कार्यकर्ता नै भन्छन्–‘कांग्रेसले सम्झिएन शहीद’, अलपत्र बन्यो शहीद पार्क


१६ माघ २०७४, मंगलवार
Sahid Park

इलाम, १६ माघ : दलका नेताले बारम्बार नाम लिंदै सत्तारोहण गर्ने माध्यम बनाएका ‘शहीद’ को अवमूल्यन कसरी हुँदैछ भन्ने उदाहरण इलाममा देखिएको छ । Sahid Park

शिलान्यास भएको २२ बर्ष बित्दा समेत एउटा शहीद पार्क अधुरै छ । विकासे कामका लागि विभिन्न शीर्षकमा बर्षेनि करोडौं बजेट छुट्टिए पनि पार्क निर्माणले पूर्णता पाएको छैन । चुनावताका ‘शहीदको सपना साकार पार्ने’ नारा उराल्ने दलका नेता अरु काममा बजेट बाँडचुँड गर्न आतुर हुने गरे पनि शहीद पार्कप्रति उदासीन जस्तै देखिन्छन् । तत्कालीन सुरक्षा फौजबाट मारिने माइपोखरीका डाकमान राई, वीरबहादुर राई, गजबहादुर राई, कर्णबहादुर राई, सुलुबुङका उदयबहादुर साउदेनलगायत शहीदको सम्मान र स्मृतिमा बनाउने भनिएको पार्क अधुरै रहेको हो । माइपोखरी र सुलुबुङ गाविस भई सशस्त्र संघर्षमा मारिएका सात जनाको स्मृतिमा इलाम कांग्रेसको अगुवाईमा बनाउने भनिएको पार्क बजेट अभावले अधुरै रहेको हो ।

पार्कप्रति अहिले कांग्रेसकै चासो हराएको देखिन्छ । अरु दलले समेत यसमा चासो दिएको पाइँदैन । प्रजातन्त्रका लागि मरिमेट्ने सात शहीदको सम्मान र स्मृतिमा देउराली नजिकै पार्क शिलान्यास हुँदा स्थानीय प्रेमनाछिरिङ राईमा जुन खुशी छाएको थियो, अहिले त्यो हराएको छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि नेपाली कांग्रेस नेतृत्वमा प्रजातन्त्रका निम्ति शुरु भएको सशस्त्र संघर्षमा प्राण आहुति दिएकाको स्मृतिमा बन्ने भनिएको पार्क शिलान्यासको दुई दशक बित्दा समेत अधुरै रहेपछि राई नरमाइलो मान्दै छन् ।

‘प्रजातन्त्रका लागि ज्यान दिने शहीदको सम्मान स्वरुप पार्क बनाउने कुराले सयौं गाउँले खुशी थिए’–देउरालीमा होटल गर्ने राईले सुनाए–‘तर, शिलान्यास भएको २२ बर्ष पुग्नै लाग्दा समेत काम नसकिएपछि सबै अचम्मित छन् ।’ शिलान्यासताका जिविस सभापति रहेका कांग्रेस नेता हरि खनालका अनुसार, सरकारी तथा निजी गरी तीन रोपनी जग्गामा निर्माण थालिएको पार्क वरिपरी फूलबारी, बगैंचा, चौतारी र बीचमा शहीद स्तम्भ राख्ने योजना थियो ।

‘शिलान्यास गर्नेक्रममा एउटा योजना थियो, अहिले अर्कै किसिमले पार्कको काम हुँदै रहेछ’–खनालले भने–‘आवश्यक बजेट कहिल्यै नपाइने भएकाले पार्क निर्माण पूरा नभएको हो ।’ पार्क बनेको खण्डमा शहीद परिवारका अतिरिक्त माइपोखरी र सुलुबुङ गाविसमा बसोबास गर्ने आफन्तको दुःखेको मनमा राहत पुग्ने खनालको अपेक्षा छ । यसले घुम्न आउनेलाई माइपोखरीको राजनीतिक महत्व बुझ्न सघाउने छ ।

कांग्रेसको अगुवाईमा थालिएको योजना कांग्रेसकै सरकार लामो समय रहे पनि अधुरै रहनुमा सोही पार्टीको कमजोरी रहेको राई बताउँछन् । ‘कि थाल्दै थाल्नु हुँदैनथ्यो, थालेपछि बनाई सक्नुपथ्र्यो, यो शहीदप्रति सोझै अपमान हो’–उनी पार्कस्थल देखाउँदै भन्छन्–‘जिल्लामै कत्रा–कत्रा योजना पूरा भएका छन्, सबैले चाहेको भए शहीद पार्कलाई बजेट अभाव नहुनु पर्ने हो ।’ कांग्रेसले हतारमा योजना बनाएको र मूर्तरुप दिन नसकेको उनको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७