दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश-५ सरकारको निर्णय

दाङको भालुवाङलाई राजधानी बनाउन ओली-प्रचण्ड सहमत


१६ आश्विन २०७७, शुक्रबार
Bhalubang 10 02 1

बुटवल, १६ असोज । प्रदेश-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भए लगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाइएको हो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति भएपछि प्रदेश सरकारले निर्णय गरेको हो ।

यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश-५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश-५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश-५ का पार्टी इञ्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

पूर्व माओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निणर्य नै गरिसकेको थियो । माओवादीको प्रदेश कार्यालय समेत दाङमै खोलिएको थियो ।

तर, पूर्व एमाले खेमाभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो । शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए । तर, अध्यक्षद्वयबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको मुद्दा टुंगो लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७