कमलादी सुन प्रकरणमा मुछिएका प्रहरीको कोठामा भेटियो एक किलो ‘सुन’

चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ, शंकाको सुई कठायततिर


१६ श्रावण २०७७, शुक्रबार
185A5925

काठमाडौं, १६ साउन । काडमाडौंको कमलादीमा साढे १४ किलो चाँदी र एक किलो सुन बरामद प्रकरण नयाँ मोडमा आइपुगेको छ ।

आशंकै–आशंकामा अनुसन्धान अघि बढिरहेको कमलादी सुन प्रकरणको अर्को नयाँ रहस्य खुलासा भएको छ । काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेंलो धातु प्रहरीले बरामद गरेको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानकै क्रममा थप एक किलो धातु बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा मार्दा सुन जस्तो देखिने एक किलो धातु बरामद भएको उच्च स्रोतले जानकारी दिएको छ । तर बरामद धातु सुन हो–होइन भन्ने परीक्षण हुन बाँकी छ ।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेंलो धातु बरामद गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।

प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा भएका छन् ।

दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समितिले जनाएको छ । प्रकरणमा यसअघि देवान पटेल, विजय पटेल र निलेश पटेल पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् ।
चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ
साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक पक्राउ परेका छन् ।

चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्ने व्यक्ति रहेको प्रहरी स्रोतको भनाइ छ ।

उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको हो उनीबाट चाँदीमा सुनको जलप लगाउन निर्देशन दिने व्यक्तिबारे पहिचान खुलेको दाव गरिए पनि विस्तृत विवरण प्रहरीले खुलाइसकेको छैन ।

शंकाको सुई कठायततिर
प्रहरी जवान बहादुरसिंह कठायत महेन्द्र शालिकमा स्ट्याडबाई राखिने प्रहरीको सीआरभी (कम्प्याक रिक्रेशनल भेहिकल) का चालक हुन् । घटनाबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकृतकाअनुसार कठायत ‘सुन अप्रेसन’ छन् भन्नेबारे डीएसपी दाहाल नै अनभिज्ञता प्रकट गरेका छन् ।

कतै दाहाललाई नै गुमराहमा राखेर प्रशन्न र कठायतले तस्करी समूहसँग मिलेर काम गरेका त थिएनन् भन्ने प्रश्न उठेको छ । त्यसबारे महानगरीय प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक सुशिलकुमार यादव नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

प्रशन्न श्रेष्ठको सुराक र उनले भनेअनुसार नै डीएसपीले अप्रेसनको कमाण्ड गरेको छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ । डीएसपी दाहाल र काठमाडौंका एसएसपी ज्ञवालीले चेक प्वाइन्ट नै राखेर सुन बरामद गरेको दावी गरेका थिए । सिसिटिभी फुटेज विष्लेषण र प्रारम्भिक अनुसन्धानबाट सो अप्रेसनमा प्रहरीले कतै पनि चेक प्वाइन्ट राखेको देखिँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७