सिक्किममा भानुभक्तको शालिक तोड्फोड, नेपाली भाषा साहित्यमाथि आक्रमण


२३ माघ २०७७, शुक्रबार
145362295 1811288069026303 8508618042168472672 n

सिक्किम, २३ माघ । पश्चिम सिक्किम मकुमास्थित मुख्यमन्त्री प्रेमसिङ गोलेको जन्मस्थानसँगै रहेको आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक तोडफोड भएको छ । शालिकको टाउकोमा प्रहार गरी दुई टुक्रा पारिएको छ । स्थानीयले उक्त घटना माघ १८ (जनवरी ३१) का भएको जानकारी दिएका छन् । शालिक राखिएको स्थानबाट केही पर भेटिएको टाउकोलाई अहिले जोडेर राखिएको छ भने नाक भाँचिएको अवस्थामै रहेको छ ।

आदिकविलाई संसारभरिका नेपाली भाषा साहित्य अनुरागीहरुले पहिचान र अस्तित्वको मियोको रुपमा लिने गरिएको छ । सिक्किमै पनि आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसरमा सार्वजनिक बिदा गरेर उनको योगदानको सम्मान गरिन्छ ।

यस्तो दुःखद घटनालाई सिक्किमे बुद्धिजीविहरुले नेपाली भाषी र जातिमाथि भएको हमलाको रुपमा लिएर बिरोध गरिरहेका छन् भने सिक्किम सरकारले कुनै प्रतिक्रिया नदिनु झनै गम्भिर भएको उनीहरुले बताएका छन् ।

सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको कार्यकालमा निर्मित राष्टिय अन्तर्राष्टिय ख्यातीप्राप्त ब्यक्तित्वहरुको शालिक, पार्क, चारधाम, बुद्धपार्कलगायत कैयौ धरोहरहरु खतरामा पर्ने संकेतको रुपमा देखिएको महिला नेत्री तथा चर्चित अभिनेत्री रन्जु लामिछानेले बताइन् ।

शालिक तोड्न सफल भए पनि भानुभक्तको बिचार, सिर्जना सिक्किम र सिक्किमे नेपाली भाषीहरुको एकतालाई तोड्न सफल नहुने उनले बताएकी छिन् । ‘यो आक्रमण नेपाली भाषी भारतीयहरुमाथिको आक्रमण पनि हो । शालिकको घाँटी, नाक तोड्दा रगत निक्लेन होला तर, करोडौं नेपाली भाषीको रगत मन दुःखेको छ । करोडौं नेपाली भाषीहरुमाथिको यो हमलालाई सिक्किमले मात्रै बिरोध गरेर पुग्दैन संसारभरिका नेपालीभाषी, साहित्यिक संघ संगठन सबैले घोर बिरोध गर्दै अपराधीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ’, उनले भनिन् ।

भानुभक्तको शालिक भत्काएको नै पहिलो पटक भने होइन । आज भन्दा २१ बर्षअघि पश्चिम सिक्किम गेजिङ बजारमा शालिक तोड्फोड गरिएको थियो । सो घटनापछि तत्कालीन मुख्यमन्त्री पवन चाम्लिङ्ले विश्वकै ठूलो आदिकवि भानुभक्त आचार्यको पूर्णकदको ३० फिट फिट अग्लो शालिक निर्माण गरेका थिए ।

उक्त शालिक निर्माणसँगै नेपाली भाषा, साहित्य अध्ययन र उत्खनन केन्द्र पनि निर्माण गरिएको छ । केन्द्रमा भानुभक्तले प्रयोग गरेका दूधेरो पनि सुरक्षित राखिएको छ । उक्त दुधेरो शालिक अनावरण र अध्ययन केन्द्र उट्घाटनका क्रममा भानुभक्तका पनाती र उनका परिवारबाट प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७