सङ्क्रमित यौनकर्मीकाे कन्ट्याक्ट ट्रेसिङमा कठिनाइ


२० कार्तिक २०७७, बिहीबार
hongkong Nepali

हङकङ । गैरकानूनी गतिविधीविरूद्ध गरिएको अपरेशनमा पक्राउ परेकी यौनकर्मी कोभिड‑१९ सङ्क्रमित भएको पत्ता लागेपछि प्रहरीलाई कन्ट्याक्ट ट्रेसिङ गर्न कठिनाइ सिर्जना भएको छ । ती यौनकर्मीले दिनमा थुप्रै ग्राहकलाई सेवा दिने गरेको खुलेको छ ।

सङ्क्रमणको श्रोत पत्ता लगाउन प्रहरीले सेन्टर फर हेल्थ प्रोटेक्सनलाई सहयोग गरिरहेको छ । मूलभूमीकी चिनियाँ महिलाको उमेर ४२ वर्ष बताइएको छ ।

‘उनलाई कुनै ग्राहकबाट कोरोनाभाइरस सरेको हुनसक्छ । सङ्क्रमित भएपछि अन्य ग्राहकलाई उनले सारेको पनि हुनसक्छ,’ प्रहरी श्रोतले बतायो । ‘सङ्क्रमण पुष्टि हुने व्यक्तिले ती यौनकर्मीकहाँ जाने गरेको अस्वीकार गर्नसक्ने भएकाले’ ती महिलालाई भएको सङ्क्रमणको श्रोत पत्ता लगाउन कठिन हुने पनि उनी बताउँछन् ।

ती महिला कोरोनाभाइरस सङ्क्रमित भएको शनिबार पत्ता लागेको हो ।उनलाई मोङ कोकस्थित ओरिएन्टल ल्यान्डर होटेलबाट गएको बुधबार पक्राउ गरिएको हो । होटेलबाहेक अन्यत्र पनि यौन सेवा उपलब्ध गराएको प्रहरीको विश्वास छ । प्रहरीले ती स्थान पत्ता लगाउने प्रयास गरिरहेको छ ।

ती महिलासँग देहव्यापार गिरोह वा कुनै दलाल पनि संलग्न छ कि भनेर अनुसन्धान भइरहेको श्रोतले बतायो ।प्रारम्भिक अनुसन्धान अनुसार ती महिला मध्य‑अगष्टतिर मूलभूमीबाट गैरकानूनी रूपले हङकङ प्रवेश गरेकी हुन् । त्यसपछि शा तीनस्थित फ्ल्याटबाट यौन व्यवसाय शुरू गरेको विश्वास गरिएको प्रहरी श्रोतले जनायो ।

“वेबसाइटमा सम्पर्क विवरणसहित ती महिलाको फोटो पोस्ट गर्न कसले सघायो हामी अनुसन्धान गरिरहेका छौं,” उनले भने ।

टेलिफोन वा मेसेजिङ एपमार्फत् सम्पर्क गर्ने ग्राहकलाई शा तीनस्थित फ्ल्याटमा आउन निर्देशन दिइने गरिएको श्रोतले बतायो । त्यसपछि ती महिला ओरिएन्टल ल्यान्डर होटेल सरेर यौन सेवा प्रदान गर्न थालिन् ।

“होटेलमा बस्दा एकै दिनमा थुप्रै ग्राहकसँग यौन सम्पर्क भएको हामीलाई जानकारी भयो,” श्रोतले भन्यो ।

होटेलबाट पक्राउ परेपछि उनलाई मोङ कोक प्रहरी कार्यालयमा दुई दिन राखियो । त्यसपछि कासल पिक बे इमिग्रेसन सेन्टर हुँदै मा ताउ कोक डिटेन्सन सेन्टर सारियो ।

मोङ कोकमा रहदाँ २३ जन प्रहरी अधिकारीको सम्पर्कमा आएकी प्रहरीले जनाएको छ । तीमध्ये चार जना क्वारेन्टिनमा छन्। प्रहरी कार्यालय पनि निस्सङ्क्रमण गरिएको छ ।

ती महिलासँगै एउटै थुनामा राखिएका ६ जना बन्दी र ६ जना प्रहरी कर्मचारीलाई नजिकको सम्पर्क मानेर क्वारेन्टिन राखिएको अध्यागमन विभागले बताएको छ । सबै ६ बन्दीको परीक्षण नेगेटिभ आएको विभागले बतायो ।

–क्लिफोर्ड लो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७