सांसदहरू भन्छन्, ‘चेपाङ बस्तीमा पञ्चायतकालको झल्को दिने ज्यादती’

वनमन्त्री शक्ति बस्नेत अझै पनि घटनाको बचाऊमा, राजकुमारको शव त्रिवि शिक्षण अस्पतालमै


१५ श्रावण २०७७, बिहीबार
chitwan really2020 07 30 05 25 14

चितवन, १५ साउन । मुलुकमा गणतन्त्र आइसक्दासमेत पञ्चायतकालको झल्को दिने गरी हात्ती लगाएर चेपाङ बस्ती भत्काइएको भन्दै संसदीय समितिमा सरकारको आलोचना भएको छ । बुधबार संसद्को कृषि समिति बैठकमा सदस्यहरूले निन्दा गर्दै घटनालाई क्रुर र अमानवीय भएको बताएका छन् ।

चेपाङहरूको घरमा आगो लगाइएको घटनाले निरंकुश पञ्चायती व्यवस्थाको झल्को दिएको समिति सदस्य भूमि त्रिपाठीले बताए । उनले भने, ‘निरंकुश पञ्चायतको याद आयो । त्यतिवेला झुपडीमा आगो लगाइदिएको पढ्थ्यौं, सुन्थ्यौं । हात्तीले घर भत्काइएको पनि सुनिन्थ्यो ।

अहिले झन्डै दुई तिहाइ कम्युनिस्टको सरकार हुँदा र मध्यवर्षामा त्यस्तै घटना भयो । प्रधानमन्त्री, सम्बन्धित मन्त्री र सबैको निधारमा कलंकको टीका लागेको छ । घर भनेको एटेच बाथरुम, पार्किङ भएको ठूलो बिल्डिङ पो हो त भन्ने पनि लाग्न सक्ला । तर, झुपडी नै चेपाङको घर हो ।’

समिति सदस्य घनश्याम खड्काले गाँस, वासको बन्दोबस्त नभई अर्काको घरमा आगो लगाउनु निन्दनीय भएको बताए । पञ्चायतकालको घटना सम्झँदै उनले भने, ‘मोरङको झोरा काण्ड धेरैलाई थाहा छ । त्यतिवेला झुपडीहरूमा आगो लगाएर नागरिकको उठिवास पारिएको थियो । अहिले त्यस्तै भयो । आगो नै लगाउनुपर्ने बाध्यता किन आइलाग्यो ? यसबाट आतंक सिर्जना भयो ।’

समिति सदस्य शान्ता चौधरीले घटना खेदजन्य रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘मेरो घर पनि कुनै वेला सामुदायिक वनभित्रै थियो । मेरो घरमा पनि आगो लगाइएको थियो । त्यतिवेला वनका कर्मचारीहरूले घर जलाइदिँदा म आफै जलेझैं भएको थियो । अहिले चितवनमा घर जलाउँदा मैले मेरै विगत सम्झिएकी थिएँ ।’

समिति सदस्य राधा ज्ञवालीले घटना नेपाली इतिहासमा सरकारका लागि कलंक भएको बताइन् । राजबहादुर बुढा क्षत्रीले सहर, गाउँमा लोकतन्त्र आए पनि जंगलमा अझै पनि लोकतन्त्र नपुगेको भन्दै आपत्ति जनाए । ओनसरी घर्तीले घर भत्काइनु सबै हिसाबले गलत भएको टिप्पणी गरेकी थिइन् । शान्तिमाया तामाङ पाख्रिनले उक्त घटनालाई क्रुर र अमानवीय रूपमा व्याख्या गरिन् ।

समितिमा वनमन्त्री शक्ति बस्नेतले मन्त्रालयको फेरि पनि घटनाको बचाउ गर्ने कोशिस गरे । उनले अध्ययन गर्न पठाइएको टोली घटनास्थल अध्ययन गरेर काठमाडौं फर्किसकेको र प्रतिवेदनमाथि काम भइरहेको बताए ।

उनले भने, ‘त्यहाँ आठ परिवारको बसोवास छ । अर्काे ठाउँमा स्थानान्तरण भइसकेका मानिसहरू फेरि त्यो ठाउँमा गएर दोहोरो बसोवास गर्न खोजिएको भन्ने पनि हामीलाई सुरुमा रिपोर्टिङ भएको थियो । तर, अर्काे ठाउँमा नबसिएको रहेछ ।’

आफू देशको विभिन्न गाउँहरू घुमेकाले घर कस्तो हुन्छ भन्नेबारेमा जानकारी भएको उनले बताए । ‘धादिङको रुवी भ्यालीदेखि सुदूरपश्चिमसम्म पैदल हिंडेको छु । अक्सर म धेरै गाउँहरू पैदलमै पुगेको छु । ठाडो, तेर्साे बाटो म हिंडेको छु । त्यसकारण घरको परिभाषा, गोठको परिभाषा के हो भन्नेबारेमा अस्पष्ट छुइनँ । घरको परिभाषा सापेक्षिक नै हो । जुन ठाउँमा स्थायी चुलो बालिएको हुन्छ, पहिलो सर्त त्यही हो ।’

उनले भने, ‘आकार कत्रो छ भन्ने कुराले प्रभाव पार्ने होइन । घर के हो, गोठ के हो भन्नेबारेमा मेरो कुनै अस्पष्टता छैन । घर र गोठको विषयमा अहिले नजाऊँ, मैले त अहिलेसम्म प्रारम्भिक रिपोर्टको आधारमा मात्रै बोलिरहेको छु । कानुन समितिमा पनि मैले प्रारम्भिक रिपोर्टको आधारमा विवरण पेस गरेको थिएँ ।’

घर, गोठ जे भए पनि जुन विधि र समयमा प्रयोग भएको छ त्यो दुःखद र अनुपयुक्त भएको मन्त्री बस्नेतले बताए । उनले भने, ‘निकुञ्जका वार्डेन र सहायक वार्डेनलाई पनि मन्त्रालय बोलाइएको छ । त्यस्तै, घटनाका बारेमा प्रतिवेदन एक–दुई दिनभित्रै तयार हुने र बाँकी स्टेप चाल्छौं । गल्तीको ढाकछोप हुँदैन । प्रतिवेदन तयार हुँदै छ अध्ययन गर्छौ र त्यसको आधारमा हामी ‘स्टेप’ लिन्छौं ।’

राजकुमारको शव त्रिवि शिक्षण अस्पतालमै
चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ सैनिकको कुटपिटका कारण मृत्यु भएका राप्ती नगरपालिका २ का राजकुमार चेपाङको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमै छ । १ साउनमा सेनाले कुटपिट गरेका उनको ७ साउनमा मृत्यु भएको थियो ।

मृत्यु भएको पाँचौं दिनमा विभिन्न सहमतिपछि मात्र उनको परिवार शव पोस्टमार्टमका लागि तयार भएको थियो । विश्वसनीय पोस्टमार्टमका लागि राजकुमारको शव ११ साउन राति त्रिवि शिक्षण अस्पताल लगिएको थियो । १२ साउन दिउँसो पोस्टमार्टम भयो । तर, परिवारले शव बुझ्न मानेनन् ।

‘दाहसंस्कार भएपछि मुद्दा फितलो बनाउने र दोषी सार्वजनिक नहुने शंकाले शव नबुझेका हौँ,’ घाइतेमध्येका पूर्ण चेपाङले भने । प्रशासनमा गरिएको सहमति कार्यान्वयनपछि मात्रै शव बुझ्ने उनले बताए ।

घाइते र प्रत्यक्षदर्शीसँग बयान
नेपाली सेनाले कुटपिटबाट घाइते भएकाहरूसँग बुधबार बयान लिएको छ । भण्डारा डढुवास्थित प्रहरीचौकीमा घाइतेलाई बोलाएर सेनाले बयान लिएको घाइतेमध्येका एक पूर्ण चेपाङले बताए । यस घटनाका घाइते भएका चार पुरुष र घटनाका वेला सँगै रहेका दुई महिलासँग बयान लिएको हो ।

राप्ती नगरपालिका–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेतीले पनि बयान लिइएको पुष्टि गरे । घटनाको १४ दिनपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ सैनिकले नियन्त्रणमा लिई पिटेका भनिएका युवाको घाउजाँच भएको छ । १ साउनको घटना ७ साउनमा मात्र सार्वजनिक भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७