भरोसा कसको ? छोराबाटै आमा बलात्कृत


२१ आश्विन २०७७, बुधबार
Rape for nayapage

कञ्चनपुर, २१ असोज । गत भदौमा कञ्चनपुरको कृष्णपुरमा ३० वर्षीय छोराले आफ्नै ५८ वर्षिया आमालाई बलात्कार गरेको खबर आयो ।

यसअघि ०७५ मा भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेञ्जिङ शेर्पाले ६२ वर्षीया आमालाई करणी, असारमा सुदूरपश्चिमको पञ्चेश्वर गाउँपालिका-४ की १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबा पक्राउ परे ।

त्यसअघि इलाम नगरपालिका-९ गोलखार्कका ३० वर्षीय सूर्यमान बस्नेतले १२ वर्षीया छोरीलाई बलात्कार गरेको खबर फेरि केही दिनअघि चर्चामा आयो ।

घर बाहिर बलात्कार गरेका खबर कति आउँछन् कति ! बालिका निर्मला पन्तलगायत सयौं छोरीचेली बलात्कारको सिकार भइरहेकै छन् । तर, छोराले आमा, बुबाले छोरी, हजुरबाले नातिनी, भाइले बहिनीलाई बलात्कार गरेका जस्ता खबरले साँच्चै मान्छेलाई नरपिचास नै बनाइसकेको आभाष हुन्छ । कोही कसैबाट सुरक्षित नरहने भएपछि अब हरेक पुरुष बलात्कारीजस्तो लाग्ने अवस्था आएको छ ।

हुन त बुबाबाट छोरी, छोराबाट आमा, दाजुभाइबाट दिदी-बहिनी नै सुरक्षित नहुने समाजमा प्रेमको पवित्रताबारे झन् के कुरा गर्नु ! प्रेमको नाटक गर्दै आफू र आफ्ना साथीहरूलाई समेत बोलाएर सामुहिक बलात्कार गरेका खबर बारम्बार सुनिएकै छन् ।

भदौ १ गते नुवाकोटको तादी गाउँपालिका- ३ खरानिटार स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका- २ बस्ने अर्पण भनिने राजु तामाङलाई प्रहरीले पक्राउ गर्‍यो । उनीमाथि एक किशोरीलाई प्रेम गरी पटक-पटक आफूले यौनसम्पर्क राखेर भारतमा बेचेको आरोप थियो ।

कञ्चनपुरको बेलडाँडीमा एक १४ वर्षीया बालिकालाई प्रेम गरी बिहे गर्न बोलाएर भदौ १४ गतेदेखि १९ गतेसम्म ६ दिन लागुऔषधको नशामा बन्धक बनाई सामुहिक बलात्कार गरेको घटना आयो ।
यसैगरी, साउनमा प्रेम र विवाहको नाटक रचेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ राज सेन्चुरीलाई पक्राउ गर्‍यो ।

काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नाम, थर ढाँटी नक्कली प्रेम विवाह गरे । थानकोट चेकपोष्टस्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गर्‍यो । बाँकी प्रेममा धोकापछि मर्ने र मार्ने त कति छन् कति !

उल्लिखित घटना प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । सरकार, प्रहरी, प्रशासन, कानुन सबै छन् । साक्षरताको हिसाबले हामी पूणर् साक्षर देश घोषणातर्फ अघि बढिरहेका छौं । तथापि बलात्कारजन्य गम्भीर अपराधका घटना एकपछि अर्को गरी भइरहेकै छन् । नारीहरू न घरमा सुरक्षित छन् न मन्दिरमा । न आफन्तबाट सुरक्षित छन् न परिबारबाट ।

व्यक्ति व्यक्तिको आत्मरक्षा र सुरक्षा सावधानीका कुरा त होलान् नै ! तर, कुनै पनि बहानामा गरिने बलात्कार मानवताविरुद्धको अपराध नै हो । नियोजित रूपमा स्वार्थपूर्ति नहुने देखेपछि बलात्कारको झुटा आरोप लगाउने गरेका एकाध घटना पनि आउँछन् । तर, समग्रमा घटनाको गाम्भीर्यता, निश्चित उमेर समूह, नाता सम्बन्धमा हुने यस्ता घटना पहिचान गरी तत्काल निर्मम दण्डको व्यवस्था गर्न आवश्यक भइसकेको छ ।

सरकारले यस्ता घटनामा एसिड काण्डमा गरिने दण्ड जस्तै कडा कदम चाल्न जरुरी छ । बाँकी घटनामा पनि हदैसम्मको कारवाही गर्न कानुन तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन नहुँदासम्म हाम्रो समाज, परिवार र घर नै बलात्कारी जन्माउने अखडा भइरहनेछ ।

कडा दण्डको व्यवस्था र सदाचारका लागि सार्थक अभियान शुरु नगरेसम्म आज उसको, भोलि तपाईको र पर्सि मेरो छोरीचेली बलात्कारको सिकार हुने अवस्था आउन सक्छ । त्यसैले सबै सतर्क बनौं, सबै जिम्मेबार बनौं । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७