको अवस्था अवगत गराउन १४ असारमा मन्त्री समक्ष संयुक्त रुपमा ज्ञापनपत्र बुझाएर मागहरु सम्बोधन गर्न पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएका कारण सम्पूर्ण शिक्षण कार्यक्रम स्थगित गर्न बाध्य भएको जनाएको छ।

आम्दानी नहुँदा संस्थागत विद्यालयहरुमा कार्यरत करीब २ लाख ५० हजार शिक्षक कर्मचारीलाई वैशाख महीनादेखि तलब उपलब्ध गराउन नसकेका कारण बेतलबी घर बिदा दिन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

शिक्षक तथा कर्मचारीहरु भोकभोकै रहनुपर्ने अवस्था, विद्यालयको स्थायी प्रकृतिका खर्चहरु घरभाडा, ब्यांकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरी विद्यालयको आर्थिक अवस्था जर्जर रहेको र समस्याको समाधानार्थ नेपाल सरकारका सम्बन्धित निकायहरु समक्ष पटकपटक माग राखी निरन्तर छलफल, वार्ता संवाद गर्दा पनि कतैबाट कुनै किसिमको सहयोग प्राप्त गर्न नसकेको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७