अनुमाया र प्रिन्सलाई साइनो मेयर कपकाे उपाधि


१ चैत्र २०७७, आईतवार
MB2A0333

काठमाडौं, १ चैत , प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनु माया राईले जितेका छन् ।

पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दीपेश धामीबिच उपाधिका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे । उनले एपिएफका दीपेश धामी माथि २३–२१, २१–१८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला समेत लिएका छन् ।

विजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपबिजयी खेलाडीले नगद ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका पुलिस क्लबका विष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०–१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै क्वाटरफाईनलिष्ट सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोज बहादुर गुरुङले नगद ५–५ हजार प्राप्त गरे ।


आइतबार साङ्लास्थित साइनोको कभर्डहलमा भएको महिला एकल तर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१–१०, २१–१७ को सोझो सेटमा पराजित गर्दै राईले उपाधि हात पारेकी हुन् । राईले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै उपविजेता गिरीले नगद १५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । तेस्रो स्थानमा रहेका एपिएफकी शो

भा गौचन र धादिङकी तारा आले प्रत्येकले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।
साइनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले आयोजक साइनोका अभिषेक बोश र सुजन थापाको जोडी माथि २१–१७, १६–२१, २१–१७ को जित निकाल्दै उपाधि उचाले । विजयी जोडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपबिजयी जोडीले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । सुर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडी तेस्रो हुँदै नगद १०–१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।


पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडी विजयी भयो । उक्त जोडीले परफेक्ट फिटनेस क्लबका पूर्ण हरि होना र सञ्जय कपालीको जोडीलाई १२–२१, २२–२०, २१–१६ ले पराजित गरेका हुन् । विजयी खेलाडीहरूले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिमले नगद २५ हजार, मेडल र प्रमाण पत्र तथा तेस्रो हुने युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडी तथा ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीले नगद १०–१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्य दर्शनका दीपक राना र सञ्जय श्रेष्ठको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडीलाई १८–२१, २१–१४, २१–१२ ले पराजित गर्दै ट्रफी उचाले । यस्तै उपबिजयी खेलाडीहरूले मेडल, प्रमाण पत्र प्राप्त गरे ।
पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा यूथ क्लबका क्षितिज खनाल र अमन महर्जनको जोडी बाजी मार्न सफल भयो । उक्त जोडीले कीर्तिपुरका दिप्रिस मुनि बज्राचार्य र निखिल बट्टको जोडीलाई २१।१९, २१।१४ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । उपविजेताले मेडल र प्रमाण पत्र प्राप्त गरे ।
विजयी खेलाडीहरूलाई तारकेश्वर नगरपालिकाका मेयर , नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, महासचिव वीरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पाँच दिन सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरीयतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स, बी र सी लेबल गरी कुल ६ विधामा १९७ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको लागत १५ लाख रहेको ।थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७