मलेसियामा नेपाली अपहरण गर्ने डेबिड श्रेष्ठ पुर्पक्षका लागि थुनामा


१९ मंसिर २०७७, शुक्रबार

काठमाडौं, १९ मंसिर । अपहरण तथा शरीर बन्धकसम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

मलेसियामा बसी गुण्डागर्दी र अपहरण गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए । उनी मलेसियामा डान्सबार चलाउँथे । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको ब्युरोले जनाएको छ ।

डेबिडले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएको उजुरी परेको ब्युरो प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिएका छन् ।

उनका अनुसार रैदासकी श्रीमतीलाई फोन गरेर डेबिडले दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए । रकम जम्मा नगरे मारिदिने धम्की समेत दिएका थिए ।

पटक–पटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि अपहरणमुक्त गरेको अनुसन्धानबाट खुलेको थापा बताउँछन् । डेबिट नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौंको कान्ति बाल अस्पताल नजिकको सडकबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७